© २०२३
बुटवल, २८ वैशाख ।
लुम्बिनीका नर्सहरुले नर्सिङ सम्भावना नै सम्भावना भएको पेशा रहेको बताउँदै विचलित नहुन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा बुटवलमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनीहरुले नर्स पेशा मात्रै नभएर मानवीय सेवा गर्ने ठूलो अवसर भएको बताए ।
नर्स विना स्वास्थ्य उपचार असम्भव भएको बताउँदै नर्सहरुले अब अस्पतालसंगै नर्सहरुको आवश्यकता सामुदायले समेत खोज्दा दायरा फराकिलो बनेको बताए । अहिले अस्पतालसंगै कलेज, सामुदायिक संस्थाहरुले समेत नर्स राख्न थालेको र रोजगारीको क्षेत्र बढ्दै गएको जनाए ।
लुम्बिनी प्रादेशिक अस्पतालले नर्सिङ पेशा अवसर, चुनौति र समाधान विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । जसमा सहभागी नर्सहरुले कामको ओभरलोडले प्रभावकारी सेवा दिन नपाएको, सुविधा कम हुँदा जीविकोपार्जनमा समस्या भएको बताए । विरामीको उपचारमा खट्ने प्रतिवद्धता जनाएका कतिपय नर्सहरु बेरोजगार बस्नु परेको र विदेश पलायन हुनु परेको उनीहरुले जनाए ।
वत्तृmत्वकलामा अस्पतालमा कार्यरत १० जना नर्सहरु सहभागी भएका थिए । उनीहरुमध्ये अस्मिता हमाल प्रथम भएकी छन् । शारदा कुंवर द्वितीय, कान्ति पाण्डे तृतीय र सरिता वश्यालले सान्त्वना स्थान हासिल गरेका छन् । अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. श्रीधर आचार्य, मेट्रोन ज्योति पौडेल, प्राध्यापक हिरण्यलाल ज्ञवाली र पत्रकार अमृता अनमोलको टिमले निर्णायकको भूमिका निभाएको थियो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. सुदर्शन बरालले पछिल्लो समयमा नर्सिङ पेशा मर्यादित र रोजगारीका हिसाबले सुरक्षित बन्दै गएको बताए । नर्सिड. सेवा भावमा समर्पित हुने पेशा रहेको बताउँदै सेवामा नडगमगाउन आग्रह गरे ।
कार्यक्रममा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. श्रीधर आचार्य, प्राध्यापक हिरण्यलाल ज्ञवाली र पत्रकार अमृता अनमोलले नर्सहरुको जिम्मेवारी र भूमिकाको प्रशंसा गरेका थिए । नर्स माधुरी ज्ञवालीले पनि आफ्ने धारणा रखेकी थिइन् ।