© २०२३
दाङ, १२ बैशाख ।
घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा घरयासी लेनदेन, जग्गा रोक्का, झैझगडाका मुद्दा धेरै रहेका छन् । चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ४५ वटा उजुरी घरयासी समस्यासँग सम्बन्धित परेका छन् ।
न्यायिक समितिमा ६९ दशमलव २९ प्रतिशत उजुरी उपर मिलापत्र भएको जनाएको छ । पालिकाको कानुनी मामिला शाखाले मंगलबार आयोजना गरेको न्यायिक समितिको तेश्रो त्रैमासिक सम्पादित कार्य प्रगति सार्वजनिक गर्दै उजुरीमाथि छलफल गरी मिलापत्र गराउने काम गरेको पनि जनाएको छ ।
न्यायिक समिति संयोजक एवम् उपप्रमुख हुमा डिसीले हालसम्म १ सय १४ वटा उजुरी परेकोमा ७९ वटा मिलापत्र भएको र ३५ वटा प्रकृयामा रहेको जानकारी गराइन् । जसमा आर्थिक वर्ष २०७८÷०७९ बाट जिम्मेवारी सरी आएका २१ वटा विवादमध्ये २० वटा मिलापत्र भएको छ भने १ वटा मात्रै प्रकृयामा रहेको छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ अनुसार ३० वटा उजुरी मध्ये २२ वटा मिलापत्र भएको र ८ वटा उजुरी प्रकृयामा रहेको छ जसअनुसार, आलीधुरको १ वटा विवाद परेकोमा मिलापत्र भएको छ ।
ज्याला मजदुरी नदिएको ४ उजुरी मध्ये ३ वटा मिलापत्र भएको र १ वटा प्रकृयामा रहेको छ । जेष्ठ नागरिक हेरचाह, पालनपोषण सम्बन्धी दुई वटा उजुरी परेको मध्ये एक वटा मिलापत्र भएको र एक वटा प्रकृयामा रहेको न्यायिक समिति संयोजक एवम उपप्रमुख डिसीले जानकारी दिइन् । यसैगरी, नाबालक छोराछोरी वा पतिपत्नीलाई ईज्जत आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिएको १६ उजुरी मध्ये १३ वटा मिलापत्र भएको छ भने एक वटा प्रकृयामा रहेको छ । वार्षिक २९ लाख रुपैयाँसम्मको विगो भएको घरवहाल सुविधा सम्बन्धी एक वटा उजुरी परेको र प्रकृयामा रहेको छ ।
त्यसैगरी कुलो नहर, पोखरी, अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको ४ वटा उजुरी परेकोमा २ वटा मिलापत्र भएको र २ वटा प्रकृयामा रहेको छ । न्यायिक समितिका अनुसार दफा ४७ को उपदफा २ अनुसार १८ वटा उजुरी परेकोमा ६३ वटा विवाद मध्ये ३७ वटा विवाद मिलापत्र भएको छ भने २६ वटा विवाद प्रकृयामा रहेको छ ।
जसअनुसार, सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा संरचना बनाएको ११ उजुरी परेकोमा ८ वटा मिलापत्र भएको र ३ वटा प्रकृयामा रहेको छ । सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्काले मिचि खाएको ३ वटा उजुरी परेकोमा १ वटा मिलापत्र भएको र २ वटा प्रकृयामा रहेको छ ।
यसैगरी, गाली बेईज्जतीका २ वटा उजुरी मध्ये सबै मिलापत्र भएको छ । ध्वनि प्रदुषण गरी असर पुर्याएको २ उजुरी परेकोमा १ वटा मिलापत्र भएको र १ वटा प्रकृयामा रहेको छ । न्यायिक समितिले शुक्रबार र सोमबार नियमित रुपमा काम गरिरहेको छ भने अति जरुरीका विषयमा चौबिसै घण्टा उजुरी लिने गरिएको जनाएको छ । १ देखि ८ नम्बर वडामा न्यायिक समितिको काम, कर्तव्य र अधिकारका बारेमा अभिमुखीकरण गरिएको जानकारी गराइएको थियो । कार्यक्रममा घोराही उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले न्यायिक समितिले विवादमा रहेका मुद्दाहरुलाई दुबै पक्षको जीत हुने गरी टुङ्गो लगाउने गरेको बताए । उनले न्यायमा पहुँच नभएकाहरुको लागि न्यायिक समितिले राम्रो काम भएको बताए । पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले न्यायिक समितिमा आउने मुद्दाहरु मेलमिलापको माध्यमबाट किनार लाग्नु सकारात्मक रहेको बताए । कार्यक्रमको सहजीकरण कानुन मामिला शाखा प्रतला देबकोटाले गरेकी थिइन् ।