© २०२३
यो बर्ष हिउँदमा पानी नपर्दा हिमाली क्षेत्रका अधिकांश हिमाल कालापत्थरमा परिणत भएका छन् । समयमा पानी नपर्दा चिसो बढ्न नसकेपछि हिउँले ढाकिएका हिमालको रुपमै परिवर्तन आएको छ । हिउँ नपर्दा यो बर्ष निर्धारित समयअघि नै गर्मी बढेको छ । जसका कारण अव हिउँ पग्लिएर हिमाली क्षेत्र झनै उजाड बन्ने जोखिम छ । त्यसो त तापमानमा बृद्धि विश्वव्यापी समस्या हो । नेपाललाई यसले झनै छिटो प्रभावित गर्ने देखिएको छ । पछिल्ला तथ्याँहरुका अनुसार वैज्ञानिक अध्ययनले हिमालय क्षेत्रबाट हिउँ तीव्ररूपमा पग्लिरहेको देखाएको छ । यो अनपेक्षित परिघटनाका लागि जलवायु परिवर्तन एक प्रमुख कारण मानिएको छ । ६ महिना अघिमात्र सार्वजनिक गरिएको एक अध्ययनले संसारको सबैभन्दा अग्लो स्थानमा रहेको हिमनदी तीव्रगतिमा पग्लिरहेको देखाएको छ । सो अध्ययन अनुसार सगरमाथाको सबैभन्दा अग्लो भागमा रहेको साउथ कोल ग्लेसियरको मोटाइ गएको २५ वर्षमा १८० फिट अर्थात ५४ मिटरले घटेको छ । हिमनदीमा रहेको हिउँको थुप्रोमा भएको क्षयीकरणका कारण त्यसभित्र रहेको कालो हिउँमा सूर्यको किरण पुग्दा यसको पग्लने क्रममा तीव्रता आएको अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले जनाएका छन । निश्चितरुपमा विश्व तापमान बृद्धिको असर नेपालको हिमाली क्षेत्रमा पर्न थालेको छ र यो बर्ष जाडो याममा पनि हिमाल हिउँबिनाका भएका छन । हिउँ नपर्दा हिमालको स्वरुप नै बिग्रिएको छ । यसले नेपालको पर्यटन क्षेत्रमा समेत असर पर्ने देखिएको छ ।
विश्व तापमानमा भैरहेको बृद्धिले हिमाली क्षेत्रबाट हिमाल पग्लिनेक्रममा बृद्धिमात्र भएको छैन । यसले जलवायु, समुन्द्र सतह तथा पृथ्वीमा रहेका समग्र जीवनलाई प्रभावित गर्ने निश्चित छ । त्यसैगरी हरेक बर्ष नेपालका हिमनदी पग्लिँदा हिमनदी किनारमा रहेका बस्तीमा ठूलो असर पर्दै गएको छ । हिमनदी तटीय क्षेत्रका बासिन्दा बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपसँग जुध्नुपर्ने स्थिति सिर्जना भएको छ । उता त्यसभन्दा धेरै तल रहेको तल्लो तटमा समेत डुबान तथा बाढीको समस्या देखिने गरेको छ । यो नेपालका लागि ठूलो समस्या बन्दै गएको छ । विश्वका नाम कहलिएका वातावरणविदहरुले यो शताब्दीको अन्तसम्म विश्वका केही क्षेत्रमा हिउँ नै हराउन सक्नेसमेत चेतावनी दिएका छन । वन विनास, पेट्रोल, डिजेल जस्ता खनिज इन्धनको बढ्दो प्रयोगले वायुमण्डलमा हरित गृह ग्याँसको मात्रा अत्यधिक बढेको छ । यसले पृथ्वीको वायुमण्डललाई तताएको छ । जसका कारण प्रकृति नै असन्तुलित बन्दै गएको छ । विश्वले पृथ्वीको तापक्रम वृद्धिलाई १.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएपनि यो उद्देश्य पूरा गर्न कठिन देखिएको छ । अहिले रुस युक्रेन युद्ध रोकिएको छैन । यसका कारण विश्वका ठूला मुलुक विभाजित देखिएका छन । तीन देशहरुका बीचमा कार्बन उत्सर्जनको मात्रा कम गर्ने विषयमा बार्ता समेत हुन सकिरहेको छैन । त्यस्तो अवस्थामा वातावरण सन्तुलन राख्न नेपालले आफै पनि संरक्षणको क्षेत्रमा काम गर्नेतर्फ प्रयास गर्नु जरुरी छ ।
हिमाली क्षेत्रमा यो बर्ष पाँच महिनापछिमात्र हल्का पानी परेको छ । त्यसले केही राहत त दिएको छ तर हिउँ नै पार्नेगरि हिमालको स्वरुपमा परिवर्तन आउन भने मौसम अझै चिसिनु जरुरी छ । नेपालमा अहिले त्यो अवस्था चाहिँ देखिदैन । त्यसकारण नेपालका हिम श्रृंखलाको संरक्षणका लागि नेपालले अव आफैपनि पहलकदमी लिनु जरुरी छ । समग्रमा जलवायु परिवर्तनले सिर्जित मौसमका कारण विश्वका कतिपय स्थानमा अत्यधिक हिमपात र वर्षा हुने गरेको छ भने कतै आँधीबेहरीले प्रभावित गरेको छ । मंगलवार मात्रै अमेरिकामा आएको आँधीबेहरीले त्यहाँको जनजीवनमा प्रत्यक्ष असर परेको छ । ब्राजिलमा आएको बाढी र पहिरोका कारण त्यहाँका जनजीवनमा समेत ठूलो असर परेको छ । पाकिस्तानले गएको बर्षायाममा कति पीडा र क्षति बेहो¥यो त्यो हामी सवैले जानकारी पाएकै बिषय को । तसर्थ अव गर्मीयाम सुरु हुने बेला भैसकेको छ । त्यसै त विश्व खडेरी र जंगलमा हुने आगलागीका घट्नाका कारण प्रभावित भैरहेका छन । ती चुनौतिका रुपमा देखापर्दैछन । पछिल्लोसमय बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक प्रकोपका घटना लगातार बढेको देखिन्छ । बाताबरणीय बिनासकै कारण यो अवस्था आएको छ । बाताबरणको चुनौति केवल हिमालमा मात्रै छैन, त्यसको प्रभाव मानव जीवनमा समेत परेको छ । नेपालले वातावरणीय क्षेत्रको चुनौति सामना गर्नेगरि अवको यात्रा तय गर्नु जरुरी छ ।