© २०२३
बुटवल, १६ फागुन ।
नेकपा एमालेले पार्टीका गाउंँ र वडा कमिटीसम्म नयाँ गति र उर्जा प्रदान गर्ने उद्देश्यले सुरु गरेको मिसन ग्रास रुट अभियान रुपन्देहीमा पनि सुरु भएको छ ।
नेकपा एमाले लुम्बिनी सांस्कृतिक नगरपालिकामा पार्टी केन्द्र तहबाटै चलाईएको उक्त अभियानको सुरुवात गरिएको छ । एमाले प्रदेश कमिटी सदस्य महेन्द्र गिरीको अध्यक्षता तथा भरतमणि सापकोटाको संचालनमा सोमबार शुरु गरिएको अभियानमा पार्टीका प्रदेश तथा जिल्ला तहबाट लुम्बिनी नगरपालिकाका १३ वटै वडामा खटाईएका नेता तथा कार्यकर्ताहरुको जिम्मेवारी बाँडफाँड गरिएको छ ।
सो अवसरमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बलबहादुर आचार्यले पछिल्लो समय सुस्ताएको पार्टी कमिटी अभियानबाट सशक्त बन्ने बताए । एमाले केन्द्रबाटै विभिन्न ११ वटा कार्यादेश दिएर पदाधिकारीसहितका केन्द्रीय नेताहरुलाई प्रदेश र जिल्ला तहमा खटाईएको र प्रदेश र जिल्ला तहका पदाधिकारी तथा नेता कार्यकर्ताहरुलाई नगर र गाउंपालिका तहमा खटाईएको जानकारी दिए ।
अभियानले स्थानीय तहका जनप्रतिनिधि र पार्टीबीच सम्बन्ध सुधार गर्नुका साथै पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण, सदस्यता नवीकरण तथा रायसुझाव संकलन गर्ने कामले पार्टीमा नयाँ गति कायम गराउने उनले बताए ।
एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दिनेश पाण्डेले पार्टीको मेरुदण्ड भनेकै गाउँ र वडा कमिटी भएकोले तल्लो तहलाई बलियो बनाउन नसक्दा सम्म सिंगो पार्टी बलियो बन्न नसक्ने बताए ।
नयाँ, गति र ऊर्जा प्राप्त हुने एमालेले जनाएको छ । कार्यक्रममा प्रदेश कमिटी सदस्य गोकर्ण क्षेत्री, लिलाबल्लभ ढकाल, लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, अब्दुल कलाम, उपेन्द्र अधिकारी, एमाले जिल्ला कमिटी सदस्य दामोदर सापकोटा लगायतले बोल्दै झण्डै २ महिना सम्म चल्ने अभियानले एमालेलाई अझै बलियो बनाएर पहिलो शक्तिको रुपमा उभ्याउने बताए ।