Butwal Today

विश्वभर प्रत्येक वर्ष एक करोड २० लाख बालिकाको बालविवाह, अन्त्यका लागि प्रयास तीव्र बनाउन राष्ट्रसङ्घको आह्वान

११ मंसिर २०८३, शुक्रबार
अ
अ+
अ-

काठमाडौँ

आज नोभेम्बर २७, बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस। विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले बालविवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गत सेप्टेम्बर ४ मा प्रस्ताव पारित गरी प्रत्येक वर्ष नोभेम्बर २७ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। यस वर्ष पहिलोपटक यो दिवस मनाइँदैछ।

राष्ट्रसङ्घका अनुसार सन् २०२६ सम्म विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिकाको विवाह १८ वर्ष उमेर नपुग्दै भएको थियो। विश्वभर प्रत्येक पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह हुने गरेको छ। तथ्याङ्कअनुसार प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार हुने गरेकी छन्।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत अक्टोबर ११ मा मनाइएको अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा जारी सन्देशमा बालविवाहले लाखौँ बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा गम्भीर असर पारिरहेको बताए।

उनले गरिबीलाई बालविवाहको मुख्य कारणका रूपमा उल्लेख गर्दै द्वन्द्व, जलवायुजन्य विपद् तथा विस्थापनका समयमा यसको जोखिम अझ बढ्ने बताए। बालिकालाई विद्यालयमा टिकाइराख्ने, परिवारको आर्थिक अवसर विस्तार गर्ने, सामाजिक तथा कानुनी संरक्षण बलियो बनाउने र विभेदकारी लैङ्गिक मान्यता अन्त्य गर्ने प्रयासबाट बालविवाह रोक्न सकिने उनको सन्देशमा उल्लेख छ।

गुटेरेसका अनुसार पछिल्लो २५ वर्षमा शिक्षा, सामाजिक संरक्षण तथा कानुनी सुधारका प्रयासबाट अनुमानित ६ करोड ८० लाख बालविवाह रोक्न सफलता मिलेको छ। तर, अहिलेको प्रगतिको गति कायम रहे बालविवाह अन्त्य गर्न अझै शताब्दीयौँ लाग्ने उनले चेतावनी दिए। उनले सरकार, निजी क्षेत्र, नागरिक समाज तथा सामुदायिक नेतृत्वलाई बालिकाको अधिकार संरक्षणका लागि प्रभावकारी कार्यक्रम र लगानी बढाउन आह्वान गरे।

यसैगरी, संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का उपकार्यकारी निर्देशक टेड चाइबानले राष्ट्रसङ्घीय महासभाको ८१औँ अधिवेशनअन्तर्गत तेस्रो समितिमा बालविवाह अन्त्यका लागि सन् २०३० सम्मको लक्ष्य हासिल गर्न अहिलेको प्रयासको गति २० गुणा बढाउनुपर्ने बताए।

बालविवाह मानवअधिकारको उल्लङ्घन भएको उल्लेख गर्दै उनले विवाहको न्यूनतम उमेर १८ वर्ष तोक्ने कानुनी व्यवस्था, त्यसको प्रभावकारी कार्यान्वयन, न्यायमा पहुँच र संरक्षण सेवाको सुनिश्चितता आवश्यक रहेको बताए।

विवाह भइसकेका, गर्भवती तथा सन्तान भएका किशोरीलाई पनि शिक्षा निरन्तरता दिन वा पुनः विद्यालय फर्कन सहयोग गर्नुपर्नेमा राष्ट्रसङ्घले जोड दिएको छ। साथै, बालिकालाई आफ्ना जीवनसँग सम्बन्धित निर्णय तथा समाधान प्रक्रियामा सहभागी गराउनुपर्ने राष्ट्रसङ्घको भनाइ छ।

राष्ट्रसङ्घका अनुसार विश्वमा बालविवाहको सबैभन्दा ठूलो भार दक्षिण एसियाले बेहोर्दै आएको छ। विश्वभर बालविवाहमा परेका महिला तथा बालिकामध्ये ४४ प्रतिशत अर्थात् करिब २८ करोड ५० लाख दक्षिण एसियामा छन्। त्यसपछि उपसहारा अफ्रिकामा १८ प्रतिशत अर्थात् करिब ११ करोड ५० लाख महिला तथा बालिका रहेका छन्।

पछिल्लो एक दशकमा विश्वव्यापी बालविवाहको दर १५ प्रतिशतले घटेको छ। यसअघि २५ प्रतिशत महिला तथा बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेकामा अहिले यो अनुपात घटेर करिब २१ प्रतिशतमा झरेको छ। यस अवधिमा करिब दुई करोड ५० लाख बालविवाह रोक्न सफलता मिलेको राष्ट्रसङ्घले जनाएको छ।

बालविवाहले बालिकाको शिक्षा प्राप्त गर्ने अवसर खोस्नुका साथै आर्थिक आत्मनिर्भरता, स्वास्थ्य र व्यक्तिगत स्वतन्त्रतामा प्रतिकूल असर पार्छ। यसले किशोरावस्थामै गर्भधारण, मातृस्वास्थ्यसम्बन्धी जोखिम, लैङ्गिक हिंसा तथा यौन शोषणको सम्भावना पनि बढाउँछ।

दिगो विकास लक्ष्यको लक्ष्य नम्बर ५.३ ले सन् २०३० सम्म बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाहलगायत सबै हानिकारक प्रथा अन्त्य गर्ने लक्ष्य राखेको छ। तर, हालको प्रगतिको गति कायम रहे बालविवाह अन्त्य हुन अझै करिब ३०० वर्ष लाग्ने राष्ट्रसङ्घले जनाएको छ।

राष्ट्रसङ्घले बालविवाह अन्त्यका लागि कानुनी सुधारसँगै बालिकाको गुणस्तरीय शिक्षामा पहुँच विस्तार तथा सामाजिक र आर्थिक सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?