© 2026
काठमाडौं ।
नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग माग गर्दै आएको थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा दुई देशबीच सहमति भएको छ । यससँगै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्ने नेपालको प्रयासले नयाँ गति लिने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको मङ्सिर ६ र ७ गते सम्पन्न भारत भ्रमणका क्रममा नेपाल र भारतबीच थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सहमति जुटेको हो । दुई देशका प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनउ बी३४५ हवाई मार्गलाई दुईतर्फी बनाउने उल्लेख छ ।
संयुक्त वक्तव्यको बुँदा नं. ८ मा दुवै देश हाल एकतर्फी रहेको उक्त हवाई मार्गलाई दुईतर्फी बनाउन सहमत भएको उल्लेख गरिएको छ । यसका लागि आवश्यक मोडालिटी तय गर्न तथा नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावलाई सम्बोधन गर्न प्राविधिक परामर्श गर्ने सहमति पनि भएको छ ।
यो सहमतिले नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारका लागि नयाँ सम्भावना खोलेको छ । हाल सीमित प्रवेशमार्गमा निर्भर रहँदै आएको नेपालले पश्चिमी क्षेत्रबाट पनि अन्तर्राष्ट्रिय जहाज प्रवेश र बहिर्गमनका लागि थप विकल्प पाउने भएको छ ।
प्राविधिक टोलीले सुरु ग¥यो तयारी
भारतसँग सहमति भएपछि नेपालले नयाँ हवाई मार्ग सञ्चालनका लागि आवश्यक प्राविधिक तयारी अघि बढाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार संयुक्त प्राविधिक टोलीले रुट सञ्चालनसम्बन्धी काम सुरु गरिसकेको छ ।
नयाँ हवाई मार्ग कुन भौगोलिक बिन्दुबाट नेपाल प्रवेश गर्ने, जहाजको उचाइ कति हुने र भारतबाट नेपालतर्फ जहाज स्थानान्तरण गर्ने प्रक्रिया कसरी व्यवस्थापन गर्ने भन्ने विषय प्राविधिक छलफलबाट टुङ्गो लगाइनेछ ।
क्यानका एक उच्च अधिकारीका अनुसार नेपाली पक्षले आवश्यक गृहकार्य सुरु गरिसकेको छ । भारतीय पक्षसँग संयुक्त बैठक गर्ने तयारी पनि भइरहेको छ ।
उनले संयुक्त प्राविधिक टोलीले काम सुरु गरिसकेको बताउँदै प्रवेशबिन्दु र जहाजको उडान उचाइबारे दुवै देशका प्राविधिक टोलीले निर्णय गर्ने जानकारी दिए ।
प्राविधिक छलफलबाट रुटको अन्तिम स्वरूप, उडान सञ्चालन प्रक्रिया, उचाइ निर्धारण तथा हवाई ट्राफिक व्यवस्थापनसम्बन्धी विषय टुङ्ग्याइनेछ । त्यसपछि दुवै देशको एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआईपी)मा आवश्यक सूचना प्रकाशित गर्नुपर्नेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको एयरपोर्ट अथोरिटी अफ इन्डियाले आ–आफ्नो एआईपीमा सूचना प्रकाशित गरेपछि मात्रै नयाँ हवाई मार्ग औपचारिक रूपमा सञ्चालनमा आउनेछ । त्यसैले राजनीतिक तहमा सहमति भए पनि अन्तर्राष्ट्रिय जहाजले नयाँ रुट प्रयोग गर्न प्राविधिक तथा प्रशासनिक प्रक्रिया पूरा हुनुपर्नेछ ।
त्रिभुवन विमानस्थलको चाप घट्ने अपेक्षा
नयाँ हवाई प्रवेशमार्ग सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान व्यवस्थापनमा समेत सहजता आउने अपेक्षा गरिएको छ ।
हाल नेपाल प्रवेश गर्ने अधिकांश अन्तर्राष्ट्रिय जहाजले बाराको सिमरा प्रवेशबिन्दु प्रयोग गर्दै आएका छन् । सीमित प्रवेशमार्गका कारण पश्चिमी क्षेत्रबाट नेपाल आउने जहाजले आवश्यकताअनुसार छोटो र सहज मार्ग प्रयोग गर्न पाएका छैनन् ।
भैरहवा रुट दुईतर्फी भएपछि पश्चिमबाट नेपाल प्रवेश गर्ने जहाजले थप विकल्प पाउनेछन् । यसले उडान दूरी र समय घटाउनुका साथै अन्तर्राष्ट्रिय हवाई मार्गको चाप व्यवस्थापन गर्न सहयोग पुग्नेछ । जहाजलाई लामो समय आकाशमै होल्ड गर्नुपर्ने अवस्था पनि कम हुने अपेक्षा गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले थप हवाई प्रवेशमार्ग प्राप्त हुनु नेपालको हवाई उड्डयन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।
उनका अनुसार नयाँ रुटले नेपालको हवाई क्षेत्र उपयोग क्षमता र उडान सञ्चालन दक्षता बढाउनेछ । जहाजको आवतजावत सहज हुने, इन्धन खपत घट्ने, यात्रुको समय तथा लागत बचत हुने र विदेशी पर्यटकको आवागमनमा समेत सकारात्मक प्रभाव पर्नेछ ।
आचार्यले सहमति कार्यान्वयनका लागि केही प्राविधिक काम बाँकी रहेको बताउँदै दुवै देशका प्राविधिक टोलीले ती विषय टुङ्ग्याएपछि नयाँ रुट सञ्चालनमा आउने जानकारी दिए ।
भैरहवा र पोखरा विमानस्थल सञ्चालनको आधार
नेपालले थप हवाई प्रवेशमार्ग माग गर्नुको प्रमुख उद्देश्य भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्नु हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकारले ठूलो लगानी गरेको छ । तर सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि दुवै विमानस्थलबाट अपेक्षाअनुसार नियमित अन्तर्राष्ट्रिय उडान विस्तार हुन सकेको छैन । भारतीय हवाई क्षेत्रसँग जोडिने सहज प्रवेश तथा बहिर्गमन मार्गको अभावलाई यसको एउटा प्रमुख कारण मानिँदै आएको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दा भारतीय हवाई क्षेत्रको प्रयोग महत्वपूर्ण हुन्छ । भारततर्फ सहज प्रवेश र बहिर्गमन मार्ग नहुँदा विमानस्थलको व्यावसायिक सञ्चालनमा चुनौती देखिँदै आएको छ ।
भैरहवा रुट दुईतर्फी भएपछि पश्चिमबाट आउने अन्तर्राष्ट्रिय जहाजलाई नेपाल प्रवेश गर्न र उडानपछि बाहिरिन सहज हुनेछ । यसले विशेषगरी पश्चिमी मुलुकबाट आउने जहाजको उडान व्यवस्थापनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न पनि सहज हवाई सम्पर्क आवश्यक छ । पश्चिमी क्षेत्रबाट नेपाल प्रवेश गर्ने जहाजलाई छोटो रुट उपलब्ध हुँदा पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्न थप सहज हुने अपेक्षा गरिएको छ ।
यद्यपि भैरहवा रुटसम्बन्धी पछिल्लो सहमतिले दुवै क्षेत्रका विमानस्थल तत्काल पूर्ण क्षमतामा सञ्चालन हुने सुनिश्चित गर्दैन । त्यसका लागि नियमित अन्तर्राष्ट्रिय उडान, वायुसेवा कम्पनीको व्यावसायिक चासो, यात्रुको माग र अन्य पूर्वाधार पनि महत्वपूर्ण हुनेछन् ।
नेपालले भारतसँग भैरहवा रुट मात्र नभई पश्चिमी तथा अन्य क्षेत्रबाट अन्तर्राष्ट्रिय जहाज प्रवेश गराउन थप हवाई मार्गको माग गर्दै आएको छ । विशेषगरी महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा र जनकपुरबाट थप प्रवेशमार्ग उपलब्ध गराउन भारतसँग आग्रह गरिएको थियो ।
यसक्रममा भारत महेन्द्रनगरबाट ३९ हजार फिट उचाइमा जहाज प्रवेश गराउन सहमत भएको जनाइएको छ । यसलाई नेपालको पश्चिमी हवाई प्रवेश व्यवस्थापनका लागि अर्को महत्वपूर्ण सम्भावनाका रूपमा हेरिएको छ । भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउने विषयमा पनि भारत सकारात्मक देखिएको छ । तर यी विषयमा अन्तिम निर्णय हुन बाँकी छ ।
नेपालले तत्काल सम्भव हुने हवाई प्रवेशमार्ग सञ्चालनमा ल्याएर बाँकी विषयलाई क्रमशः वार्तामार्फत टुङ्ग्याउन प्रस्ताव गर्दै आएको थियो । भारतले भने विभिन्न हवाई रुट तथा नागरिक उड्डयनसम्बन्धी प्रस्तावलाई छुट्टाछुट्टै सम्बोधन गर्नुभन्दा समग्र प्याकेजमै समझदारी खोजिरहेको थियो ।
भैरहवा रुट उपलब्ध गराउने विषयसँगै भारतले बागडोग्रा विमानस्थलका लागि पनि नेपालसँग हवाई मार्गको प्रस्ताव गरेको थियो । पछिल्लो सहमतिमा यी विषयलाई समेत प्राविधिक परामर्शमार्फत अघि बढाउने समझदारी भएको छ ।
जहाजको समय र सञ्चालन खर्च घट्ने
क्यानका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनले भैरहवा हवाई रुट दुईतर्फी हुनु नेपालको हवाई उड्डयन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।
उनका अनुसार पश्चिमबाट नेपाल प्रवेश गर्ने जहाजले नयाँ रुट प्रयोग गर्न पाएमा उडान समय घट्नेछ । यसले इन्धन खपत र जहाज सञ्चालन खर्च कम गर्न सहयोग पु¥याउनेछ ।
सुमनले भैरहवा रुट दुईतर्फी हुँदा पश्चिमबाट नेपाल प्रवेश गर्ने जहाजको समय घट्ने, अन्तर्राष्ट्रिय हवाई मार्गको चाप कम हुने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान व्यवस्थापन सहज हुने बताए ।
उनले सहमति कार्यान्वयनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उडान समय र इन्धन खर्च घट्नु वायुसेवा कम्पनीका लागि आर्थिक रूपमा महत्वपूर्ण हुने भएकाले यसले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नेपालका क्षेत्रीय विमानस्थलसम्म उडान सञ्चालन गर्न प्रोत्साहित गर्न सक्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, जहाजले लामो समय आकाशमा होल्ड गर्नुपर्ने अवस्था कम हुँदा यात्रुको यात्रा समय घट्ने र उडान नियमिततामा सुधार आउने सम्भावना छ ।
एक दशकदेखिको कूटनीतिक प्रयासले पायो परिणाम
नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन कूटनीतिक पहल गर्दै आएको थियो । यसअघि पनि नेपाली प्रधानमन्त्रीहरूको भारत भ्रमण तथा उच्चस्तरीय द्विपक्षीय वार्तामा हवाई रुटको विषय प्राथमिकताका साथ उठ्ने गरेको थियो । तर प्राविधिक विषय, सुरक्षा संवेदनशीलता र हवाई क्षेत्र व्यवस्थापनसम्बन्धी मतभिन्नताका कारण ठोस सहमति हुन सकेको थिएन ।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठूलो लगानी गरे पनि ती विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारतीय हवाई क्षेत्रसँग सहज सम्पर्क आवश्यक रहेको विषय नेपालले निरन्तर उठाउँदै आएको थियो ।
प्रधानमन्त्री शाहको भारत भ्रमणमा यस विषयलाई प्राथमिकताका साथ उठाइएपछि लामो समयदेखि रोकिएको हवाई रुटसम्बन्धी छलफलले परिणाम दिएको हो ।
नेपाल र भारतबीचको पछिल्लो सहमति एउटा नयाँ हवाई मार्ग प्राप्त गर्ने विषयमा मात्र सीमित छैन । यसले अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, क्षेत्रीय विमानस्थलको व्यावसायिक उपयोग र पर्यटन प्रवद्र्धनका लागि समेत सम्भावना सिर्जना गरेको छ ।
तर सहमतिबाट वास्तविक लाभ लिन प्राविधिक तथा प्रशासनिक प्रक्रिया शीघ्र पूरा गर्नुपर्नेछ । रुटको प्रवेशबिन्दु, उडान उचाइ, हवाई ट्राफिक व्यवस्थापन, सुरक्षा मापदण्ड र सञ्चालन प्रक्रियासम्बन्धी विषय टुङ्ग्याएर दुवै देशको एआईपीमा सूचना प्रकाशित गरेपछि मात्रै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नयाँ हवाई मार्ग प्रयोग गर्न सक्नेछन् ।