Butwal Today

सुनकोशी–मरिणको ठेक्का रद्दमा सरकारी नियतमाथि प्रश्न

९ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको करिब १६ अर्ब रूपैयाँ लागतको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेपछि रद्द गरिएको विषयले संसदीय समितिमा प्रवेश पाएको छ । ठेक्का रद्द गर्ने निर्णयको कानुनी आधार, प्रक्रियागत वैधानिकता र त्यसमा प्रधानमन्त्री कार्यालयको सम्भावित हस्तक्षेपबारे सांसदहरूले प्रश्न उठाएपछि सार्वजनिक लेखा समितिले सरकारसँग सात दिनभित्र सम्पूर्ण कागजात माग गरेको छ ।
मंगलबार बसेको समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अधिकारी र सिँचाइ विभागका महानिर्देशकलाई बोलाएर ठेक्का रद्द गर्नुको कारणबारे छलफल गरिएको थियो । सत्ता पक्ष र प्रतिपक्ष दुवै दलका सांसदहरूले प्राविधिक मूल्याङ्कन सम्पन्न भई आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला ठेक्का रद्द गरिनु शङ्कास्पद भएको भन्दै विस्तृत छानबिन गर्नुपर्ने माग गरे ।
आयोजनाको हेडवक्र्स, डिस्यान्डर, विद्युत् गृहलगायतका सिभिल तथा हाइड्रोमेकानिकल संरचना निर्माणका लागि आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्रको प्रक्रिया अन्तिम चरणमा पुगेको थियो । प्राविधिक मूल्याङ्कन सम्पन्न भइसकेको र आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला सार्वजनिक खरिद नियमावलीको संशोधनलाई आधार बनाएर ठेक्का रद्द गरिएको विषयमा समितिमा उजुरी परेको थियो ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, नेपाली कांग्रेसका जनकराज गिरी, नेकपा (एमाले) का गणेशसिंह ठगुन्ना, राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुस्बु ओली र नेपाली कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाहीले ठेक्का रद्द गर्ने निर्णयमाथि प्रश्न उठाएका थिए । सांसदहरूले कानुन संशोधनको आडमा अन्तिम चरणमा पुगेको ठेक्का प्रक्रिया रद्द गरिनुमा निहित स्वार्थ हुन सक्ने आशङ्का व्यक्त गरे ।
राप्रपाकी सांसद खुस्बु ओलीले ठेक्का रद्द गर्ने विषयमा प्रधानमन्त्री कार्यालयबाट कुनै निर्णय वा राय लिइएको थियो कि थिएन भन्ने स्पष्ट पार्न माग गरिन् । यसअघि पनि सिँचाइ विभागले उठेका प्रश्नको स्पष्ट जवाफ दिन नसकेको उल्लेख गर्दै उनले प्रधानमन्त्री कार्यालयको क्षेत्राधिकार र ठेक्का प्रक्रियामा भएको सम्भावित हस्तक्षेपबीचको सम्बन्धबारे सत्यतथ्य सार्वजनिक हुनुपर्ने बताइन् ।
उनले प्राविधिक तथा आर्थिक प्रस्तावको प्रक्रिया अघि बढिसकेको अवस्थामा नियम परिवर्तन गरेर ठेक्का रद्द गर्नु उचित नभएको तर्क गर्दै परीक्षा दिएर उत्तरपुस्तिका बुझाइसकेपछि प्रश्नपत्र परिवर्तन गर्न नमिल्ने उदाहरण प्रस्तुत गरिन् ।
‘बिडिङ भएर निर्माण सुरु भई टनेल ब्रेक थ्रु भइसकेको परियोजनामा पछि विधि र पद्धति परिवर्तन गरी कसरी लागू गरियो ?’ उनले प्रश्न गरिन् ।
एमालेका सांसद गणेशसिंह ठगुन्नाले प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्तावसमेत सिलबन्दी रूपमा पेस भइसकेको अवस्थामा ठेक्का रद्द गरिनुमा गम्भीर स्वार्थको आशङ्का रहेको बताए । उनका अनुसार हेडवक्र्स र विद्युत् गृह निर्माणसम्बन्धी ठेक्का प्रक्रिया सार्वजनिक खरिद नियमावलीको १५औँ संशोधनअनुसार अघि बढाइएको थियो ।
प्रक्रिया अन्तिम चरणमा पुगेपछि नियम परिवर्तनको बहानामा ठेक्का रद्द गर्नु अनुचित भएको उल्लेख गर्दै उनले यस विषयमा समितिले थप अध्ययन र छानबिन गर्नुपर्ने बताए ।
रास्वपाका सांसद मनिष झाले सरकारी अधिकारीहरूले सञ्चारमाध्यममा आइसकेका विवरण दोहो¥याउनुभन्दा आयोजना किन रोकियो र अब कसरी अघि बढ्छ भन्ने स्पष्ट कार्ययोजना प्रस्तुत गर्नुपर्ने बताए ।
छ वर्षअघि सुरु भएको आयोजनाको १३ दशमलव ३ किलोमिटर लामो सुरुङ सन् २०२४ को मे महिनामै छिचोलिए पनि त्यसयता अन्य संरचना निर्माणको काम अघि बढ्न नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे । संक्रमणकालीन सरकार र जेनजी आन्दोलनपछिको निर्वाचनको बीचमा २०८२ कात्तिक २५ गते ठेक्का रद्द गरिनुको कारण र त्यसका लागि जिम्मेवार व्यक्तिबारे पनि छानबिन हुनुपर्ने उनको माग थियो ।
‘काम किन अगाडि बढेन, के बदमासी देखियो र अबको बाटो के हो भन्ने तीनवटा कुरामा थप स्पष्टता आवश्यक छ,’ झाले भने, ‘त्यसो भयो अनि म उम्किएँ वा क्यान्सिल ग¥यौँ भन्ने कुराले मात्र समस्याको समाधान दिँदैन । अब यति दिनमा यसरी सम्पन्न गर्छौँ भन्ने ठोस कार्ययोजना खोइ ?’
उनले आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही क्षेत्र गरी एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पु¥याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको स्मरण गराए । आयोजना थप अन्योलमा परे पाँच जिल्लाका किसानले बेहोर्ने कृषि उत्पादनको क्षतिको समेत हिसाब गर्नुपर्ने उनको भनाइ थियो ।
कांग्रेसका सांसद जनकराज गिरीले ठेक्का रद्द गर्ने निर्णयलाई वित्तीय अनुशासन उल्लङ्घनको विषयका रूपमा व्याख्या गर्दै राज्यलाई भएको आर्थिक क्षतिको विवरण माग गरे ।
‘प्रधानमन्त्री कार्यालयले सिँचाइ विभागका महानिर्देशक र आयोजना प्रमुखलाई प्रहरी नियन्त्रणमा लिएर अन्तिममा ठेक्का रद्द हुँदा यसले वित्तीय अनुशासनमा गम्भीर प्रश्न उठाएको छ,’ उनले भने, ‘यो वित्तीय अनुशासन उल्लङ्घन भएको विषय भएकाले हाम्रो गम्भीर चासोको विषय हो ।’
उनले यसअघि निर्माणको जिम्मा पाएको रमण–पटेल जेभीसँगको ठेक्का रद्द गर्दा राज्यलाई कति आर्थिक क्षति भयो भन्नेबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए ।
नेकपाका सांसद महेन्द्रबहादुर शाहीले नियमावली संशोधनकै कारण पुरानो ठेक्का रद्द गरिएको भन्ने सरकारी तर्कको कानुनी आधार माग गरे । बहुवर्षीय आयोजनाहरू सञ्चालन भइरहेका बेला बीचमा ऐन वा नियमावली संशोधन हुँदैमा पुराना ठेक्का रद्द गर्दै जाने हो भने राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुन नसक्ने उनको भनाइ थियो ।
बैठकमा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले आफू प्रधानमन्त्री कार्यालय गएको स्वीकार गरे पनि ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालय वा सचिवालयबाट कुनै हस्तक्षेप नभएको दाबी गरे ।
उनले हेडवक्र्सलगायतका संरचना निर्माणको ठेक्का रद्द गर्ने निर्णय प्रचलित कानुनअनुसार नै गरिएको जिकिर गरे । भविष्यमा कानुनी तथा प्रक्रियागत जटिलता नआओस् र सक्षम निर्माण व्यवसायी छनोट होस् भन्ने उद्देश्यले पुरानो बोलपत्र रद्द गरी पुनः प्रतिस्पर्धात्मक प्रक्रिया सुरु गरिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?