Butwal Today

विद्यालयस्तरीय भलिबल प्रतियोगितामा आठ विद्यालय भिड्ने

९ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

बुटवल ।

विद्यालयस्तरबाटै खेलकुदको विकास गर्दै विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले बुटवलमा ‘डिस्ट्रिक्ट गभर्नर अन्तरविद्यालय छात्र भलिबल इलिट कप–२०८३’ आयोजना हुने भएको छ ।
लायन्स क्लब अफ बुटवल इलिटको आयोजनामा यही मंसिर ११ देखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । प्रतियोगिता बुटवलको देवीनगरस्थित न्यू होराइजन स्पोट्र्स क्लबको प्रशिक्षण केन्द्रमा हुनेछ ।
प्रतियोगिताबारे जानकारी दिन मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा लायन्स डिष्ट्रिक्ट ३२५ पी का डिष्ट्रिक्ट गभर्नर सन्दीप कसौधनले विद्यालय तहबाटै खेलकुदको विकासका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताए । उनले खेलकुदले विद्यार्थीमा शारीरिक तन्दुरुस्ती मात्र नभई अनुशासन, सामूहिक भावना र नेतृत्व क्षमता विकास गर्न सहयोग पुग्ने उल्लेख गरे ।
उनले विद्यालयस्तरका प्रतिभालाई पहिचान गरी उनीहरूको क्षमता विकास गर्ने वातावरण निर्माण गर्न लायन्सले खेलकुदका कार्यक्रमलाई प्राथमिकता दिएको बताए ।
कार्यक्रम संयोजक एवं जोन चेयर पर्सन अरूण ज्ञवालीले प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन आवश्यक तयारी भइरहेको जानकारी दिए । उनका अनुसार रूपन्देहीका उत्कृष्ट आठ विद्यालयका टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । विद्यालयस्तरका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु प्रतियोगिताको प्रमुख उद्देश्य रहेको उनले बताए ।
प्रतियोगितामा कान्ति माध्यमिक विद्यालय, नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय, न्यू होराइजन माध्यमिक विद्यालय, कालिका मानवज्ञान माध्यमिक विद्यालय, दीप बोर्डिङ हाइस्कुल, मणिमुकुन्द कलेज, सेन्ट जोसेफ इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल तिलोत्तमा र बुद्ध पब्लिक इङ्लिस बोर्डिङ हाइस्कुल देवदह सहभागी हुनेछन् । प्रत्येक टोलीमा १२ खेलाडीसहित एक प्रशिक्षक र एक व्यवस्थापक गरी १४ जना रहनेछन् ।
क्लबका अध्यक्ष सुवास अर्यालले प्रतियोगितालाई खेलकुदको प्रतिस्पर्धामा मात्र सीमित नराखी विद्यार्थीको सर्वाङ्गीण विकास र स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने अभियानका रूपमा अघि बढाइएको बताए । उनले विद्यालय, अभिभावक, खेलप्रेमी तथा सञ्चारकर्मीको सहयोगले प्रतियोगितालाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
क्लबका खेल सहसंयोजक मिलन रानाले प्रतियोगितामा खेलाडीको स्वास्थ्य र सुरक्षालाई समेत प्राथमिकतामा राखिएको जानकारी दिए । उनका अनुसार प्रतियोगिता अवधिभर निरोग हेल्थ क्लिनिकको सौजन्यमा प्राथमिक उपचार सेवा उपलब्ध गराइनेछ । त्यसैगरी नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सौजन्यमा सहभागी प्रत्येक खेलाडीको खेल दुर्घटना बीमा गरिएको क्लवका सचिव राजेन्द्र ज्ञवालीले बताए । बीमाबाट खेलाडीले अधिकतम एक लाख रूपैयाँसम्मको सुरक्षा प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित ६० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले ४० हजार, तृतीय हुने टोलीले २० हजार र सान्त्वना स्थान हासिल गर्ने टोलीले १० हजार रूपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर, अनुशासित खेलाडी, उत्कृष्ट प्रशिक्षक र उदयीमान खेलाडीलाई समेत विधागत पुरस्कार प्रदान गरिनेछ ।
आयोजकले प्रतियोगिताले विद्यालयस्तरमा भलिबल खेलको आकर्षण बढाउनुका साथै नयाँ खेल प्रतिभा पहिचान र विकासमा योगदान पु¥याउने अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?