© 2026
रोल्पा ।
तिहारको उल्लाससँगै रोल्पाका गाउँबस्ती यतिबेला परम्परागत लोकनाच, मौलिक गीत र पुराना बाजागाजाको धुनले गुञ्जायमान बनेका छन् । आधुनिक संगीत र बदलिँदो जीवनशैलीको प्रभावबीच हराउँदै जान थालेका स्थानीय सांस्कृतिक परम्परालाई पुनर्जीवन दिन जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाका बासिन्दा सक्रिय भएका छन् । पुर्खादेखि चल्दै आएका सिँगारु, मारुनी, सारङ्गी, धोका, पैसारु लगायतका नाच सिक्ने र सिकाउने गतिविधिले गाउँघरमा नयाँ उत्साह थपेको छ ।
विशेषगरी तिहारको अवसरमा पुराना संस्कारअनुसार नाचगान गर्ने, मादल, बाँसुरी, झ्याली तथा अन्य परम्परागत बाजा बजाउने र मौलिक भेषभूषामा सजिएर सांस्कृतिक प्रस्तुति दिने क्रम बढेको छ । यसले चाडपर्वलाई मनोरञ्जनमा मात्र सीमित नराखी पुर्खाले हस्तान्तरण गरेका सांस्कृतिक सम्पदाको संरक्षण गर्ने माध्यमसमेत बनाएको छ ।
रोल्पाका दसवटै स्थानीय तहमा आआफ्नै विशेषता र शैलीअनुसार लोकसंस्कृतिको अभ्यास भइरहेको छ । कतिपय स्थानमा पुराना नाचका समूह पुनर्गठन गरिएका छन् भने अन्य ठाउँमा नयाँ पुस्तालाई परम्परागत गीत, नृत्य तथा बाजाको ताल सिकाउने अभियान सञ्चालन भइरहेको छ । तिहारमा मादल निर्माण गर्ने कामसमेत तीव्र बनेको स्थानीयले बताएका छन् ।
चाडपर्वका बेला आफन्तसँग भेटघाट गर्ने, परिवारसँग रमाइलो गर्ने र सामूहिक उत्सव मनाउने परम्परासँगै सांस्कृतिक चेतना फैलाउने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको छ । स्थानीय क्लब, सांस्कृतिक समूह र विभिन्न सामाजिक संस्थाले आफ्ना कार्यक्रमहरूमा पुराना नाचलाई समावेश गर्न थालेका छन् । स्थानीय सरकारको चासो र नागरिकको सक्रियताले पनि मौलिक परम्पराको संरक्षणमा सहयोग पुगेको छ ।
लुङ्ग्री गाउँपालिका–४, ठूलो नम्जामा पुर्खौंदेखि प्रचलनमा रहेको सिँगारु नाच अहिले पुनः जीवन्त बनेको छ । पुस्तान्तरणको प्रक्रियामा रहेको उक्त सांस्कृतिक अभ्यासलाई नयाँ पुस्तासम्म पु¥याउन स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारण एकजुट भएका छन् ।
समूहका अग्रज व्यक्तित्व तथा समाजसेवी ७० वर्षीय तुलाराम खड्का यस अभियानमा सक्रिय छन् । युवाहरूले पुरानो नाचको मौलिकता बुझून् र भावी पुस्ताले पनि यसलाई निरन्तरता दिन सकून् भन्ने उद्देश्यले विभिन्न प्रशिक्षण सञ्चालन भइरहेको छ ।
सिँगारु नाचमा प्रयोग हुने परम्परागत गीत गाउने, मादलको तालमा नृत्य गर्ने तथा पुरानो शैलीका भेषभूषा प्रयोग गर्ने अभ्यास युवालाई सिकाइँदै आएको छ । विगतमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै पहिरनको चलन रहेको यस नाचमा चोली, माला लगायतका मौलिक पोशाकको प्रयोग गरिन्छ। बाजाको तालअनुसार आफ्नै शैलीमा प्रस्तुत गरिने नृत्यले दर्शकलाई आकर्षित गर्दै आएको छ ।
वर्षमा सीमित अवसरमा प्रस्तुत गरिने यो नाच दशैँको टीकाका दिन तथा तिहारमा लक्ष्मीपूजा र भाइटीकापछि देखाउने परम्परा रहेको स्थानीयले बताएका छन् । अहिले यसको प्रस्तुति हेर्न वृद्धवृद्धा, अभिभावक तथा अन्य गाउँबाट समेत मानिसहरू आउने गरेका छन् । पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको उत्साहको संगमले नम्जामा सांस्कृतिक वातावरण थप जीवन्त बनेको छ ।
वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेका युवा तथा युवती स्वदेश फर्किएपछि आफ्नै मौलिक कला र संस्कृतिमा रमाउन थालेका छन् । आधुनिक जीवनशैलीसँग परिचित युवाहरूले समेत पुर्खाको नाचगान सिक्न र त्यसलाई निरन्तरता दिन चासो देखाउन थालेका छन् ।
रोल्पा नगरपालिका–४ का स्थानीय मनबहादुर नेपालीका अनुसार विदेशबाट फर्किएका युवायुवतीसमेत पुराना सांस्कृतिक अभ्यासमा सहभागी भइरहेका छन् । समुद्रपारिबाट आएका युवतीहरूले समेत परम्परागत नृत्य सिक्न अग्रसरता देखाएको उनले बताए ।
“पहिला फूलहरू फुलेसँगै अहिले मनमा पनि फूल फुलेझैँ मौलिक संस्कृतिप्रति युवाहरूको आकर्षण बढेको छ,” उनले भने ।
उनका अनुसार विगतमा नयाँ पुस्तालाई पुराना नाचमा सहभागी गराउन कठिन हुने गरेको थियो । अहिले भने युवाहरू स्वयं अग्रसर भएर गीत, बाजा र नृत्य सिक्न थालेका छन् । यसले सांस्कृतिक सम्पदाको संरक्षणप्रति समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
पुरानो सिँगारु नचरी समूहले सांस्कृतिक प्रस्तुति मात्र नभई सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्दै आएको छ। स्थानीयको मागअनुसार विभिन्न घरमा नाच देखाउने समूहले रातभरि सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । पछिल्लो समय प्रस्तुति माग बढेकाले समूहको आम्दानीसमेत वृद्धि भएको छ ।
समूहका सचिव तुलबहादुर खड्काका अनुसार वर्षमा एकपटक प्रस्तुत गरिने नाचबाट दुई लाख रुपैयाँभन्दा बढी रकम संकलन हुने गरेको छ । उक्त रकम मनोरञ्जनका लागि मात्र खर्च नगरी विद्यालय, क्लब तथा विपत्तिमा परेका व्यक्तिलाई सहयोग गर्न प्रयोग गरिँदै आएको उनले बताए ।
उनका अनुसार २०७० सालमा विद्यालयका लागि एक हजार पाँच सय वर्गमिटर जग्गा खरिद गरी विद्यालयको नाममा हस्तान्तरण गरिएको थियो । त्यसबेला उक्त जग्गा खरिद गर्न दुई लाख ५० हजार रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।
“हाम्रो समूहले नाचगान गरेर रमाइलो गराउने काम मात्र गर्दैन । विद्यालय, सामाजिक संस्था र समस्यामा परेका नागरिकलाई सहयोग गर्ने काम पनि गर्दै आएको छ,” उनले भने ।
समूहले शैक्षिक तथा सामाजिक कार्यका लागि रकम संकलन गर्ने र आवश्यकता अनुसार सहयोग उपलब्ध गराउने गरेको छ । स्थानीय स्तरमा हुने विपद् तथा अन्य समस्यामा समेत सहयोग पु¥याउँदै आएको सचिव खड्काले बताए ।
तिहारका बेला मदिरा सेवन गरी अनावश्यक होहल्ला गर्ने प्रवृत्ति विगतमा देखिने गरेको उल्लेख गर्दै उनले युवालाई सचेत बनाउने अभियानमा पनि सांस्कृतिक गतिविधि उपयोगी भएको बताए । पुराना नाचको अभ्यासले युवालाई सामूहिक कार्यमा जोड्नुका साथै सामाजिक अनुशासन कायम गर्नसमेत मद्दत पुग्ने उनको भनाइ छ ।
लुङ्ग्री गाउँपालिकाका विभिन्न वडामा सिँगारु नाचका समूहको उपस्थिति रहेको छ । गाउँपालिकामा पुराना नाचलाई निरन्तरता दिन स्थानीय समूहहरूले सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।
समूहका सचिव तुलबहादुर खड्काका अनुसार वडा नम्बर ४ ठूलो नम्जामा तीनवटा सिँगारु नाच समूह रहेका छन् । वडा नम्बर १ मा यस्तो समूह नरहेको, वडा नम्बर २ को सिर्पमा दुईवटा तथा वडा नम्बर ३ को जुटुङ्खलामा समूह नरहेको उनले जानकारी दिए ।
त्यसैगरी वडा नम्बर ५ मा पाँचवटा समूह रहेका छन् भने वडा नम्बर ६ र ७ मा एक–एकवटा समूह सक्रिय छन् । विभिन्न वडामा समूहहरूको उपस्थिति र सक्रियताले लुङ्ग्रीमा पुरानो नाचप्रतिको आकर्षण अझै कायम रहेको देखाउँछ ।
स्थानीय मेला, महोत्सव तथा परम्परागत कुलपूजामा समेत यस्ता नाच प्रस्तुत गरिँदै आएको छ । गाउँपालिका अध्यक्ष यमबहादुर खड्काका अनुसार गुम्चाल, हार्जङ, सिर्प र किलाचौर लगायतका स्थानमा मौलिक संस्कृति जोगाउने प्रयास भइरहेको छ ।
नयाँ पुस्ता आधुनिक गीतमा रमाउने क्रम बढ्दै जाँदा पुराना भाका र नृत्य बिर्सिने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले सांस्कृतिक कार्यक्रममार्फत तिनलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता औँल्याए । स्थानीय सरकार र समुदायको सहकार्यमा परम्परागत अभ्यासलाई निरन्तरता दिन विभिन्न गतिविधि सञ्चालन भइरहेको उनले बताए ।
मौलिक नाचको अभ्यासः
रोल्पाका त्रिवेणी, थबाङ, परिवर्तन, माडी, रोल्पा नगरपालिका, रुन्टीगढी, सुनिलस्मृति, गंगादेव, सुनछहरी लगायतका स्थानीय तहमा पनि परम्परागत नाचगानको अभ्यास भइरहेको छ । विभिन्न ठाउँमा सिँगारु, पैसारु, धोका तथा सरङ्गी नाच सिकाउने र प्रस्तुत गर्ने क्रम जारी छ ।
परिवर्तन गाउँपालिका–३ का दिलबहादुर डाँगीका अनुसार पुराना संस्कृति जोगाउने अभियानमा स्थानीय नागरिकको सहभागिता बढ्दै गएको छ । मौलिक नाचगानले सांस्कृतिक पहिचान जोगाउनुका साथै समाजमा देखिने विकृति र विसंगति न्यूनीकरण गर्नसमेत सहयोग पु¥याउने उनले बताए । “हामी पुराना संस्कृतिहरू बचाउन चाहन्छौँ। संस्कृतिसँगै नयाँ पुस्तालाई जोडेर नाचगान गर्ने हो भने समाजमा हुने अनावश्यक होहल्ला र विकृति अन्त्य गर्न पनि मद्दत पुग्छ,” उनले भने ।
लुङ्ग्री गाउँपालिका–२, तल्लो सिर्पका ७८ वर्षीय प्रेमी विकका अनुसार पुराना नाचका समूहमा युवाको सहभागिता पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ । विगतमा युवालाई समेट्न कठिन हुने गरेको भए पनि अहिले उनीहरू आफैँ अग्रसर भएर सिक्न थालेको उनले बताए ।
किताबका पानाबाट व्यवहारमा फर्किंदै संस्कृति
रोल्पा नगरपालिका–६ का स्थानीय तथा बालकल्याण नमुना माध्यमिक विद्यालयका शिक्षक धनसिंह विकका अनुसार विगतमा पुराना संस्कृतिबारे जानकारी दिन किताबका पानामा भएका विवरण देखाउनुपर्ने अवस्था थियो । अहिले भने समुदाय आफैँले परम्परागत रीतिरिवाजलाई व्यवहारमा उतार्न थालेको छ ।
तिहारमा पुराना गीतको तालमा नृत्य गर्ने, भैलो खेल्ने तथा परम्परागत बाजा बजाउने अभ्यासले सांस्कृतिक निरन्तरता कायम राख्न सहयोग पुगेको उनले बताए । उनका अनुसार विभिन्न सांस्कृतिक समूहले सामाजिक सेवामा पनि योगदान दिँदै आएका छन् । कतिपय स्थानमा मठमन्दिर निर्माण, सडक सुधार तथा खानेपानीका मुहान संरक्षणजस्ता काममा समूहले सहयोग गर्ने गरेको छ ।
उनका अनुसार संस्कृति संरक्षणसँगै सामाजिक विकासका गतिविधिमा समेत युवाको सहभागिता बढ्नु सकारात्मक परिवर्तन हो ।
सांस्कृतिक पहिचान जोगाउने साझा अभियान
रोल्पामा तिहारको अवसरमा भइरहेको परम्परागत नाचगानले सांस्कृतिक सम्पदाको संरक्षणका लागि समुदायस्तरमा नयाँ जागरण पैदा गरेको छ । वृद्धवृद्धाको अनुभव, युवाको उत्साह, स्थानीय समूहको सक्रियता र सरकारको चासोले पुस्तान्तरणको प्रक्रियालाई बलियो बनाएको छ । मौलिक गीत, नृत्य, बाजागाजा र भेषभूषा कुनै समुदायको पहिचान मात्र नभई ऐतिहासिक जीवनशैलीका अभिलेख पनि हुन् । तिनलाई निरन्तरता दिन नियमित प्रशिक्षण, सांस्कृतिक कार्यक्रम तथा स्थानीय तहको सहयोग आवश्यक देखिन्छ ।
तिहारको रमाइलोमा पुराना नाच समावेश गर्ने रोल्पालीहरूको प्रयासले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्ने अवसर प्रदान गरेको छ । पुर्खाले छोडेका सांस्कृतिक सम्पदालाई केवल चाडपर्वमा सीमित नराखी दैनिक सामाजिक जीवनको हिस्सा बनाउन सके यस्ता परम्पराले दीर्घकालीन निरन्तरता पाउने अपेक्षा गरिएको छ । रोल्पाका गाउँबस्तीमा गुञ्जिएका मादलका ताल र सिँगारुका भाकाले अहिले एउटा स्पष्ट सन्देश दिइरहेका छन्—संस्कृति संरक्षण पुस्ताको जिम्मेवारी मात्र होइन, सम्पूर्ण समुदायको साझा दायित्व हो ।