Butwal Today

प्राविधिक शिक्षाको पाठ्यक्रम परिमार्जन गर्न मुख्यमन्त्रीको जोड

१९ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योग तथा श्रम बजारको मागअनुसार प्राविधिक शिक्षाको पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताएका छन् । बजारको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्न नसक्दा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण घट्दै गएको उनको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बुधबार राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरेको प्राविधिक तथा व्यावसायिक सीप र निजी क्षेत्रको सीप आवश्यकतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्राविधिक शिक्षालाई उद्योग र श्रम बजारसँग जोड्नुपर्ने बताए ।

प्राविधिक शिक्षामा लगानी बढ्दै गए पनि शिक्षालयमा विद्यार्थीको आकर्षण घट्नु र कतिपय शिक्षालय बन्द हुने अवस्थामा पुग्नु चिन्ताजनक भएको उनले बताए । परम्परागत शिक्षण शैली र श्रम बजारको आवश्यकतासँग मेल नखाने पाठ्यक्रमका कारण प्राविधिक शिक्षाप्रति आकर्षण घटेको हुनसक्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री आचार्यले रोजगारीको खोजीमा रहेका युवालाई उद्यमशीलतासँग जोडेर दक्ष जनशक्तिमा रूपान्तरण गर्न प्रदेश सरकारले थप कार्यक्रम सञ्चालन गर्ने बताए । बजारको आवश्यकता पहिचान गरेर सोहीअनुसार पाठ्यक्रम निर्माण, सीप विकास तालिम र व्यावहारिक अभ्यासलाई प्राथमिकता दिनुपर्ने उनले उल्लेख गरे । लुम्बिनी प्रदेशमा विद्युतीय तथा मेकानिकल क्षेत्रका दक्ष जनशक्तिको माग करिब ५२ प्रतिशत रहेको अध्ययनले देखाएको छ । तर, प्राविधिक शिक्षालयबाट उत्पादन हुने जनशक्तिको सीप र उद्योगको वास्तविक आवश्यकताबीच तालमेल हुन नसकेको पाइएको छ ।

दक्ष तथा अनुभवी प्राविधिक जनशक्ति उपलब्ध नहुँदा उद्योगहरूले अन्य जिल्ला र भारतबाट जनशक्ति ल्याउनुपर्ने अवस्था रहेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् । उनीहरूले प्राविधिक शिक्षालय र उद्योगबीच समन्वय बढाउन, दक्ष प्रशिक्षकको व्यवस्था गर्न तथा सैद्धान्तिक शिक्षाभन्दा व्यावहारिक अभ्यासलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।

त्यस्तै, पढ्दै, सिक्दै र कमाउँदै कार्यक्रमलाई प्रभावकारी बनाउन तथा निजी क्षेत्रको सहभागितामा सीप विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि जोड दिइएको थियो । उद्योगमा आवश्यक पर्ने सीप पहिचान गरेर तालिम सञ्चालन गर्न सके उत्पादित जनशक्तिले सहजै रोजगारी पाउने र उद्योगले पनि आवश्यक जनशक्ति प्राप्त गर्ने उनीहरूको भनाइ थियो ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷८४ मा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टीभीईटी) क्षेत्रमा ४१ करोड ४९ लाख रूपैयाँ विनियोजन गरेको छ । विभिन्न मन्त्रालयमार्फत उक्त बजेट विनियोजन गरिएको कार्यक्रममा प्रस्तुत तथ्यांकमा उल्लेख छ ।

जसमध्ये सामाजिक विकास मन्त्रालयमा ३० करोड १४ लाख ५२ हजार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा ८ करोड ४७ लाख ३५ हजार, कृषि, भूमि तथा सहकारी मन्त्रालयमा २ करोड १७ लाख, युवा तथा खेलकुद मन्त्रालयमा ५२ लाख र वन तथा वातावरण मन्त्रालयमा १२ लाख रूपैयाँ विनियोजन गरिएको छ ।

प्रदेशको कुल जनसंख्यामा १५ देखि ६५ वर्ष उमेर समूहको हिस्सा ६४.९ प्रतिशत रहेको छ । प्रदेशको साक्षरता दर ७८.१ प्रतिशत र बेरोजगारी दर ७.५ प्रतिशत रहेको कार्यक्रममा प्रस्तुत तथ्यांकमा उल्लेख छ । प्रदेशको श्रमशक्तिमध्ये ६०.३ प्रतिशत कृषि, वन तथा मत्स्यपालन क्षेत्रमा, ३६.२ प्रतिशत सेवा क्षेत्रमा र ३.५ प्रतिशत औद्योगिक उत्पादन क्षेत्रमा संलग्न छन् ।

सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । मन्त्रालयका सचिव सुशीला अर्यालले स्वागत गरेको कार्यक्रममा वरिष्ठ शिक्षा अधिकृत बेगम केसीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवर, सामाजिक विकास मन्त्रालयको प्राविधिक शिक्षा महाशाखा प्रमुख हरिकला सारू र रूपन्देही उद्योग सङ्घका अध्यक्ष कृष्णप्रसाद पराजुलीले प्राविधिक शिक्षाको अवस्था, अवसर तथा निजी क्षेत्रको सीप आवश्यकताबारे प्रस्तुति राखेका थिए । कार्यक्रममा सरकारी निकाय, प्राविधिक शिक्षालय र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?