© 2026
बुटवल ।
नेपालीको महान पर्व तिहार (दीपावली) को अवसरमा बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले ‘दीपावली सडक खाना महोत्सव’ को तयारी गरेको छ । सङ्घले यही कात्तिक २० देखि २२ गतेसम्म बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगर स्थित सुक्रपथमा तीन दिने दीपावली सडक खाना महोत्सवको तयारी गरिएको सङ्घका महासचिव बसन्तप्रसाद ढकालले जानकारी दिए ।
सङ्घका अध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा मङ्गलवार बसेको कार्यसमिति बैठकले महोत्सव सञ्चालन तथा व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँड गरेको छ । बैठकले दीपावली सडक खाना महोत्सव सञ्चालन तथा व्यवस्थापन मूल समितिको संयोजकमा सङ्घका अध्यक्ष पौडेललाई जिम्मेवारी प्रदान गरेको हो । त्यस्तै निवर्तमान अध्यक्ष हरिप्रसाद अर्याललाई मूल्याङ्कन, वरिष्ठ उपाध्यक्ष सुरज भट्टराईलाई सहसंयोजक तथा उद्योग उपाध्यक्ष दिनेश श्रेष्ठ र वाणिज्य उपाध्यक्ष मुक्तिप्रसाद अधिकारीलाई उपसंयोजकको जिम्मेवारी प्रदान गरिएको महासचिव ढकाले जानकारी दिए ।
त्यसै गरी महासचिव ढकाललाई प्रशासन तथा समन्वय, कोषाध्यक्ष टिकाराम वञ्जाडेलाई आर्थिक व्यवस्थापन, सचिव दिपक चापागाईँलाई स्टल तथा पूर्वाधार व्यवस्थापन तथा सह कोषाध्यक्ष कमला पोखरेललाई सांस्कृतिक कार्यक्रम व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै कार्यसमिति सदस्यहरू रामबहादुर भण्डारीलाई सुरक्षा व्यवस्थापन, दीपक घिमिरेलाई ट्राफिक तथा पार्किङ व्यवस्थापन, विष्णुप्रसाद उपाध्यायलाई सरसफाइ व्यवस्थापन तथा लेखनाथ भण्डारीलाई स्टल व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ ।
अपराह्न ४ देखि राती १० बजेसम्म सञ्चालन गरिने दीपावली सडक खाना महोत्सवमा ५० स्टल राखिनेछ । महोत्सवमा स्थानीय, विभिन्न जातजातिका संस्कृतिसँग जोडिएका परम्परागत तथा रैथाने खानाका परिकारसँगै तिहारमा आवश्यक पर्ने खाद्यान्न, फूल माला तथा अन्य सामग्रीका स्टल राखिने सङ्घले जनाएको छ । यसले स्थानीय उत्पादन, परिकार र व्यवसायको प्रवर्द्धनसँगै उद्यमी तथा व्यवसायीलाई बजार विस्तारको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
दीपावलीको सांस्कृतिक र धार्मिक महत्वलाई संरक्षण तथा प्रवर्द्धन गर्दै स्थानीय कला, संस्कृति र परम्पराको पहिचान स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
एउटै स्थलमा खानाका विविध परिकार, तिहारका सामाग्री, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनका कार्यक्रम समेटिने भएकाले महोत्सवले चाडपर्वको रौनक बढाउनुका साथै बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधिलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ ।
तीन दिनसम्म सञ्चालन गरिने दीपावली सडक खाना महोत्सवमा कला संस्कृतिको संरक्षण गर्ने गरी देउसी भैलो प्रतियोगिता, लोकल ब्यान्ड तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ ।
सांस्कृतिक कार्यक्रम अन्तरगत महोत्सवको पहिलो दिन औपचारिक उद्घाटन कार्यक्रम पश्चात् देउसी भैलो प्रतियोगिता गरिने छ । त्यस्तै दोस्रो दिन लोकल ब्यान्डको प्रस्तुति रहनेछ भने तेस्रो दिन राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने पनि सङ्घले जनाएको छ ।