© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्रीको कार्यालय यातना गृहजस्तो बनिरहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको कार्यालयबाट आतंक सिर्जना गर्ने काम भइरहेको उनको आरोप छ ।
मंगलबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्तापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै आङदेम्बेले यस्तो बताएका हुन् ।
‘विचौलियाको बिगबिगी भइरहेको छ, सर्वत्र आतंक छ,’ कर्मचारीलाई कार्यस्थलबाटै नियन्त्रणमा लिएर यातना दिन थालिएको उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्री कार्यालय त झन् यातना गृहजस्तो भएको अनुभूति सबैले गर्न थालिसकेका छन् । यी सबै समस्याको निकास संसद् बैठकबाटै खोज्नुपर्छ ।’
केही दिनअघि प्रधानमन्त्री कार्यालयको निर्देशनमा सुनसरी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णकुमार रिजाललाई कार्यकक्षबाटै नियन्त्रणमा लिइएको थियो । उनलाई प्रधानमन्त्री कार्यालयमा पुर्याइएको थियो । त्यसक्रममा दबाब दिएर टेन्डर रद्द गर्न लगाइएको आरोपसमेत लागेको छ ।
सोही घटनालाई लक्षित गर्दै आङदेम्बेले प्रधानमन्त्री कार्यालयलाई यातना गृहको संज्ञा दिएका हुन् । यस विषयमा पनि सभामुख अर्यालसँग छलफल भएको उनले जानकारी दिए ।
त्यस्तै, न्यायालयसँग सम्बन्धित विषय पनि अहिले चर्चामा रहेको भन्दै उनले यी सबै विषयमा सभामुखसँग छलफल गरिएको बताए । समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल गर्दै संसद् बैठक आह्वान गर्न सभामुखसँग आग्रह गरिएको उनको भनाइ छ ।