© 2026
सिद्धार्थनगर ।
कोटहीमाई गाउँपालिकामा करिब २ हजार सर्वसाधारणलाई लक्षित गरी तीनदिने मेगा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको आयोजनामा कार्तिक १८ देखि २० गतेसम्म कोटहीमाई गाउँपालिका–५ स्थित आदर्श बहुमुखी क्याम्पस परिसरमा शिविर सञ्चालन हुन लागेको हो ।
शिविरमा कोटहीमाई, सम्मरीमाई र मर्चवारी क्षेत्रका नागरिकलाई लक्षित गरी विभिन्न विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरिने आयोजकले जनाएको मंगलबार भैरहवामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
शिविरमा आँखा परीक्षण, मोतिबिन्दुको पहिचान तथा आवश्यकताअनुसार निःशुल्क शल्यक्रिया, नाक, कान तथा घाँटीसम्बन्धी परीक्षण र उपचार, महिला स्वास्थ्य परीक्षण तथा जनरल फिजिसियनबाट स्वास्थ्य परीक्षण एवं परामर्श सेवा उपलब्ध गराइने आयोजकको भनाइ छ ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष तथा शिविर संयोजक गंगाधर भण्डारीले यस मानवीय अभियानमा सहभागी भई निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन सम्पूर्ण स्थानीय बासिन्दालाई आग्रह गरे । उनले ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताएका छन् । साथै, आवश्यकताअनुसार पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया तथा उपचारको व्यवस्था पनि गरिएको उनले जानकारी दिए ।
स्वास्थ्य सेवासँगै महिलाहरूलाई ४०० थान पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड तथा अशक्त र अपाङ्गता भएका व्यक्तिहरूलाई ४० थान ह्वीलचेयर वितरण गर्ने कार्यक्रमसमेत रहेको आयोजकले जानकारी दिएको छ ।
शिविर सञ्चालनका लागि रोटरी क्लब अफ पोखरा फिस्टेल र रोटरी ई–क्लब अफ मेडिको फ्युजनले सहकार्य गरेका छन् । अन्तर्राष्ट्रिय तथा विभिन्न संस्थागत सहयोगमा कार्यक्रम सञ्चालन हुन लागेको हो । आइपिडिजि रोटरियन विनोद कोइराला, रोटरी क्लब अफ पिटरबरो (क्यानडा), आइसिओ फाउन्डेसन (क्यानडा), पार्टनर्स इन पोसिबिलिटी फाउन्डेसन, स्नो लेपर्ड इन्टरनेसनल मेडिसिन तथा ग्लासवाटर फाउन्डेसनलगायत संस्थाबाट आर्थिक तथा संस्थागत सहयोग प्राप्त भएको जनाइएको छ ।
शिविरमा मातृका आई केयर काठमाडौं, एएमडीए अस्पताल बुटवल, भरतपुर क्यान्सर अस्पताल तथा लुम्बिनी नेत्रालय भैरहवाका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहनेछ । कार्यक्रम सञ्चालनमा कोटहीमाई गाउँपालिका वडा नं. ५ का अध्यक्ष संजय कुमार सैनी तथा वडा कार्यालयको विशेष सहयोग र समन्वय रहेको छ ।
तीन दिनसम्म सञ्चालन हुने शिविरबाट स्थानीय नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अवसर पाउने अपेक्षा गरिएको छ ।