© 2026
नेपालगञ्ज ।
कुनै समय घर आँगन सजाउन र पूजा आजाका लागि मात्रै रोपिने फूल अहिले बाँके जिल्लामा व्यावसायिक आम्दानीको माध्यम बन्दै गएको छ । फूलको बढ्दो माग, बजारमा बिक्रीको सम्भावना र स्वदेशमै स्वरोजगार बन्ने चाहनाले बाँकेका पुराना पुष्प व्यवसायीदेखि नयाँ पुस्ताका युवासम्मलाई फूलखेतीले आकर्षित गरेको छ ।
तिहार नजिकिँदै गर्दा बाँकेका विभिन्न गाउँका खेतबारी सयपत्री फूलले पहेँलपुर बनेका छन् । यो वर्ष बाँकेमा करिब ६० कठ्ठा क्षेत्रफलमा व्यावसायिक रूपमा फूलखेती गरिएको छ । तर, उत्पादनको क्षेत्रफल बढ्दै गएपनि तिहारमा उपभोक्ताको माग धान्न सक्ने अवस्था भने छैन् । विशेषगरी लक्ष्मीपूजाको दिन सयपत्री फूल र मालाको माग अत्याधिक हुने भएकाले जिल्लाभित्रको उत्पादनले मात्रै बजार धान्न नसक्ने पुष्प व्यवसायीहरू बताउँछन् । स्थानीय उत्पादन अपुग भएपछि दाङ, कैलालीको टीकापुर लगायतका स्थानबाट फूल ल्याएर बिक्री गर्नुपर्ने अवस्था छ ।
नेपालगञ्जमा करिब एक दशकदेखि पुष्प व्यवसाय गर्दै आएकी विन्दु चर्तीका अनुसार बाँकेमा यो वर्ष नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुर र राप्ती सोनारी लगायतका क्षेत्रमा तिहारलाई लक्षित गरी सयपत्री फूलखेती गरिएको छ । चर्तीले भनिन– “बाँकेमा फूलको माग निकै ठूलो छ । लक्ष्मीपूजाको दिन मात्रै करिब एक हजार क्विन्टल फूल तथा माला खपत हुने अनुमान छ । यहाँ उत्पादन भएको फूलले माग धान्न नसकेपछि दाङ र टीकापुरबाट समेत ल्याउनुपर्ने हुन्छ ।
उनका अनुसार यस वर्ष किसानहरूले टेनिस बल, कलकत्ते र ग्ल्याडोलस जातका फूल लगाएका छन् । तिहारमा सयपत्री फूलको माग बढी हुने भएपनि पछिल्लो समय विभिन्न जात र रङका फूलप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ ।
किसानपनि जोडिँदै
बाँकेमा व्यावसायिक पुष्पखेतीको चर्चा हुँदा विन्दु चर्ती, विष्णु चौधरी र निशा पाण्डेजस्ता व्यवसायीको नाम अगाडि आउने गरेको छ । उनीहरूले लामो समयदेखि फूलखेती र यसको बजारीकरणमा काम गर्दै आएका छन् । तर, अहिले उनीहरूको प्रयास आफ्नै खेतमा फूल उत्पादन गरेर बिक्री गर्नेमा मात्र सीमित छैन । नयाँ किसानलाई फूलखेतीमा आकर्षित गर्ने, बिरुवा उपलब्ध गराउने र उनीहरूले उत्पादन गरेका फूल बजारसम्म पु¥याउन सहयोग गर्ने काममा समेत उनीहरू सक्रिय छन् ।
चर्तीले यस वर्ष बाँकेका किसानलाई ७० हजारभन्दा बढी सयपत्रीका बिरुवा बिक्री गरेको बताइन् । उनले उत्पादन गरेका बिरुवा नरैनापुर, खजुरा र राप्ती सोनारीका किसानले लगाएका छन् । अहिले तिनै बिरुवाबाट उत्पादन भएका फूल किसानहरूले बिक्रीका लागि उनको पसलसम्म ल्याउन थालेका छन् ।
पहिले सीमित व्यवसायीमा केन्द्रित रहेको फूलखेती अहिले विभिन्न गाउँका किसानसम्म पुग्न थालेको छ । बिरुवा उत्पादन गर्ने, खेती गर्ने, सङ्कलन गर्ने र बिक्री गर्नेगरी यस क्षेत्रमा नयाँ व्यावसायिक सम्बन्ध समेत विकास हुँदै गएको छ ।
कोहलपुर क्षेत्रमा लामो समयदेखि निरन्तर दुई बिघा क्षेत्रफलमा फूलखेती गर्दै आएकी विष्णु चौधरीले यस वर्ष भने पाँच कठ्ठामा मात्रै खेती गरेकी छन् । उनले पनि नयाँ किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले फूल बिक्री केन्द्रका रूपमा पसल सञ्चालन गर्नुका साथै विभिन्न जातका फूलको नर्सरी स्थापना गरेकी छन् ।
उनको बुझाइमा फूलखेती विस्तार गर्न उत्पादन मात्रै पर्याप्त हुँदैन । किसानले सहजरूपमा बिरुवा पाउने, उत्पादन भएको फूल बिक्री हुने र बजारको सुनिश्चितता हुने वातावरण पनि आवश्यक छ । त्यसैले नयाँ किसानलाई बिरुवा र बजारसँग जोड्ने प्रयास भइरहेको छ ।
व्यावसायिक सम्भावना प्रशस्तै
बाँकेमा फूल खेतीको विस्तारसँगै फरक पेसा र व्यवसायमा आबद्ध युवाहरू पनि यस क्षेत्रमा जोडिन थालेका छन् । यसको उदाहरण बनेका छन् नेपालगञ्जका तीन युवा—सुभाषजङ्ग शाह, कीर्तीराज दीक्षित र सुशीलकुमार मौर्य । उनीहरूले बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा दुई बिघा क्षेत्रफलमा यस वर्षदेखि सामूहिक रुपमा व्यावसायिक सयपत्री खेती सुरु गरेका छन् । तिहारलाई लक्षित गरेर लगाइएको फूल अहिले खेतभरि ढकमक्क फुलेको छ । उत्पादन बिक्रीसमेत सुरु भइसकेको छ ।
फरक–फरक पेसा तथा व्यवसायमा संलग्न उनीहरूले नेपालगञ्जमा फूलको बढ्दो माग देखेर सामूहिक लगानीमा खेती सुरु गरेका हुन् । उनीहरुको उद्देश्य आफ्नै उत्पादनबाट स्थानीय बजारको माग पूरा गर्नुका साथै फूल खेतीलाई व्यवस्थित व्यवसायका रुपमा विकास गर्नु हो ।
सुभाषजङ्ग शाहका अनुसार अहिले उत्पादित फूल बिक्री भइरहेको छ । ग्राहकलाई सहज बनाउन होम डेलिभरी सेवा पनि सञ्चालन गरिएको छ । “नेपालगञ्जमा फूलको माग धेरै भएकाले त्यसलाई लक्षित गरेर खेती सुरु गरेका हौँ । अहिले फूल तयार भइसकेको छ र बिक्री पनि भइरहेको छ । तिहारमा सहरका मुख्य चोकहरूमा बिक्री केन्द्र स्थापना गरेर फूल तथा माला बिक्री गर्ने तयारीमा छौँ,” शाहले भने ।
नरैनापुरको मटेहियामा सुरु गरिएको यो सामूहिक खेतीले स्थानीय स्तरमा व्यावसायिक कृषिको नयाँ सम्भावना देखाएको छ । पर्याप्त जमिन, बजारको माग र युवाको सक्रियता जोडिन सके कृषिलाई आधुनिक व्यवसायका रूपमा अघि बढाउन सकिने उनीहरूको अनुभव छ ।
कृषि पढेका युवाको ‘फिट फार्म’
नेपालगञ्ज उपमहानगरपालिका–१९ लग्दह्वामा पनि युवाहरूले व्यावसायिक फूलखेती सुरु गरेका छन् । कृषि विषयमा स्नातक गरेका अशिम सिग्देलको नेतृत्वमा तीन जना युवाले मिलेर ‘फिट फार्म’ सञ्चालनमा ल्याएका हुन् ।
उनीहरूले वार्षिक एक लाख रुपैयाँ भाडा तिर्ने गरी १० कठ्ठा जमिन लिजमा लिएर सयपत्री फूलखेती गरेका छन् । सीमित जमिनबाट सुरु गरिएको यो प्रयासलाई आगामी वर्ष थप क्षेत्रफलमा विस्तार गर्ने उनीहरूको योजना छ । सिग्देलका अनुसार तीनजना साथी मिलेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले फार्म स्थापना गरिएको हो । फूलखेतीबाट प्राप्त अनुभव र बजारको अवस्थालाई हेरेर आगामी दिनमा थप लगानी गर्ने तयारी भइरहेको उनले बताए ।
“हामी स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले तीन जना साथी मिलेर फिट फार्म सञ्चालन गरेका हौँ । यस वर्षको अनुभव र बजारको मागलाई हेरेर आगामी वर्षदेखि खेती विस्तार गर्ने योजना बनाएका छौँ,” उनले भने ।
फिट फार्मको योजना सयपत्री फूलमा मात्रै सीमित छैन । फूलको सिजन सकिएपछि कटिङ्ग गुलाब खेती गर्ने तथा थप जमिन उपलब्ध भए स्ट्रबेरी र खरबुजा उत्पादन गर्ने तयारीसमेत उनीहरूले गरेका छन् ।
“हामी सयपत्रीमा मात्रै सीमित रहँदैनौँ । काम राम्रो हुँदै गयो भने यही फार्ममार्फत थप फूलखेती र अन्य नगदेबालीको उत्पादन पनि विस्तार गर्नेछौँ,” सिग्देलले बताए ।
गत वर्षको आम्दानीले निरन्तरता
कोहलपुर नगरपालिका–१३ खड्गवार नयाँबस्तीका युवा व्यवसायी जयबहादुर बस्नेतले यस वर्ष पनि १४ कठ्ठा क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन् । गत वर्ष फूल बिक्रीबाट राम्रो आम्दानी भएपछि उनले यस वर्ष पनि खेतीलाई निरन्तरता दिएका हुन् ।
गत वर्ष तिहारअघि नै आफूले उत्पादन गरेको ११ क्विन्टल फूल बिक्री भएको बस्नेतले बताए । बजारमा माग उच्च रहेकाले आफ्नै उत्पादन सकिएपछि सुर्खेतबाट समेत फूल मगाएर बिक्री गर्नुपरेको उनको अनुभव छ ।
यस वर्ष पनि फूलको माग अनुसार उत्पादन गर्न नसकिएको उनी बताउँछन् । उनका अनुसार तिहारका बेला फूलको बजार सुनिश्चित हुने भएकाले किसानलाई व्यावसायिक रूपमा यस क्षेत्रमा लाग्न प्रोत्साहन मिलेको छ ।
बस्नेतको अनुभवले फूलखेतीमा बजारको सम्भावना भएपनि उत्पादन बढाउन आवश्यक पूर्वाधार, बिरुवा, प्राविधिक ज्ञान र खेतीयोग्य जमिनको व्यवस्थापन उत्तिकै महत्वपूर्ण रहेको देखाउँछ ।
विद्यार्थी पनि फूल खेतीमा
फूल खेतीको आकर्षण किसान र युवामा मात्रै सीमित छैन । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थित लक्ष्मी माध्यमिक विद्यालय मदुईका कृषि विषय अध्ययन गर्ने विद्यार्थी पनि तिहारलाई लक्षित गरेर सयपत्री फूलखेतीमा जुटेका छन् ।
विद्यालयले यस वर्ष पाँच कठ्ठा क्षेत्रफलमा फूलखेती गरेको छ । अहिले विद्यालयको मातहातमा रहेको जग्गामा लगाइएका सयपत्री फूल ढकमक्क फुलेका छन् । विद्यालयका प्रधानाध्यापक लक्ष्मण आचार्यका अनुसार विद्यार्थीलाई कृषि शिक्षासँगै व्यवहारिक सीप प्रदान गर्ने उद्देश्यले फूलखेती गरिएको हो ।
पुस्तकमा पढेको कृषि ज्ञानलाई खेतबारीमा प्रयोग गर्ने अवसर पाउँदा विद्यार्थीले खेतीको प्रक्रिया, उत्पादन र बजारीकरणबारे प्रत्यक्ष अनुभव हासिल गर्न सक्ने विद्यालयको अपेक्षा छ । यसले कृषिलाई केवल परम्परागत पेसाका रूपमा नभई सम्भावनायुक्त व्यवसायका रूपमा बुझ्न पनि सहयोग पुर्याउनेछ ।