© 2026
चन्द्रौटा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका-३ भक्तौलीका नारायण अर्यालको बारी यतिबेला सयपत्री फूलले पहेँलपुर बनेको छ । पाँच कट्ठा जमिनमा लगाइएको फूल टिप्ने, माला उन्ने र बजार पठाउने काममा उनलाई हम्मेहम्मे छ ।
पाँच वर्षअघि परम्परागत धान खेती छाडेर फूल खेतीमा लागेका अर्यालले यस वर्ष तीन हजार बेर्ना रोपेका छन् । मेरी गोल्ड ५५५ जातका बेर्ना साउनको अन्तिम सातामा उनले रोपेका थिए । कात्तिकको पहिलो सातादेखि उत्पादन दिन थालेको फूल २ दिनको अन्तरमा टिपेर माला बनाउने गरेको उनको भनाइ छ । भारतबाट तिहारमा ठूलो परिमाणमा फूल आयात हुने गरेको समाचार पढेपछि आफ्नै ठाउँमा फूल उत्पादन गर्ने सोच आएको अर्याल बताउँछन् ।
“नेपालमै फूल उत्पादन गरेर बजारको माग पूरा गर्न सकिन्छ भन्ने लागेर खेती सुरु गरेको हुँ,” उनले भने । रहरले सुरु गरेको फूल खेती अहिले अर्यालका लागि व्यावसायिक आम्दानीको माध्यम बन्दै गएको छ । तिहारसँगै विवाहको सिजन सुरु भएपछि सयपत्रीको माग बढेको छ । आफ्नै माटोमा मेहनत गरे कृषिमा नयाँ सम्भावना खोज्न सकिन्छ भन्ने उदाहरणको रुपमासमेत अर्यालले प्रस्तुत गरेका छन् ।