Butwal Today

विद्यार्थीले रोपेका फूल तिहारमा बिक्रीका लागि तयार

१४ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

बुटवल । रूपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ कलौनीस्थित सहिद नारायण पोख्रेल रामापुर क्याम्पसका विद्यार्थीले उत्पादन गरेको फूलको माला बिक्रीका लागि तयार भएका छन् ।

क्याम्पसका बिबिएस चौथो बर्षका विद्यार्थीले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत गरेको फूल खेतीले अहिले परिणाम दिएको छ । क्याम्पसका विद्यार्थीहरूले पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत गत साउन १ गते रोपेका एक हजार फूल अहिले बिक्रीका लागि तयार भएका हुन् ।

७१ जना विद्यार्थीको सामूहिक पहलमा सुरु गरिएको फूल खेतीले पढाइलाई व्यवहारिक सीप, उद्यमशीलता र आयआर्जनसँग जोड्ने प्रयास गरेको छ ।

क्याम्पसका विद्यार्थी विष्णु ढकालले सिक्दै कमाउँदै भन्ने अवधारणा अन्तर्गत सुरु गरिएको कार्यक्रमले विद्यार्थीलाई कृषि तथा उद्यमशीलतातर्फ आकर्षित गर्नुका साथै अध्ययनकै क्रममा सीप हासिल गरी आयआर्जन गर्न सकिने विश्वास दिलाएको बताए ।

क्याम्पस प्रमुख हेमबहादुर थापाले अध्ययनसँगै कृषि तथा उद्यम गर्ने सोचलाई प्रोत्साहन गर्ने उद्देश्यले अघि बढाइएको फूल खेतीको कार्यक्रमले विद्यार्थीका लागि आम्दानीसंगै सिकाइको नयाँ माध्यम बनेको बताए ।

यसैगरी बुटवल उपमहानगरपालिकाले तिहार तथा छठ पर्वमा प्लास्टिकजन्य फूलमाला प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको छ । वातावरण प्रदूषण न्यूनीकरण तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले उपमहानगरपालिकाले स्थानीय रूपमा उत्पादित फूल तथा मालाको प्रयोग गर्न अनुरोध गरेको हो ।

नगर प्रमुख खेलराज पाण्डेयले सार्वजनिक अपिल जारी गर्दै नेपालीहरूको महान् पर्व शुभ दीपावली (तिहार) तथा छठ पर्वका अवसरमा प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह गरे ।

प्लास्टिकजन्य फूल तथा मालाको प्रयोगले वातावरण प्रदूषित हुनुका साथै मानव स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिन उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

तिहारमा घर, पसल तथा विभिन्न स्थान सजाउन फूलमालाको प्रयोग गर्ने परम्परा छ । यस्तो समयमा प्लास्टिकका कृत्रिम फूलमालाभन्दा स्थानीय रूपमा उत्पादित प्राकृतिक फूलको प्रयोग गर्न सके वातावरण संरक्षणमा सहयोग पुग्ने उपमहानगरपालिकाको अपेक्षा छ ।

उपमहानगरपालिकाले तिहार तथा छठ पर्वमा स्थानीय किसानले उत्पादन गरेका फूल तथा मालाको प्रयोग गर्न आग्रह गर्दै स्थानीय उत्पादनको प्रवद्र्धनमा सबै नगरवासीको सहयोग आवश्यक रहेको जनाएको छ ।

नगर प्रमुख पाण्डेयद्वारा जारी अपिलमा सबै नगरवासी, आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीलाई तिहार तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै वातावरणमैत्री पर्व मनाउन अनुरोध गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?