© 2026
सल्यान।
सल्यानको दोश्रो अग्लो लेख कुमाखमा लाग्ने मेला दसैँको टीका र जमरापछि आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने, परम्परागत संस्कृति र मौलिकता अनुभव गर्ने अनि धार्मिक आस्था प्रकट गर्ने अवसर बनेको छ । समुद्री सतहबाट करिब दुई हजार ५३७ मिटर उचाइमा रहेको जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कुमाख लेकमा कोजाग्रत पूर्णिमाको अवसरमा सोमबार हजारौँ भक्तजन तथा पर्यटकको घुइँचो लागेको थियो ।
सल्यानका विभिन्न स्थानसँगै छिमेकी जिल्ला रुकुम, रोल्पा, जाजरकोट र दाङबाट समेत मानिसहरू मेला भर्न आउने गर्दछन । धार्मिक पूजाआजा, प्राकृतिक सौन्दर्यको अवलोकन, स्थानीय परिकारको स्वाद र आफन्त सँगको भेटघाटले कुमाख लेकलाई यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा सामाजिक जमघटको केन्द्र बनाएको छ ।
सिद्ध कुमाख र कुमाख गाउँपालिकाको बीचमा अवस्थित कुमाख लेकको चुचुरोमा सिद्ध बाबाको मन्दिर छ । मन्दिरको काखैमा रहेको प्राकृतिक सिद्ध गुफा यहाँको अर्को प्रमुख आकर्षण हो । दसैँपछिको चतुर्दशी र कोजाग्रत पूर्णिमाका अवसरमा यहाँ विशेष पूजाआजा हुने र परम्परागत मेला लाग्ने गर्छ ।

सात पटक मन्दिर परिक्रमा, मनोकांक्षा पूरा हुने विश्वास
कुमाख लेकमा लाग्ने मेलाको मुख्य आकर्षण सिद्ध बाबाको मन्दिरमा गरिने पूजाआजा हो । पहिलोपटक मन्दिर दर्शन गर्न पुग्ने भक्तजनले मन्दिरको सात पटक परिक्रमा गरी आफूले चिताएको मनोकांक्षा पूरा होस् भन्दै वर माग्ने धार्मिक परम्परा छ । भाकल गरेका भक्तजनले आफ्नो विश्वास र परम्पराअनुसार पूजाआजा तथा बलिसमेत चढाउने गर्छन् ।
सिद्ध बाबाको दर्शन गरी मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण कोजाग्रत पूर्णिमाको दिन मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गरेको मन्दिरका पुजारी शेरबहादुर डाँगीले बताए ।
“पूजाआजा गरेर बर मागे मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । यही विश्वास र परम्पराका कारण हरेक वर्ष कोजाग्रत पूर्णिमामा टाढाटाढाबाट भक्तजन दर्शनका लागि आउने गर्छन्,” उनले भने । मन्दिर दर्शनसँगै पहाडको भित्री भागमा रहेको करिब १५० मिटर लामो प्राकृतिक सिद्ध गुफा पनि भक्तजन तथा पर्यटकको आकर्षणमा परेको छ । गुफाको अवलोकन तथा दर्शन गर्न पुग्नेहरूको उपस्थितिले कुमाख लेकको धार्मिक महत्त्वसँगै प्राकृतिक विशेषतालाई समेत उजागर गरेको छ ।

मेलामा पूजाआजासँगै आफन्त भेट्ने अवसर
कुमाख लेकको मेला धार्मिक अनुष्ठानमा मात्र सीमित नरहेको स्थानियहरु बताउँछन् । दसैँ मनाउन विभिन्न ठाउँ तथा परदेशबाट घर फर्किएका मानिसका लागि यो मेला आफन्त, इष्टमित्र र पुराना साथीभाइसँग भेटघाट गर्ने साझा थलोसमेत बन्नेगरेको छ ।
वर्षौँपछि भेटिएका आफन्त र साथीभाइबीच सुखदुःख साटासाट गर्ने, पुराना सम्झना ताजा बनाउने र आपसी सम्बन्ध नवीकरण गर्ने अवसरका रूपमा पनि स्थानीयले यस मेलालाई लिने गरेका छन् । गाउँघरमा दसैँको उत्सवलाई पूर्णता दिने सांस्कृतिक परम्पराका रूपमा स्थापित यो मेलाले सामाजिक सद्भाव र सामुदायिक सम्बन्धलाई निरन्तरता दिन सहयोग पुर्याउँदै आएको छ ।
सिद्ध मन्दिरभन्दा करिब एक किलोमिटर तल जिमालीतर्फको समथर मैदानमा मेलाको मुख्य गतिविधि सञ्चालन भइरहेको छ । यहाँ स्थानीय मौलिक लोकसंस्कृति झल्काउने प्रस्तुति तथा मनोरञ्जनात्मक गतिविधि समेत आयोजना गरिन्छन् । धार्मिक वातावरण, सांस्कृतिक प्रस्तुति र आफन्तसँगको जमघटले मेलामा पुगेका मानिसलाई फरकफरक अनुभव प्रदान गर्दछ ।
कुमाख मेलाले स्थानीय उत्पादन तथा परम्परागत परिकारको बजारीकरण गर्ने अवसर समेत सिर्जना गरेको छ । मेलामा बदाम, केरा जस्ता स्थानीय कृषि उपज र परम्परागत खानेकुराको व्यापार हुनेगरेको छ। ठूलो संख्यामा मानिसको आवागमन हुने भएकाले स्थानीय व्यवसायी तथा व्यापारीका लागि मेला बिक्रीवितरण बढाउने अवसर बनेको छ ।

सडक र पदमार्ग विस्तारसँगै पर्यटनको सम्भावना
पछिल्ला वर्षमा कुमाख लेकसम्म पुग्ने सडक सञ्जाल विस्तार हुनु र मन्दिर रहेको चुचुरोसम्म पुग्ने पदमार्ग निर्माण तथा सुधार हुनुले भक्तजन र पर्यटकको आवागमन सहज बनाएको छ । मन्दिरको समेत स्तरवृद्धि गरिएको छ । यसले धार्मिक दर्शनका लागि पुग्ने मानिससँगै प्राकृतिक दृश्यावलोकनमा रुचि राख्ने आन्तरिक पर्यटकलाई आकर्षित गर्न सहयोग पुर्याएको छ ।
कुमाखको चुचुरोबाट हिमशृङ्खला सहित विभिन्न १५ भन्दा बढी जिल्लाका भूभाग अवलोकन गर्न सकिने भएकाले यसको पर्यटकीय सम्भावना उच्च रहेको मन्दिर तथा मेला व्यवस्थापन समितिका अध्यक्ष खिम डिसीले बताए ।
उनका अनुसार सडक तथा पदमार्गको पहुँच विस्तार र प्राकृतिक दृश्यको आकर्षणका कारण कुमाख लेकमा आन्तरिक पर्यटकको चाप बर्सेनि बढ्दै गएको छ ।
प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक परम्परा र स्थानीय संस्कृतिको संयोजन रहेको कुमाख लेकलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके सल्यानको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने देखिन्छ । त्यसका लागि पहुँचमार्गको निरन्तर सुधारसँगै पर्यटकका लागि आवश्यक आधारभूत सुविधा, सरसफाइ, फोहोर व्यवस्थापन र धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षणमा ध्यान दिनुपर्ने सरोकारवालाहरु बताउँछन् ।