© २०२३
बुटवल, २८ माघ ।
मन्त्रालय नटुंगिदै लुम्बिनी प्रदेशमा विनाविभागीय मन्त्री बनेकी माओवादी केन्द्रकी नेतृ कृष्णा केसीले राजीनामा दिएकी छन् ।
राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनमा साझा उम्मेदवार कुमार दसौदीलाई मतदान नगरी काँग्रेस उम्मेदवारलाई सघाएको भन्दै माओवादीले छानविन गरिरहेका बेला उनले राजीनामा दिएकी हुन् ।
मन्त्री केसीले बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाएको मुख्यमन्त्री निकट स्रोतले बताएको छ । माओवादी स्रोतले पनि उनले राजीनामा दिएको पुष्टि गरेको छ ।
माओवादी स्रोतका अनुसार उनलाई राजीनामा गर्न लगाइएको हो । केसी निकट स्रोतका अनुसार मन्त्रालयको भागबण्डाको विषयलाई लिएर मन्त्री केसीले राजीनामा दिएकी हुन् । मन्त्री बनेकी केसीले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेकी थिइन् । तर उनलाई आन्तरिक मामिला, कानुन मन्त्री बनाउने तयारी भएपछि राजीनामा बुझाएको उनीनिकट स्रोतको दावी छ ।
भौतिक पूर्वाधार मन्त्रालय माओवादीकै इन्द्रजित थारुलाई दिने मुख्यमन्त्रीको तयारी छ । माओवादीका नेता एवं प्रदेश सभा सदस्य इन्द्रजित थारुले भने राजीनामाको विषय पार्टीमा जानकारी नआएको प्रतिक्रिया दिए । मुख्यमन्त्री गिरीले आइतबार मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।