Butwal Today

बुटवलमा घरेलु हिंसाका उजुरी बढी

६ आश्विन २०८३, मंगलवार
अ+
अ-

बुटवल । रूपन्देहीमा भदौ महिनामा घरेलु हिंसासम्बन्धी ८१ वटा उजुरी परेका छन् । तीमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकाका २२ वटा उजुरी रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । प्रहरीका अनुसार बुटवलका उजुरी जिल्लामा परेका कुल घरेलु हिंसासम्बन्धी उजुरीको करिब एकचौथाइ हो । त्यसपछि सिद्धार्थनगर नगरपालिकाबाट १७ वटा उजुरी परेका छन् ।

स्थानीय तहगत विवरणअनुसार मायादेवी गाउँपालिकामा ८, ओमसतिया गाउँपालिका र तिलोत्तमा नगरपालिकामा ७ ७, रोहिणी गाउँपालिकामा ५ तथा लुम्बिनी सांस्कृतिक र देवदह नगरपालिकामा ३–३ वटा उजुरी परेका छन् ।

त्यसैगरी सैनामैना नगरपालिका, मर्चवारी, कोटहीमाई र गैडहवा गाउँपालिकाबाट २ २ वटा तथा शुद्धोधन गाउँपालिकाबाट एउटा उजुरी परेको प्रहरीले जनाएको छ । सम्मरीमाई, सियारी र कञ्चन गाउँपालिकाबाट भने भदौ महिनामा घरेलु हिंसासम्बन्धी उजुरी परेको छैन ।

प्रहरीमा दर्ता भएका उजुरीमध्ये घरायसी झै–झगडासम्बन्धी घटना सबैभन्दा धेरै छन् । भदौमा घरायसी झै–झगडाका ४५ वटा उजुरी परेका छन् । मादक पदार्थ सेवन गरी गालीगलौज गरेको भन्दै ११, कुटपिट तथा घाउ जाँचसम्बन्धी १०, विवाह दर्ता तथा नागरिकता नबनाइदिएको विषयमा ८ र घरमा खान–बस्न नदिएको भन्दै ७ वटा उजुरी परेको तथ्यांकमा उल्लेख छ ।

प्रहरीका अनुसार दर्ता भएका उजुरीमध्ये ७० वटा मिलापत्रबाट टुंगिएका छन् भने १३ वटा अदालत पठाइएको छ । ११ वटा उजुरी प्रक्रियामा रहेका छन् ।जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले घरेलु हिंसासम्बन्धी उजुरीमा कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाउने गरिएको बताए । मिलापत्र हुन सक्ने प्रकृतिका घटनामा दुवै पक्षलाई राखेर छलफल तथा सहजीकरण गर्ने गरिएको उनले जानकारी दिए ।

उमेर समूहका आधारमा १९ देखि ५९ वर्ष उमेर समूह घरेलु हिंसाबाट बढी प्रभावित देखिएको प्रहरीको तथ्यांक छ । उक्त उमेर समूहमा ७९ जना पीडित र ७८ जना पीडक रहेको विवरणमा उल्लेख छ । ६० वर्षभन्दा माथिका २ जना पीडित र ३ जना पीडक रहेको प्रहरीले जनाएको छ ।

घरेलु हिंसाका अतिरिक्त महिला तथा छिमेकीबीच हुने झै–झगडासम्बन्धी ठाडो निवेदन पनि प्रहरीमा पर्ने गरेका छन् । भदौ महिनामा त्यस्ता ५१ वटा निवेदन परेकोमा ४४ वटा मिलापत्रबाट टुंगिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १४६ वटा मुद्दा दर्ता भएका छन् । घरेलु हिंसासम्बन्धी उजुरी पनि ती घटनामध्ये एक प्रमुख हिस्सा रहेको प्रहरीको तथ्यांकले देखाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?