Butwal Today

रेडियोलोजिस्ट नहुँदा अस्पतालको सेवा प्रभावित

३१ भाद्र २०८३, बुधबार
अ+
अ-

नवलपरासी । पश्चिम नवलपरासीको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा रेडियोलोजी विशेषज्ञ चिकित्सक नहुँदा एक्स–रे, अल्ट्रासाउन्डलगायतका परीक्षणबाट बिरामीले अपेक्षित सेवा पाउन सकेका छैनन् ।

तीन महिनादेखि रेडियोलोजिस्टको अभाव भएपछि रोग पहिचानका लागि गरिने परीक्षणको विशेषज्ञ मूल्याङ्कन तथा रिपोर्टिङ प्रभावित भएको हो । अस्पतालमा रेडियोलोजीसम्बन्धी आवश्यक उपकरण रहे पनि त्यसबाट प्राप्त तस्बिर तथा परीक्षणको विशेषज्ञ व्याख्या गर्ने चिकित्सक नहुँदा बिरामीलाई अन्य अस्पताल तथा निजी स्वास्थ्य संस्थामा जानुपर्ने अवस्था आएको अस्पताल विकास समितिले जनाएको छ ।

सङ्घीय सरकारअन्तर्गत गजेन्द्रनारायण अस्पतालमा दरबन्दी रहेका रेडियोलोजी विशेषज्ञ चिकित्सक डा. प्रकाश ढकाल काजमा पृथ्वीचन्द्र अस्पतालमा कार्यरत थिए । सङ्घीय सरकारले काज फिर्ता गरेपछि अस्पताल रेडियोलोजिस्टविहीन बनेको अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीले बताए ।

अध्यक्ष चौधरीका अनुसार सङ्घीय सरकारको दरबन्दीमा रहेका तर प्रदेश सरकारअन्तर्गतका अस्पतालमा काम गरिरहेका कर्मचारीलाई सङ्घीय कार्यालयमा फिर्ता बोलाउने निर्णयपछि पृथ्वीचन्द्र अस्पतालमा समस्या उत्पन्न भएको हो ।

“अस्पतालमा १२ जना विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् । तर उहाँहरूलाई पनि बिरामीको रोग पहिचानका लागि रेडियोलोजिस्टको आवश्यकता पर्छ,” उनले भने, “रेडियोलोजिस्ट नहुँदा विशेषज्ञ चिकित्सकले उपचार गर्नसमेत समस्या भइरहेको छ ।”

रेडियोलोजिस्टको व्यवस्था गर्न प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको उनले बताए । सङ्घीय सरकारले काज फिर्ता भएका चिकित्सक तथा कर्मचारीलाई आवश्यकताअनुसार पुनः प्रदेशअन्तर्गत पठाउन सक्ने गरी निर्णय पुनरावलोकन गरेको जानकारी आएको भए पनि हालसम्म अस्पतालमा रेडियोलोजिस्टको व्यवस्था हुन नसकेको उनको भनाइ छ ।

अस्पतालका प्रमुख वृजकुमार यादवले पनि रेडियोलोजिस्टको अभावले सेवा प्रभावित भएको स्वीकार गरे । उनका अनुसार अस्पतालमा उपचारका लागि आउने धेरै बिरामीलाई रोगको अवस्था पहिचान गर्न एक्स–रे, अल्ट्रासाउन्डलगायतका परीक्षण आवश्यक पर्ने गर्छ । तर परीक्षणको विशेषज्ञ मूल्याङ्कन र रिपोर्टिङका लागि रेडियोलोजिस्ट नहुँदा कतिपय बिरामीलाई थप सेवा लिन अन्यत्र पठाउनुपर्ने अवस्था छ ।

“अस्पतालमा इमेजिङ सेवा सञ्चालनका लागि आवश्यक उपकरण छन् । तर त्यसबाट प्राप्त परीक्षणको विशेषज्ञ मूल्याङ्कन र रिपोर्टिङ गर्न रेडियोलोजिस्ट आवश्यक पर्छ,” अस्पताल प्रमुख यादवले भने, “यसका लागि अस्पताल व्यवस्थापन र प्रशासन दुवै तहबाट पहल भइरहेको छ ।”

रेडियोलोजिस्ट नहुँदा सामान्य परीक्षणका लागि समेत बिरामीले थप समय र खर्च व्यहोर्नुपरेको स्थानीयको गुनासो छ । सरकारी अस्पतालबाट कम खर्चमा उपचार सेवा पाउने अपेक्षासहित आउने बिरामीले परीक्षणका लागि समेत निजी स्वास्थ्य संस्था वा अन्य अस्पताल जानुपर्दा आर्थिक भार बढ्ने गरेको उनीहरूको भनाइ छ ।

नागरिक समाज नवलपरासीका सचिव अनिल अग्रहरीले जिल्लाकै प्रमुख सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव हुनु गम्भीर विषय भएको बताए । उनले संघ र प्रदेश सरकारबीचको जिम्मेवारीको विवाद वा समन्वयको अभावको असर नागरिकले भोग्न नहुने बताए ।

“जनताले कुन सेवा संघको हो र कुन प्रदेशको हो भनेर हेर्दैनन्, उनीहरूले सेवा खोज्छन्,” अग्रहरीले भने, “सरकारी निकायबीचको समन्वय मिलाउने जिम्मेवारी सम्बन्धित सरकार र निकायको हो । त्यसको असर बिरामीले भोग्नु हुँदैन ।”
पृथ्वीचन्द्र अस्पतालमा आन्तरिक स्रोतबाट ३३ जना तथा स्वीकृत दरबन्दीअन्तर्गत ७० जना चिकित्सक तथा कर्मचारी कार्यरत रहेको अस्पतालले जनाएको छ । तर रेडियोलोजी विशेषज्ञको अभावका कारण अस्पतालमा उपलब्ध जनशक्ति र उपकरणको पूर्ण उपयोग हुन नसकेको अस्पताल प्रशासनको भनाइ छ ।

विशेषगरी दुर्घटनामा परेका, जटिल प्रकृतिका रोग भएका, गर्भवती तथा शरीरभित्रको अवस्थाबारे विस्तृत परीक्षण आवश्यक पर्ने बिरामीका लागि रेडियोलोजी सेवा महत्वपूर्ण मानिन्छ । परीक्षणबाट प्राप्त तस्वीरको आधारमा रोगको अवस्था पहिचान गरी उपचारको निर्णय लिन सम्बन्धित चिकित्सकलाई रेडियोलोजिस्टको रिपोर्ट आवश्यक पर्ने गर्छ ।

स्थानीयवासीले जिल्लाकै प्रमुख सरकारी अस्पतालमा तत्काल रेडियोलोजिस्टको व्यवस्था गर्न माग गरेका छन् । उनीहरूले अस्पतालमा उपकरण थप्नुका साथै ती उपकरण सञ्चालन गर्ने र परीक्षणको विशेषज्ञ रिपोर्टिङ गर्ने दक्ष जनशक्तिको नियमित व्यवस्था गर्नुपर्ने बताएका छन् ।

अस्पताल प्रशासनले पनि रेडियोलोजी सेवा नियमित र प्रभावकारी बनाउन विशेषज्ञ जनशक्ति आवश्यक रहेको जनाएको छ । सङ्घीय सरकारबाट फिर्ता भएका जनशक्तिको व्यवस्थापन तथा प्रदेश सरकारमार्फत वैकल्पिक जनशक्ति उपलब्ध गराउने विषयमा पहल भइरहे पनि तीन महिनादेखि कायम रहेको समस्या समाधान हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?