Butwal Today

‘अपरेटिङ बेस मात्रै नहोस् विमानस्थल’ 

१ भाद्र २०८३, सोमबार
अ+
अ-

लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा निराश बनेका लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीलाई भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले अपरेटिङ बेस राखेको खबरले केही आशातीत बनाएको छ ।

त्यसको पूर्व तयारीमा मंगलवारबाट उडान प्रशिक्षण समेत सुरु भइसकेको छ । निगमले फस्र्ट अफिसर (पाइलट) हरूलाई एयरबस ३२० जहाजमार्फत बेस ट्रेनिङ फ्लाइट गराउन सुरु गरेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यस अघि नै वैकल्पिक विमानस्थलको रूपमा राखेको छ ।

२०८२ मङ्सिर ३ गते देखि लागु हुने गरी निगमका जहाजहरू कुनै पनि कारणले डाइभर्ट गर्नुपर्ने अवस्थामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने निगमको भनाई छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरहको उडान र अवतरण हुन सक्ने यहाँ ४ वटा न्यारोबडी र १ वटा वाईडबडी गरी ५ वटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न सकिन्छ ।

जेहोस अपरेटिङ बेस राख्ने तयारीले पर्यटन व्यवसायीमात्रै होइन, लुम्बिनी प्रदेशबासीलाई खुसी बनाएको छ । त्यसैपनि यो अन्तर्राष्ट्रिय विमानस्थलबाट एक बर्ष बढी समयदेखि अन्तर्राष्ट्रिय उडान नहुँदा सर्वत्र निरासाको अवस्था छ ।

अर्बौं लगानी गरी बनेको यो विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतिक्षामा छ । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल वन्दै गर्दा जुन उत्साह थियो, त्यो अहिले निरासामा परिणत हुँदै गएको छ । यही अन्तर्राष्ट्रिय बिमानस्थल चल्ने आशामा लुम्बिनी क्षेत्रमा अर्र्बाै लगानी गरि ठूला ठूला होटल बनेका छन् ।

नेपाली जनताले ठूलो धनराशी खन्याएका छन तर लगानी उठने मात्रै होइन डुब्ने चिन्ता थपिएको छ । २०७९ साल जेठ ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बडो तामझामका साथ अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन गर्दैगर्दा व्यवसायीमा ठूलो आशा थियो । भैरहवामात्रै होइन, समग्र लुम्बिनी क्षेत्रले अव यो क्षेत्र चलायमान बन्ने भयो भन्ने आशा एवं विश्वास गरेका थिए । तर, बिडम्वना उदघाटन भएको चार बर्षमै यो विमानस्थल चल्न नसक्नु गंभीर चिन्ताको कुरा हो ।

जुन अपेक्षा र उत्साहका साथ यो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भयो, त्यो पूरा नहुनुले अहिले पर्यटन व्यवसायीमा निरासामात्रै होइन, अर्बौ लगानीका होटल कसरी सञ्चालन गर्ने भन्ने चुनौति पनि उत्पन्न भएको छ । अव यही अवस्थामा राख्ने हो भने मुलुकको अर्बौ रकम बालुवामा पानी खन्याए सरह हुने बाहेक अर्को केही हुँदैन ।

पहिले अन्तर्राष्ट्रिय उडान गरेका बायु सेवा कम्पनीहरूले मौसमलाई कारण देखाएर उडान रोके । तर, यो विमानस्थलमा जाडो याममा कुहिरो लाग्दा पनि अवतरण गर्न सक्ने प्रविधि आएपछि पनि बायु सेवा कम्पनीहरू उत्साहित हुन सकेनन् । यो विमानस्थल सञ्चालनमा अवरोध आउनुको धेरै कारणमध्ये काठमाण्डौं केन्द्रित मानसिकताले पनि काम गरेको लुम्बिनी क्षेत्रका व्यवसायीको गुनासो छ ।

निश्चितरूपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा कठिनाईका केही प्राविधिक समस्या छन् । अन्तर्राष्ट्रिय उडानमा देखिएको अडचन, बेथिती छँदैछन् । त्यसमाथि उडान सञ्चालनको स्पष्ट कार्यविधि नबन्नु चुनौतिकै रूपमा रहेको छ ।

सरकारले अन्तर्राष्ट्रिय विमानस्थललाई चलाउने हो भने काठमाण्डौं केन्द्रित अन्तर्राष्ट्रिय उडान र व्यवसायीको केन्द्रिकृत सोँचमा परिवर्तन गर्नु जरुरी छ । उडान क्षेत्रका माफियाहरूले काठमाण्डौं बाहिरबाट अन्तर्राष्ट्रिय उडान भएको देख्नै र सुन्नै नचाहेको र उनीहरूकै कारण भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई जसरीपनि असफल बनाउने प्रयास भैरहेको छ ।

अबको दिनमा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई जसरीपनि सफल वनाउने विषयमा सरकार, यस क्षेत्रका पर्यटन व्यवसायी र आम जनता सवैको ध्यान जाओस् । पछिल्लोपटक अपरेटिङ बेस राखेर पाईलट प्रशिक्षणमा मात्रै यो अन्तर्राष्ट्रिय विमानस्थललाई सीमित नगरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?