© 2026
काठमान्डौँ ।
विपक्षी दलहरूले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको आरोप लगाउँदै तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गरेका छन् ।
सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले संसद्को अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बेले सुनसरीको कप्तानगञ्जमा भएको घटना, गृहमन्त्रीको सम्पत्तिसम्बन्धी प्रतिवेदन सार्वजनिक नगरिएको विषय र सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको विषयमा छलफल भएको जानकारी दिए ।
उनले सरकारले अध्यादेशमार्फत शासन गर्न खोज्दा संसद्को औचित्यमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको बताए । त्यसैले संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्न तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गरिएको उनले स्पष्ट पारे ।