Butwal Today

कर्णाली याक्सद्वारा काठमाडौं गोर्खाजलाई १८१ रनको लक्ष्य

१६ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार जारी पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, हुसेन तलतले ३० बलमा १ चौका र २ छक्काको मद्दतमा ४० रन जोडे ।

पवन सर्राफले २३ बलमा २ छक्का प्रहार गर्दै अविजित ३० रन बनाए । गुल्सन झाले १२ बलमा २ छक्कासहित २० रनको योगदान दिए ।

कर्णालीले अरिफुल इस्लामसँगै बंगलादेशी खेलाडी जिशान आलमलाई ओपनिङमा उतारेको थियो । आइतबार मात्रै नेपाल आइपुगेका जिशानले यसै खेलबाट एनपीएलमा डेब्यु गरेका हुन् । उनी टोलीको स्कोर २० रन हुँदा व्यक्तिगत ७ रन बनाएर आउट भए ।

दोस्रो विकेटका लागि अरिफुल इस्लाम र मार्क वाटले ४६ रनको साझेदारी गरेका थिए । त्यसपछि १२ रनको अन्तरमा अरिफुल, दीपक डुम्रे र मार्क वाट आउट भएपछि कर्णाली ७८–४ को दबाबपूर्ण अवस्थामा पुगेको थियो ।

तर, पवन सर्राफ र हुसेन तलतले पाँचौँ विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको इनिङ्स सम्हाले । तलत १७औँ ओभरको अन्तिम बलमा हिट विकेट हुनुअघि उनले सर्राफसँग अर्धशतकीय साझेदारी गरेका थिए ।

त्यसपछि पवन सर्राफ र गुल्सन झाले १६ बलमा २८ रनको साझेदारी गर्दै कर्णालीको स्कोर १८० रनसम्म पुर्‍याए ।

काठमाडौंका लागि कप्तान करण केसीले २ विकेट लिए । त्यस्तै, शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले समान १–१ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?