Butwal Today

ब्रह्म, शून्य र प्रकृति पूजकको साझा अस्तित्व – शिव

२५ श्रावण २०८३, सोमबार
अ+
अ-

भगवान् शिव, जसलाई संसारको सबैभन्दा प्राचीन अपौरुषेय ग्रन्थ ऋग्वेदको २।३३।१ मन्त्रमा यसरी प्रार्थना गरिएको छ – “आ ते पितर्मरुतां सुम्नमेतुमा नःसूर्यस्य संदृशो युयोथाः।अभि नो वीरानर्वति क्षमेतप्रजायेमहि रुद्र प्रजाभिः”। अर्थात् यसको अर्थ हुन्छ – हे मरुतहरूका पिता रुद्र १ तपाईंको कल्याणकारी कृपा हामीमाथि रहोस् । हामीलाई सूर्यको दर्शनबाट वञ्चित नगराउनुहोस् ।

हाम्रा वीर सन्तानहरूको रक्षा गर्नुहोस् र हामी सन्ततिसहित समृद्ध बनौँ।ऋग्वेदकै २।३३।४ मन्त्रमा रुद्रले हाम्रो कल्याण गरुन् भन्नका लागि “शं नो रुद्रः शं नो अस्तु” भनिएको छ । ऋग्वेदमा रुद्रलाई कपर्दिन्, भिषक्, उग्र, शिव, मृड, तवस् इत्यादि नामले सम्बोधन गरिएको छ । यिनको अर्थ क्रमैले जटाधारी, रोगनाशक, महान् पराक्रमी, कल्याणकारी, कृपालु र अत्यन्त शक्तिशाली भन्ने हुन्छ । वेद तथा उपनिषद्हरूको निष्कर्ष रूपमा – यो सम्पूर्ण जगत् शिवद्वारा व्याप्त छ भनेका छन् ।

जगत्मा देखिने प्रत्येक वस्तु, प्राणी, तत्त्व र शक्ति शिवकै अभिव्यक्ति वा स्वरूप हो । त्यसैले शिवभन्दा पृथक् कुनै स्वतन्त्र सत्ता छैनस सम्पूर्ण विश्व शिवमय छ । यो विषयलाई श्वेताश्वेतरोपनिषद्मा पनि यसरी भनिएको छ– “सर्वाननशिरोग्रीवःसर्वभूतगुहाशयः ।

सर्वव्यापी स भगवान्तस्मात्सर्वगतः शिवः।।” अर्थात् भगवान् शिव सबै प्राणीका अन्तरात्मा हुन्, सबैमा व्याप्त छनस त्यसैले उहाँ सर्वगत ९सबैतिर विद्यमान० हुनुहुन्छ । परमात्मा शिवका आठ मूर्तिहरू छन् ।

परमात्मा भनेको सम्पूर्ण जगत्को मूल कारण, सर्वव्यापी, सर्वज्ञ, स्वतन्त्र, नित्य, अनन्त र सबै जीवहरूको अन्तर्यामी परम चेतन तत्त्वहो। मूर्ति भनेको चाहिँ मूर्तं स्वरूपम् अर्थात्इन्द्रियहरूले ग्रहण गर्न सक्ने स्वरूप हो । मूर्तिरिति व्यक्तस्वरूपम् अर्थात् मूर्ति भनेकै यहाँ इन्द्रियहरूले नदेख्ने निराकार स्वरूपको व्यक्त स्वरूप हो ।

त्यसैले परमात्मा शिवका व्यक्त स्वरूप जसलाई हाम्रा इन्द्रियहरूले पनि देख्न र अनुभव प्राप्त गर्न सक्दछन् ती आठ मूर्तिहरू हुन् । तिनै अव्यक्त परमात्मा शिवका व्यक्त स्वरूप पृथ्वी, जल, अग्नि, वायु, आकाश, जीव, चन्द्र र सूर्य हुन् । यी आठमूर्तिमध्ये पृथ्वी पनि एक हो । विष्णुपुराणमा परमात्मा शिवका आठ मूर्तिहरूलाई यसरी बताइएको छ– “शर्वो भवस्तथा रुद्र उग्रो भीमः पशुपतिः।ईशानश्च महादेवोमूर्तयश्चाष्ट विश्रुताः।।”अर्थात् पृथ्वी तत्त्वको अधिष्ठाता शर्वः नाममा शिव हुनुहुन्छ ।

त्यसैले शिवको पहिलो मूर्ति पृथ्वी मानियो । यहाँ शर्वको अर्थ विनाशकर्ता र धारणकर्ता हो । त्यस्तै जल तत्त्वको अधिष्ठाता भवः नाममा शिव हुनुहुन्छ । त्यसैले शिवको दोस्रो मूर्ति जल मानियो । यहाँ भवको अर्थ अस्तित्व दिने उत्पन्न गराउने भन्ने हुन्छ । त्यस्तै प्रकारले अग्नि तत्त्वको अधिष्ठाता रुद्रः नाममा शिव हुनुहुन्छ । त्यसैले शिवको तेस्रो मूर्ति अग्नि मानियो । यहाँ रुद्रको अर्थ दुःख हटाउने भन्ने हो । एवम् प्रकारले वायु तत्त्वको अधिष्ठाता उग्रः नाममा शिव हुनुहुन्छ । त्यसैले शिवको चौथो मूर्ति वायु मानियो ।

यहाँ उग्रको अर्थ प्रचण्ड एवम् शक्तिशाली भन्ने हुन्छ । त्यस्तै प्रकारले आकाश तत्त्वको अधिष्ठाता भीमः नाममा शिव हुनुहुन्छ । त्यसैले शिवको पाचौँ मूर्ति आकाश हुन गयो । यहाँ भीमको अर्थ विशाल, भयङ्कर र महिमाशाली भन्ने हुन्छ ।

त्यस्तै जीव तत्त्वको अधिष्ठाता पशुपतिः नाममा शिव हुनुहुन्छ । त्यसैले शिवको छैठौँ मूर्ति जीव मानियो । यहाँ पशुपतिको अर्थ सबै जीवका स्वामी भन्ने हुन्छ । एवम् प्रकारले चन्द्र तत्त्वको अधिष्ठाता महादेव नाममा शिव हुनुहुन्छ ।

त्यसैले शिवको सातौँ मूर्ति चन्द्र मानियो । यहाँ महादेवको अर्थ देवताहरूमा महान् भन्ने हुन्छ । त्यस्तै सूर्य तत्त्वको अधिष्ठाता ईशानः नाममा शिव हुनुहुन्छ । त्यसैले शिवको आठौँ मूर्ति सूर्य मानियो । यहाँ ईशानको अर्थ सर्वोच्च शासक एवम् नियन्ता भन्ने हुन्छ । यसरी भगवान् शिवका आठमूर्तिहरूका बारेमा बताइएको छ ।

वेद त हिन्दूहरूको मात्र भन्नेहरू पनि छन् । तर वेद कसैको पेवा भन्ने नै हैन । वेदको सबैको साझा हो । वेदमा भेद भन्ने नै छैन । यो समुद्र स्वरूप हो । जसरी विभिन्न नदीनालाहरूको अन्तिम यात्रा समुद्रमा गएर टुङ्गिन्छ त्यस्तै गरेर संसारका प्रत्येक प्राणीहरूको दर्शन नै वेदमा गएर टुङ्गिन्छ । वेदमा नभएको वस्तु नै छैन ।

यही वेदमा शिवलाई यसरी माथि अनुसार वर्णन गरिएको हो । यिनै वेदका वाक्यहरूको अनुसरण गर्नेहरूलाई नै वैदिक भनिएको हो । वेदमा बताइएको सर्वोच्च रुद्रस्वरूपको आराधना गर्नेहरू नै वैदिक हुन् । ब्रह्मस्वरूप त्यो परमात्मालाई बुझाउनका लागि वेदपछि निर्माण गरिएका पुराणादिमा विभिन्न स्वरूपमा वर्णन गरिएको छ ।

यिनै वैदिकहरूलाई सनातनी या हिन्दू पनि भनिएको हो । पाश्चात्त्य विद्वान्हरूले हिन्दू भनेको सिन्धु नदीसँग सम्बन्धित छ भने पनि इतिहास्विद् वेदविद् राष्ट्रगुरु योगी नरहरिनाथले हिमवत्खण्ड ९विशेषतः नेपाल–हिमालय क्षेत्र० मानव सभ्यता, वैदिक संस्कृति र हिन्दू सभ्यताको मूल उद्गमस्थल हो भन्नुभएको छ । उहाँले त प्रत्येक मानवको उद्गमस्थल नै हिमालय भन्नुभएको छ ।

यसैका आधारमा उहाँले लेख्नुहुन्छ – “यहीँ ॐ स्वस्तिश्री अ क सकल वर्णावली भयो। यताबाटै टाढा पर पर गए मानवहरू ।” यसैका आधारमा गहिरो अध्ययन गर्ने हो भने पनि यस कुरालाई पुष्टि गर्न पनि सकिन्छ ।

यही वेदको रुद्र स्वरूप नै विष्णु स्वरूप हो । किनकि रुद्रका आठमूर्ति मध्ये जल पनि एक हो । विष्णु जलस्वरूपमा हुनुहुन्छ । तिनै आठ मूर्तिमध्ये शिव स्वयं पनि वायु स्वरूपमा प्रकट हुनुहुन्छ । फेरि गणेश चाहिँ रुद्रका आठ मूर्तिमध्ये पृथ्वी स्वरूपमा हुनुहुन्छ । त्यसैले गणेश पनि रुद्र स्वरूप नै हुनुहुन्छ । अनि सूर्य अग्नि स्वरूपमा हुनुहुन्छ भने देवी आकाश स्वरूपमा हुनुहुन्छ ।

त्यसैले सूर्य पनि रुद्र स्वरूप र देवी पनि रुद्र स्वरूप नै हुनुभयो । त्यसैले आखिर रुद्रका आठ मूर्ति भन्ने स्थानमा विष्णुका आठ मूर्ति या गणेशका आठ मूर्ति यात देवी या सूर्यका आठ मूर्तिहरू भने पनि आखिरी एकै हो ।

यी विषयहरूलाई बुझाउनका लागि पुराणहरूले विभिन्न स्वरूपको कल्पना गर्यो । एक परमात्मालाई कार्यान्तरले विभिन्न स्वरूपमा ल्यायो । तर यो कुरा बुझाउनका सट्टा हाम्रा धर्मगुरु भन्नेहरूले चाहिँ भक्तहरूलाई नै यो स्वरूपको चिन्तन गर भन्दा पनि लौ यस्तो टीको लगाए सिधै फल्नोलोक अनि यस्तो टीको लगाए चाहिँ नजान सकिन्छ है ।

ती देवता त तामसी हुन् भन्ने खालले अत्यन्तै वेदभन्दा पनि भेदका कुरा सुनाएर र बुझाएर आफ्ना भुँडी भर्ने र भक्तहरूलाई चाहिँ तिरिमिरि गराएर अन्त्यमा यता न उताको गराउँछन् ।

हो वेदले ईश्वरलाई निराकार भनेको छ । खं ब्रह्म अर्थात् त्यो एकाकार परमात्माको त्यो ब्रह्मको स्वरूप त शून्य जस्तै छ भनेको छ ।यहाँ शून्य भनेको यहाँ केही पनि नभएको जिरो भन्न खोजिएको हैन । धेरैले शून्यको अर्थ जिरोसँग लैजानुहुन्छ । तर यहाँ खम् को अर्थ त व्यापक भन्ने हुन्छ । आकाश जस्तै निराकार र व्यापक भन्ने हुन्छ । बुद्धले पनि शून्यलाई मान्नुभएको छ ।

उहाँले सिधै त्यसलाई ब्रह्म भन्नुभएन । तर उहाँले शून्य भनेकै त्यही ब्रह्मलाई हो । केही समय कता कता ढुल्मुलिएको बौद्ध धर्म दर्शनलाई नागार्जुनले लयमा ल्याउनुभएको हो । उहाँले शून्यको परिभाषा यसरी दिनुभएको छ – यः प्रतीत्यसमुत्पादः शून्यता तां प्रचक्ष्महे । अर्थात् प्रतित्यसमुत्पाद (परस्पर निर्भर उत्पत्ति) नै शून्यता हो।

यहाँ शून्यता भनेकोअस्तित्वको अभावहोइन, स्वतन्त्र स्वभावको अभावहो।अम्बेडकरको वदनाम गर्दै आफुलाई अम्बेडकरवादी बौद्ध मान्नेहरूका लागि त यस्ता कुराहरू भेँडका मुखमा कुभिण्डा नै हुन् तर साँच्चै बौद्ध दर्शनको मर्म बुझ्नेहरूका लागि यो ब्रह्म यो रुद्र यो शून्य एकै हो । त्यस्तै नेपालमै जन्मिएको सनातन मार्ग किराँतका बारेमा त भन्नै परेन ।

यो त अझ विशेष गरेर भगवान् शिवकै किराँत स्वरूपबाटै विकसित भएको हो भन्ने मत धेरै विद्वान्हरूको रहेको छ । किराँतहरूले रुद्रको जीव स्वरूप पशुपतिनाथको विशेष अर्चना गर्ने गर्नुहुन्छ भने रुद्रका अष्टमूर्तिहरूमध्येका सूर्य, चन्द्र, पृथ्वी, जल स्वरूपको विशेष आराधना गर्दै आफ्ना भौतिक जीवनाधारसँग सम्बन्धितवन,पहाड रनदी एवम् चन्द्रलोकमा रहेका पितृहरूको पनि पूजा गर्ने गर्नुहुन्छ । वेदको वैदिक परम्परासँग उहाँहरू पनि अत्यन्त निकट हुनुहुन्छ ।

यसरी हेर्दा नेपालका वैदिक, बौद्ध र किराँत परम्पराहरू बाह्य रूपमा फरक मार्ग जस्ता देखिए पनि तिनको अन्तिम खोज एउटै परम सत्य कल्याण मार्गमैँ उन्मुख देखिन्छ। वैदिक दृष्टिमा त्यो परम सत्य सर्वव्यापी शिव–रुद्रस्वरूप परमात्मा होस बौद्ध दर्शनमा त्यही व्यापक अनुभूति शून्यता, प्रतित्यसमुत्पाद र निरपेक्ष सत्यका रूपमा व्याख्यायित हुन्छस किराँत परम्परामा प्रकृति, पूर्वज र समस्त जीवनसँगको एकात्म सम्बन्धमार्फत त्यसै दिव्य तत्त्वको अनुभूति गरिन्छ ।

नाम, रूप र साधनाका भिन्नताभित्र पनि चेतनाको मूल स्रोत एउटै रहेको दार्शनिक अनुभूति नै यी परम्पराहरूको अन्तरसम्बन्धको आधार हो । शिव यहाँ केवल कुनै एक सम्प्रदायका देवता मात्र नभई समस्त अस्तित्वलाई व्याप्त गर्ने परम चेतन तत्त्वका रूपमा बुझिन्छन्।ब्रह्म, शून्य र प्रकृति पूजकको साझा अस्तित्त्व स्वरूप नै परमात्मा शिव देखिन्छन् । शिवार्पणमस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?