© 2026
गाउँ सहर सवैतिर हरियो तरकारीमा उच्च विषादीको प्रयोगले मानव स्वास्थ्यमाथि गम्भीर असर पु¥याएको छ । सुन्दा समेत आश्चर्य लाग्ने खुर्सानीमा समेत उच्च विषादीको प्रयोग भइरहेको छ ।
खुर्सानीमा विषादी हाल्नुपर्ने बाध्यता सुन्दा अरू तरकारीमा विषादी नराखी नहुने कुरा अव स्वयं सिद्ध तथ्य भैसकेको छ । यस्तो अवस्था आयो– बजारमा तरकारी किन्न जाँदा विषादी राखेको नराखेको कुरा सोध्नै नपर्ने भएको छ ।
किनभने विषादी विनाको तरकारी उत्पादनको अव कल्पना गर्न सकिँदैन । घरमा वा सानो करेवाबारीमा घरायसी प्रयोजनका लागि मात्रै फलाउने कुराको अपबाद बाहेक आम उपभोक्ता विषादीको उच्च मारमा पर्नुपरेको छ । जसको उदाहरण बुटवल उपमहानगरपालिकाले पटकपटक बुटवलको हाटबजारमा गर्ने अनुगमनबाट पुष्टी भैसकेको छ ।
बुटवल उपमहानगरले प्रायः नियमितजसो अनुगमन गरेपनि ती पसलमा उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड गर्ने प्रकृतिका तरकारी, म्याद नाघेका, ढुसी लागेका सामाग्री फेला पर्ने क्रम रोकिएको छैन् ।
बुटवल उपमहानगर अनुगमन गर्ने र उच्च बिषादीको मात्रा फेला पर्ने क्रम रोकिएको छैन् । अर्कोतर्फ कारवाहीका नाममा सामान्य सचेत बनाउने काम मात्रै हुने गरेको छ । अन्य मुलुकमा उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने काम कहीँकतैबाट भयो भने त्यो क्षम्य हुँदैन तर नेपालमा तारन्तार लापरवाही हुँदा पनि उन्मुक्ति दिने काम रोकिएको छैन ।
जबसम्म जनताको स्वास्थ्यमा खेलवाड गर्नेमाथि नसिहत पुग्नेगरि कारवाही हुँदैन, तबसम्म यस प्रकारका गल्ती दोहोरिरहनेछ । त्यसकारण सम्वन्धित निकायको ध्यान जानु जरुरी छ । त्यसै त उपभोक्ताहरू यतिखेर अत्यधिक महँगीको मारमा पिल्सिनुपर्ने अवस्था सिर्जना भएको छ । सरकारी सम्बद्ध निकाय तथा संयन्त्रले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्दा उपभोक्ताहरू नराम्ररी प्रभावित बन्दै आएको तथा जीवनयापनका लागि अत्यन्त कठिन अवस्था सिर्जना भएको गुनासो गर्दै आएका छन् ।
त्यसै त बजारमा यतिबेला इन्धनको मूल्य बढेको बहानामा उपभोक्ता बजारमा खाद्यान्न, औषधि लगायतका अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरू तथा सेवाको क्षेत्रमा अत्याधिक मूल्य बढाईएको छ । बढेको मूल्य घटाउन अनुगमन हुने गरेको छैन् । ग्याँसको हाहाकार उस्तै छ । इन्धनको मूल्य नबढेको बेलामा पनि उपभोक्तालाई मूल्यबृद्धिको भार थोपरिन्छ ।
केही महिना अघि दुधको अनुगमन गर्दा बजारमा युरिया र सोडा मिसाएको दुध समेत विक्रीमा राखेको खुलासा भएको थियो । बुटवल उपमहानगरले उपभोक्ताको स्वास्थ्यमा ध्यान दिएर अनुगमन त गर्दै आएको छ तर सवैतिर विषादीको बाढी आएपछि बाढी रोक्ने काम असम्भव भइरहेको छ । हरियो खुर्सानीमा गरिएको परिक्षणमा समेत उच्च विषादी भेटिएको अवस्था छ ।
जेहोस अहिलेको बजारबाट उपभोक्ता आफै सचेत हुनुपर्ने अवस्था छ । होइन भने भोलीको दिनमा त्यसले पार्ने गम्भीर स्वास्थ्य असरबाट जोगिन हम्मेहम्मे पर्नेछ । जिल्ला प्रशासन कार्यालय, स्थानीय पालिका, खाद्य तथा गुण नियन्त्रण कार्यालय लगायतले बजार अनुगमन गर्दै आएका छन तर वास्तविकता जनअपेक्षाभन्दा धेरै फरक छ ।
तरकारीमा विषादीको कुरा मात्रै होइन, धेरै कुरामा बजार उपभोक्तामैत्री छैन् । मासु पसलमा महिनौं दिनको कुहिएको मासु विक्री गर्नेक्रम रोकिएको छैन, ढुसी परेका मिठाई भेटिनु नौलो भएन् । त्यसमाथि पकाउने स्थान फोहोर, दुर्गन्धित, प्रदुषित तथा शौचालय समेत बाहिरै गनाउने खालको छन् ।
एक दुई दिन हुने बजार अनुगमनले केही सुधार होला तर जबसम्म संचालक आफै सचेत बन्दैन, आफ्नो पसल वा शौचालय आफै सफा गर्दैन, तबसम्म बजारमा देखिने यी गुनासो दोहोरिरहनेछ । अवका दिनमा अनुगमन गर्दा कमजोरी देखिए सचेत बनाएर छोड्नेमात्र होइन, कारवाहीको दायरामै ल्याउनु जरुरी छ । बुटवल बजारलाई स्वच्छ, स्वस्थ्य बनाउने काममा सवैले जिम्मेवार भूमिका खेल्नु अत्यावश्यक छ ।