© 2026
‘आदिवासीहरूको सम्मान, जीवनको कल्याण’ भन्ने नाराका साथ आज विश्व आदिवासी दिवस मनाईदैछ ।
नेपालमा पनि यो दिवस हरेक बर्ष ९ अगस्तको दिन मनाउने गरिएको छ । यो दिवस मनाउँदै गर्दा आज आदिवासीहरू अनेक विभेद र हस्तक्षेपबाट प्रताडित हुनुपरेको छ । नेपालको अवस्था अलि फरक छ तर विश्वका अति गरिब र पिछडिएको मुलुकका आदिवासीहरू अहिले पनि ढुङ्गे युगमा छन् । उनीहरूको जीउमा एकसरो कपडा समेत नहुने अवस्था छ ।
आदिवासीहरूको हितकै लागि संयुक्त राष्ट्र सङ्घले सन. १९९३ देखि प्रत्येक वर्षको अगस्त ९ लाई विश्व आदिवासी दिवस मनाउने घोषणा गरेको थियो तर यो दिवस मनाए पनि उनीहरूको जीवनमा परिवर्तन आएको छैन ।
आदिवासीको नाममा सुकिलामुकिलाले अवसर दुरुपयोग गरेको अवस्था पनि छ । तसर्थ यो दिवस मनाउँदै गर्दा वास्तविक आदिवासी जो विपन्न, पछि परेका र सीमान्तकृत छन्, उनीहरूको रक्षाका लागि सोच्नुपर्ने बेला भएको छ ।
मूल आदिवासीहरू अहिले पनि अपहेलित जीवन बिताउन बाध्य हुँदै आएका छन् । उनीहरू राज्यका विभिन्न निकायबाट तल पारिएका छन् । अर्थात् दबाइएका छन् । राज्यका धेरै तहमा उनीहरूको पहुँच पुगेको छैन । सीमान्तकृत जीवन बिताउन बाध्य उनीहरूको पुनरुत्थानका लागि संयुक्त राष्ट्र सङ्घले विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याएको छ ।
उनीहरूको जीवन अभिबृद्धिका लागि अन्तर्राष्ट्रिय रूपमा चासो व्यक्त भैरहेको बेला सरकारीस्तरबाट पनि विभिन्न योजना र कार्यक्रम सार्वजनिक भैरहेका छन् । खासगरी तल्लोस्तरमा जीवन बिताउन बाध्य आदिवासीको रक्षा अहिलेको महत्वपूर्ण सवाल र चुनौति पनि हो । तर, जति नै कुरा गरेपनि र अधिकारको नारा उछालिएपनि आदिवासीप्रति हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन नसकेको गुनासो सुनिदै आएको छ ।
आदिवासीहरू नेपालका लागि मात्रै होइन बरु समग्र विश्वकै आदिवासीले सिंगो आदिम युगको नेतृत्व गरे । उनीहरूले सर्वप्राचीन ढुङ्गे युगको नेतृत्व गरे । त्यसलाई विकसित युगमा रूपान्तरित गर्न आदिवासीले खेलेको भूमिका महत्वपूर्ण रहेको कुरालाई नकार्न सकिदैन । प्राचीन युगको नेतृत्व गर्ने उनीहरू बर्तमानमा पनि नेतृत्वदायी भूमिकामा हुनुपर्ने हो तर समय परिस्थिति फरक भएको छ । यद्यपि नेपालको अवस्था भने त्यस्तो छैन् ।
आदिवासीहरूले समाजका विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । देशको रक्षाको नेतृत्व उनीहरूले गरेका छन् । उनीहरूको हैसियत बढेको छ । तर सवै आदिवासी समान हैसियतमा छन् भन्ने होइन । नेपालका सीमान्तकृत आदिवासीको जीवनस्तर कमजोर रहेको छ । उनीहरूको क्षमता बढाउनेतर्फ सोच्नु जरुरी छ ।
शिक्षा र स्वास्थ्यमा पहुँच नहँुदा उनीहरूको जीवनले परिवर्तनको गति समात्न सकेको छैन । तरपनि सरकारी तथा गैर सरकारी तहबाट उनीहरूको विकासमा धेरै काम भएको छ । धेरै काम हुन बाँकी छ । खासगरी जो कमजोर छन् । जसको आर्थिक हैसियत कमजोर छ, राज्यको कुनैपनि निकायमा उनीहरूको पहुँच पुगेको छैन ।
त्यस क्षेत्रमा राज्यले संरक्षण दिनु जरुरी छ । आदिवासी दिवसको सन्देश पनि त्यही हो । पछिल्लोसमय तीब्र शहरीकरण तथा मानव सभ्यताको विकाससँगै बसाई–सराइको क्रम सुरु भएपछि क्रमशः आप्रवासीहरूको घनत्व बढ्न गई आदिवासीहरूको पहिचान, अस्तित्वमा प्रभाव पर्न थालेको छ । अहिले आदिवासीहरूको पहिचान र उपस्थिति हरेक क्षेत्रमा घट्दो क्रममा रहेको देखिएको छ । तसर्थ भोलीको दिनमा त्यो अवस्था आउन नदिनेतर्फ सम्वन्धित सरोकारवालाको ध्यान जाओस् ।
आदिवासीहरूले पनि राज्यले दिने अधिकारको पर्खाइ होइन, आफै सक्षम बन्ने अवस्था सिर्जना गर्न सके भने निश्चितरूपमा आदिवासीहरू सवैभन्दा माथि हुनेछन् । तसर्थ आफ्नो पहिचान, अधिकार, अस्तित्व र क्षमताको कुरामा आदिवासीहरू अव सवल देखिनुपर्दछ र हुनुपनि पर्दछ ।