Butwal Today

सन्धिखर्क नगरपालिकाको वार्षिक समीक्षा : शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकतामा

२३ श्रावण २०८३, शनिबार
अ+
अ-

अर्घाखाँची ।

सन्धिखर्क नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका योजना, कार्यक्रम तथा सेवा प्रवाहको वार्षिक समीक्षा गर्दै आगामी दिनमा नागरिकमैत्री, पारदर्शी र परिणाममुखी सेवा प्रवाहलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।

नगरपालिकाको सभाहलमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बितेको वर्षका उपलब्धि, चुनौती र आगामी कार्यदिशाबारे समीक्षा गर्नु स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी भएको बताए ।

उनले नगरपालिका मातहतका कर्मचारी तथा शाखा प्रमुखलाई आगामी दिनमा परिणाममुखी, पारदर्शी र उत्तरदायी कार्यशैली अपनाउन निर्देशन दिए । शिक्षा र स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले नागरिकप्रति पूर्ण जवाफदेही भएर ‘मुस्कानसहितको सेवा’ प्रदान गर्न कर्मचारीलाई आग्रह गरे।

नागरिकले खोजेको सेवा सहज, छिटो र प्रभावकारी रूपमा पाउनुपर्ने भन्दै नगरप्रमुख श्रेष्ठले सेवा प्रवाहका लागि कर्मचारी सधैँ तयार रहनुपर्ने बताए । जनताको अपेक्षाअनुसार नगरपालिकाको सेवा प्रवाहलाई अझ छिटो, गुणस्तरीय र प्रभावकारी बनाउन सबै कर्मचारीले इमान्दारिता, अनुशासन र समर्पणका साथ काम गर्नुपर्नेमा उनले जोड दिए ।

योजनाको कार्यान्वयनमा हुने ढिलासुस्ती, कमजोर अनुगमन तथा सेवा प्रवाहमा हुने लापरबाही कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै नगरप्रमुख श्रेष्ठले विकास निर्माणका हरेक काम तोकिएको समयमै सम्पन्न गर्ने संस्कृतिको विकास गर्न निर्देशन दिए । योजना बनाएर मात्र नहुने भन्दै उनले त्यसको प्रभावकारी कार्यान्वयन र नियमित अनुगमनमा समेत विशेष ध्यान दिनुपर्ने बताए ।

नगर उपप्रमुख मिश्रा आचार्यले वार्षिक समीक्षा कार्यक्रमले नगरपालिकाको समग्र कार्यसम्पादनको अवस्था पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । यस्ता समीक्षा कार्यक्रमले नीति निर्माण, योजना कार्यान्वयन तथा जनउत्तरदायी प्रशासन निर्माणमा योगदान पुर्‍याउने उनको भनाइ थियो ।

उनले विगतका कामबाट सिक्दै आगामी वर्षका योजना तथा कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । नागरिकका आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर स्थानीय सरकार अघि बढ्नुपर्ने उनले बताइन् ।

वार्षिक समीक्षा कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाले आर्थिक वर्ष २०८२/०८३ मा गरेका काम, हासिल गरेका उपलब्धि, देखिएका चुनौती तथा आगामी कार्ययोजनाबारे प्रस्तुति दिएका थिए ।

योजना तथा भौतिक पूर्वाधार शाखा र आर्थिक प्रशासन शाखाका तर्फबाट अधिकृत दिलीप केसीले प्रगति विवरण प्रस्तुत गरेका थिए । शिक्षा शाखाबाट मञ्जु आचार्य, स्वास्थ्य शाखाबाट प्रकाश परियार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाबाट बेलकुमारी परियार, सामी कार्यक्रमबाट बसन्त श्रेष्ठ, घरेलु तथा साना उद्योग शाखाबाट पुष्पा भुसाल तथा मेडपा कार्यक्रमबाट अनिता रावतले आ–आफ्नो क्षेत्रका उपलब्धि, समस्या, चुनौती र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।

प्रस्तुतिका क्रममा सम्बन्धित शाखाले वर्षभरि सञ्चालन गरेका कार्यक्रमको अवस्था, प्राप्त उपलब्धि तथा कार्यान्वयनका क्रममा देखिएका समस्याबारे जानकारी गराएका थिए । साथै आगामी आर्थिक वर्षमा सुधार गर्नुपर्ने विषय तथा नागरिकलाई सेवा प्रवाह अझ प्रभावकारी बनाउने उपायबारे समेत छलफल गरिएको थियो ।

वरिष्ठ प्रशासकीय अधिकृत हरिषचन्द्र भुसालले विभिन्न विषयगत शाखाबाट प्रगति विवरण प्रस्तुत गरिएको जानकारी दिए । उनका अनुसार वार्षिक समीक्षा विगतका कामको मूल्याङ्कनमा मात्र सीमित नभई आगामी दिनमा संस्थागत सुधारका लागि आवश्यक आधार तयार गर्ने महत्वपूर्ण अवसरसमेत हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले समीक्षाबाट प्राप्त निष्कर्ष, सुझाव र सिकाइलाई आगामी आर्थिक वर्षका योजना तथा कार्यक्रमसँग जोडेर कार्यान्वयन गरिने बताए । विगतका कामको समीक्षा गर्दै कमजोरी सुधार गर्ने र सफल अभ्यासलाई निरन्तरता दिने नीति नगरपालिकाले लिने उनको भनाइ थियो ।

समीक्षा कार्यक्रमले सन्धिखर्क नगरपालिकालाई अझ प्रभावकारी, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री स्थानीय सरकारका रूपमा स्थापित गर्न महत्वपूर्ण आधार तयार गर्ने उनले बताए ।

कार्यक्रममा वडा नं. १ देखि १२ सम्मका वडाध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख, नगरपालिका कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?