Butwal Today

द्वेषको द्वन्द्व !

२१ श्रावण २०८३, बिहीबार
अ+
अ-

सत्तामा नपुगुन्जेलको लोकप्रियता पुगिसकेपछि सिद्धिन्छ । त्यसैले भनिन्छ– कसैलाई बदनाम गराउन चाहन्छौ भने मौका देऊ, तिमीले प्रहार गर्न पर्दैन ऊ आफै सकिन्छ । हिजो जो जति लोकप्रिय थिए उनीहरू अहिले उत्तिकै अलोकप्रिय हुनुको कारण त्यही हो । सत्तामा पुगेर नबिग्रेको नेता भेट्टाउन गाह्रो छ नेपालमा ।

भारतमा पनि लालबहादुर शास्त्री र गुल्जरीलाल नन्दा बाहेक । महात्मा गान्धी पनि सरकारमा गएका भए बदनाम हुन्थे, अरूको के कुरा गर्नु ? चुनावभन्दा पहिले जति लोकप्रिय थिए बालेन, छैनन् अहिले ।

पहिले र अहिलेको तुलना उनी आफैले गरेका होलान् कि नहोलान्, उनै जानुन् । सुखद आरोहण जस्तै अवतरण नहुने अनुमान धेरैले गर्न थालेका छन्, हनुमानले नगरे पनि । बालेन आफ्नै खुबीले भन्दा बढी पुराना दलका नेताको बेबकुफीले गर्दा लोकप्रिय भएका रहेछन् भन्नेहरू बढ्दै गएको देखिदैछ यतिबेला ।

सर्वसाधारण जनताले जस्तो सोच्छन्, बुझ्छन् र लिन्छन्, आफुलाई असाधारण विश्लेषक, विचारक, नेता र पत्रकार मान्नेले लिन्नन् र बुझ्दैनन् । त्यसैले समस्या परेको छ । आफु, आफ्नो दलको खलक मात्रै जान्ने र बुझ्ने मान्नेहरूले अरूलाई मूर्ख ठान्दा बिग्रेको छ । राजनीतिमा त्यस्तो गर्नुपर्ने हुनाले । अनि त्यस्तै राजनीति द्वेषले द्वन्द्व बढाउनाले ।

अहिले तराई मधेशमा शान्त हुँदै गएको द्वन्द्व पनि द्वेषकै असर हो । भविष्यमा पनि हुने छ । दलीय राजनीतिमा अभ्यस्त हुनकै लागि आफु र आफ्नो समूह सक्षम र अरू सवै असक्षम भन्न पर्नाले । ‘जसरी शानदार तरिकाले सत्ता आरोहण हुन्छ, त्यसरी नै शानदार तरिकाले विदा हुन सकियो भने त्यसले सफलता र अमरत्व दुवै दिलाउँछ ।’ – चन्द्र भण्डारी ।

कांग्रेस नेता भण्डारीको जस्तै कामना सवैको हुन्छ, तर पूरा कसैको पनि हुँदैन । सम्मानपूर्वक सत्तामा गएर अपमानपूर्वक विदा हुने चलन छ हाम्रोमा । राणा शासनको उदय र अस्तदेखि लिएर आजसम्म । निर्दलीय पञ्चायती व्यवस्थामा समेत भएको थिएन भने दलीय व्यवस्थामा त झन् सम्भवै नहुने रहेछ । बाहिरका विपक्षी मात्रै हैन, दलभित्रकै आकांक्षीले गर्दा पनि ।

अनि हाम्रो आफ्नै स्वभाव, शैली, संस्कार, आचार, विचार र व्यवहारले । केन्द्र, प्रदेश र स्थानीय सरकारका बीच समन्वय नहुँदा सामान्य विषयलाई असामान्य अवस्थातिर लैजाने दुस्प्रयास गरिए । राजनीतिक फाइदा लिने दाउ खोज्दा गरिएका हो त्यस्तो ।

तर जस्ले उक्साउन खोजे, उनीहरूले आफु पनि असुरक्षित हुने अवस्था आउने आँकलन गरेपछि सवैतिर सद्भाव र राष्ट्रिय एकताको कुरा गर्दै छन् । बाध्यता हो यो । त्यसका लागि वातावरण तयार पार्ने काममा जस्ले सक्रियता देखायो, उसले बाजी मारेको मानिएको छ । ‘हामी मुख्य शक्ति हौं, हामी अभिभावक हो, आगो जसले लगाए पनि निभाउने काम हाम्रो हो, सम्हाल्ने काम हाम्रो हो’ भनेर गगन थापा हिरो बनेको ठानिदै छ ।

रास्वपाको महाधिवेशनमा गएर पनि उनैले चर्चा धेरै पाएका थिए । कुशल राजनीतिक नेतृत्वमा हुनुपर्ने गुण त्यही हो । तर उनले पनि मौका पाए भने बदनाम नहोलान् भन्न सकिन्न । ‘अहिले अधिकारको कुरा गर्ने बेला होइन, समस्याको समाधान गर्ने हो, म मुख्यमन्त्री भएको भए प्रदेशले नियन्त्रण गरिदिन्थ्यो, केन्द्रको जरुरी नै पर्ने थिएन’ भनेर मधेश प्रदेशका पूर्व मुख्यमन्त्री एवं जसपा नेता सरोजकुमार यादवले पनि सक्रियता देखाएर चर्चित भएछन् ।

आफु मुख्यमन्त्री हुँदा अहिलेको भन्दा झन् ठूलो विवाद मिलाएका पनि रहेछन् । राजनीतिक नेताले गर्ने त्यही हो, गरे स्यावासी पाए । पुराना पुस्ताको नेतृत्व गरेका अरू दलका नेताले पनि गगन र सरोजले जस्तै गरेका भए केही बिग्रन्नथ्यो । वडा, पालिका र प्रदेशले आपसमा मिलेर, मिलाएर, बालेन सरकारलाई बदनाम गरेर हटाउने मेलो बनाउन नखोजेका भए कप्तानगञ्जको काण्ड फैलिने थिएन ।

एउटा गाउँमा भएको दुईपक्षीय झडपलाई वडा, पालिका र प्रदेशले चाहेको भए सजिलै मिलाउन सक्ने विषय थियो सुनसरी घटना । वडा, पालिका, प्रदेशले संघ सरकारको थाप्लामा थोपरेर उम्कन पाउने विषय थिएन । रास्वपा र बालेनलाई बदनाम गर्ने आधार बनाउन खोज्दा बिगारिएको हो । स्थानीय र प्रदेश सरकारमा रास्वपाको बीउ पनि छैन राष्ट्रिय सभामा जस्तै ।

निहुँ खोज्नका लागि पनि । आउने साल स्थानीय र प्रदेश सरकारको निर्वाचन हुने हो । अहिलेको स्थानीय र प्रदेश सरकार विदा हुने हो । उनीहरूको अवतरण कस्तो होला ? आफै सोचुन् र गरुन् अब ।

बिगतमा जस्तो राजनीतिक शैली र संस्कार बसाए त्यसैको असर परेको हो । एकले अर्कोलाई दोष दिएर, विदेशीलाई सरापेर, उम्कने प्रवृत्ति घातक छ । आफूहरू आपसमा नमिलेर लड्ने, भिड्ने, अनि सात समुद्र पारी र वरिपरि छिमेकीलाई आरोप लगाउने चलन छाड्नै पर्छ अब । शान्ति कायम हुन्छ तब, नत्र हुन्न । वैरभावले बैरी बढ्छन् । मित्रताले मित्र ।

राजनीतिमा स्थायी शत्रु र मित्र कोही पनि हुँदैनन् भन्ने विषय बुझुन् । हिजो माओवादी नेताका टाउकाको मोल तोक्नेहरू आज सवैभन्दा नजिक भएका छन् । अनि माओवादीले जसलाई शत्रु ठान्थ्यो, मान्थ्यो हिजो, आज उनैसंग नमिली चल्नै नसक्ने दिन पनि आइसक्यो । यति त बुझ्न पर्ने थियो पुरानाले । बुझेनन् । त्यसैले प्रत्युत्पादक बन्यो उनैलाई ।

कांग्रेसको ०७ सालको क्रान्ति होस् वा मैनाली र ओलीहरूले मिलेर गरेको ०२८ सालको झापा विद्रोह । ०५२ सालदेखि सुरु गरिएको माओवादीको कथित दशवर्षे जनयुद्ध होस वा मधेशवादीले गराएको रौतहट काण्ड । ती सवै जनताको भलाईका लागि रहेनछन् भन्ने नपारेका भए हुन्थ्यो । पारेर आफैले बिगारे । अनि गत साल भदौको जेनजी आन्दोलन पनि उस्तै रह्यो ।

एउटाले गोली चलाए, अर्काले आगो लगाए । दुवैले जहाँ पु¥याए, त्यसैको नतिजा हो यो तराई मधेशमा फैलाइएको साम्प्रदायिक द्वन्द्व । जो न सुरुवात हो र न अन्तिम नै मान्न सकिन्छ । सकिन्न । वुद्धोपदेशको पालना गरेका भए हुन्नथ्यो यस्तो र हुने छैन भोलि पनि । नत्र हुन्छ । अब सेलायो, सहज भयो भनेर ठान्न पर्दैन । जुनसुकै बेलामा पनि भड्किन सक्छ । रोहिंग्या, पाकिस्तानी, सोमालिया र तिब्बती शरणार्थीहरू सहित आन्तरिक द्वेषकै कारण । एकले अर्कोलाई सिध्याउने दाउपेच चाल्नैपर्ने राजनीतिले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?