Butwal Today

हजुरआमा बिनाको अधुरो संसार

१९ श्रावण २०८३, मंगलवार
अ+
अ-

आज अचानक हजुरआमाको याद असाध्यै आयो । धेरै पटक उहाँको बारेमा लेख्न खोजेँ, तर कलम समात्ने आँट कहिल्यै आएन । हरेक पटक सम्झनाहरूले आँखा रसाए, शब्दहरू हराए ।

आज धेरै हिम्मत जुटाएर हजुरआमाको सम्झनामा केही तिता मिठा अनुभूतिहरू लेख्दै छु । मेरो लागि हजुरआमा केवल हजुरआमा हुनुहुन्नथ्यो । उहाँ मेरो संसार हुनुहुन्थ्यो । मेरो लागि भगवान् कोही हुनुहुन्छ भने उहाँ नै हुनुहुन्थ्यो । त्यसैले होला, सबै नातिनातिनीमध्ये म उहाँको सबैभन्दा प्यारो थिएँ । म सानैदेखि उहाँको काखमा हुर्किएँ । उहाँको माया, स्नेह र काखले मलाई कहिल्यै आमाबाबाको अभाव महसुस हुन कहिले दिएन ।

तर समय सधैँ एकनासको कहाँ हुदोरहेछ र । बिस्तारै हजुरआमा बिरामी पर्नुभयो । उहाँ ओछ्यानमै थला पर्न थाल्नुभयो । आज पनि उहाँका ती कमजोर आँखाहरू र काँपिरहेको स्वर सम्झँदा मुटु चसक्क दुख्छ । उहाँले मेरो हात बलियोसँग समातेर भन्नुभएको थियो— नानी, राम्रोसँग पढेर ठुली मान्छे होइन, असल र ज्ञानी मान्छे हुनु । त्यो एउटा वाक्य मात्र थिएन, मेरो जीवनको सबैभन्दा ठूलो जिम्मेवारी थियो ।

त्यति बेला मेरो कक्षा १२ को परीक्षा नजिकिँदै थियो । मेरो पढाइ बिग्रन्छ भनेर माइलो ठूलीमम्मीले मलाई फूपूको घरमा पढ्न पठाउनुभयो । शरीर त त्यहाँ पुग्यो, तर मन भने हजुरआमाकै सिरानीछेउमा थियो । किताब खोल्थेँ, तर अक्षरहरू देखिँदैनथे । हरेक पानामा हजुरआमाको अनुहार मात्र देखिन्थ्यो । मन एकोहोरो घरतिर दौडिन्थ्यो ।

दिन बित्दै गए । हजुरआमाको बोली बिस्तारै हराउँदै गयो । उहाँले मानसिक सन्तुलन पनि गुमाउन थाल्नुभयो । कहिलेकाहीँ ‘आमा’ भनेर बोलाउँदा उहाँले एक छिन मलाई हेर्नुहुन्थ्यो । त्यो नजरमा मलाई चिन्न खोजेको आभास हुन्थ्यो । अनि फेरि चुपचाप आँखा बन्द गर्नुहुन्थ्यो । एक बिहान ठुलो बुबाको फोन आयो । नानी, आमालाई धेरै गाह्रो भयो । छिट्टै आइज । मेरो मन एक्कासि आत्तियो । भाइसँगै हतारहतार घर पुगेँ । घर पुगेर हजुरआमाको अवस्था देख्दा म केही बोल्न सकिनँ । शब्दहरू हराइसकेका थिए । आँखाबाट आँसु मात्रै बगिरहेका थिए ।

उहाँलाई सास फेर्न निकै गाह्रो भइरहेको थियो । त्यसैले घरका सबैलाई छिटो खाना खान भनियो । तर त्यो बेला कसरी खाना मिठो लाग्थ्यो ररु प्रत्येक गाँससँगै आँसु निल्नुपरेको थियो । घरभरि आफन्तहरू जम्मा भएका थिए । कसैको मुखमा शब्द थिएन ।

सबैका आँखामा आँसु मात्र थियो । त्यो रात मेरो जीवनकै सबैभन्दा अँध्यारो रात बन्यो । भगवानसँग पहिलो पटक धेरै रिस उठेको थियो । किन सधैँ असल मानिसहरूलाई नै यति चाँडै लैजानुहुन्छ ।

२०७९ साल जेठ १४ गते राति ठिक ८ः३० बजे मेरो संसार टुक्रियो । मेरो हजुरआमा हामी सबैलाई छाडेर सदाका लागि जानुभयो । म चिच्याएँ— आमा ।।। तर त्यो आवाज सुन्ने कानहरू सधैँका लागि बन्द भइसकेका थिए । त्यो क्षणपछि मेरो वरिपरिको संसार नै सुनसान भयो । जता हेरे पनि अँध्यारो मात्रै देखिन्थ्यो । त्यसको केही दिनपछि मेरो परीक्षा थियो । परीक्षा त दिएँ, तर के लेखेँ, कसरी लेखेँ, आजसम्म पनि सम्झना छैन । मन त परीक्षा हलमा थिएन, हजुरआमाकै सम्झनामा हराइरहेको थियो । समय बित्दै गयो । परीक्षाको नतिजा आयो । मैले राम्रो अंक ल्याएर उत्तीर्ण भएँ । त्यो खबर सुनाउँदा सबै खुसी भए, तर मेरो मनमा एउटै पीडा थियो—यो खुसी सुन्न हजुरआमा किन हुनुहुन्न ।

हजुरआमा गएको महिनौँ बितिसकेको छ । तर आज पनि उहाँ घरको कुनै कुनाबाट बोलाउनुहुन्छ कि जस्तो लाग्छ । उहाँको तस्बिर हेरेर घण्टौँ टोलाइरहन्छु । उहाँले लगाएका कपडाहरू समाउँदा अझै उहाँको स्पर्श महसुस हुन्छ । कतिपटक सुनेकी थिएँ—सुत्नुअघि जसलाई धेरै सम्झियो, सपनामा त्यही देखिन्छ । म त हरेक रात हजुरआमालाई सम्झेर सुत्छु । तर किन हो, उहाँ कहिल्यै सपनामा आउनुहुन्न । सायद उहाँलाई थाहा छ, सपनामै देखेँ भने म फेरि ब्युँझिन चाहन्नँ ।

आज उहाँ हुनुहुन्न । तर उहाँले दिएको माया, संस्कार, शिक्षा र आशीर्वाद भने हरेक दिन मेरो साथमा छन् । कहिलेकाहीँ मैले गल्ती गर्दा उहाँले गाली गर्नुहुन्थ्यो । त्यति बेला झर्किन्थेँ । आज ती गालीहरू सुन्न मन तड्पिन्छ । उहाँको एक पटक ‘नानी’ भनेर बोलाएको आवाज सुन्न पाए पनि पुग्थ्यो जस्तो लाग्छ । जन्म र मृत्यु प्रकृतिको नियम हो भन्ने कुरा म बुझ्छु । तर मनले अझै स्विकार्न सकेको छैन । आज पनि म सङ्घर्ष गरिरहेकी छु—हजुरआमाले भन्नुभएको त्यो एउटा वाक्य पूरा गर्न । नानी, राम्रोसँग पढेर ठुली मान्छे होइन, असल र ज्ञानी मान्छे हुनु ।

म वाचा गर्छु हजुरआमा, म पदले मात्र ठूलो होइन, व्यवहारले पनि ठूलो बन्ने प्रयास गर्नेछु । हजुरले सिकाएको संस्कार कहिल्यै बिर्सिने छैन । आज म आफ्नो भविष्य बनाउन सङ्घर्ष गरिरहेकी छु । दिनरात मेहनत गरिरहेकी छु । बिस्तारै आफ्नै खुट्टामा उभिन सिक्दै छु । जीवनले मलाई अघि बढ्न सिकाइरहेको छ । तर हरेक सफलताको क्षणमा एउटा अभावले मन चिमोटिरहन्छ ।

आज म कमाउन थालेकी छु । आफ्नै कमाइ छ । तर यो कमाइको पहिलो हिस्सा हजुरको हातमा राख्ने मेरो सबैभन्दा ठूलो सपना अधुरै रह्यो । मनमा कति रहर थियो—हजुरलाई मनपर्ने सारी किनिदिउँ, हजुरले मन पराएको खानेकुरा ल्याइदिउँ, हजुरका साना–साना इच्छाहरू पूरा गरिदिउँ । एकदिन हजुरलाई गर्वले भनूँ—“हजुरआमा, अब म कमाउन थालेँ । अब हजुरले केही चिन्ता गर्नु पर्दैन ।”

तर जीवनले त्यो अवसर नै दिएन । जब म केही गर्न सक्दिनथेँ, तब हजुर मेरो साथमा हुनुहुन्थ्यो । आज म केही गर्न सक्ने भएकी छु, तर हजुर मेरो साथमा हुनुहुन्न । यही एउटा पीडाले कहिलेकाहीँ मन भक्कानिन्छ ।

आज म जहाँ पुगेकी छु, त्यसको जग हजुरले दिनुभएको माया, संस्कार र विश्वासले बनेको हो । हजुर भौतिक रूपमा हामीबीच नहुनुहोला, तर हजुरले सिकाएका मूल्यहरू, हजुरका आशीर्वाद र हजुरका सम्झनाहरू मेरो जीवनको हरेक पाइला सँगसँगै हिँडिरहेका छन् । म आज पनि मेहनत गरिरहेकी छु । किनकि मैले हजुरसँग एउटा वाचा गरेकी छु—ठुली मात्र होइन, असल र ज्ञानी मान्छे बन्ने । त्यो वाचा म जीवनभर निभाइरहनेछु ।

भन्छन्, आँसुले कसैलाई फर्काएर ल्याउन सक्दैन । तर यदि मेरा आँसुले स्वर्गसम्म पुग्ने एउटा सिँढी बन्न सक्थेयो भने, म त्यो सिँढी चढेर हजुरलाई फर्काएर ल्याउने थिए मेरी आमा । आज पनि मनको गहिराइबाट एउटै कुरा भन्न मन लाग्छ— हजुरआमा, हजुर जहाँ भए पनि खुसी हुनुहोस् । हजुरको माया मेरो जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो, र सधैँ रहनेछ । हार्दिक श्रद्धाञ्जली, हजुरआमा । हजुरको आत्माले वैकुण्ठमा शान्ति पाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?