© 2026
रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–३ का स्थानीयले धान बालीको संरक्षण, प्राकृतिक विपत्तिबाट बचाउ तथा गाउँमा सुख–समृद्धिको कामना गर्दै परम्परागत ‘हरेली पूजा’ गरेका छन् ।
पुस्तौँदेखि चलिआएको यो मौलिक परम्परा अनुसार स्थानीयले साउन १५ देखि २० गतेभित्र पर्ने आइतबार धानखेतमै पुगेर पूजा गर्ने गरेका हुन् ।
स्थानीय परम्पराअनुसार असारको अन्तिम सातासम्म धान रोपाइँ सकिएपछि साउन १५ देखि २० गतेभित्र पर्ने आइतबार हरेली पूजा गर्ने चलन रहेको स्थानीयले बताए । पुजाको तयारी अघिल्लो दिन शनिबार देखि नै सुरु हुन्छ ।
शनिबार दिउँसो प्रत्येक किसानले आफ्नो धान खेतको बिचभागमा मिहेल रुखको हाँगा गाड्छन् । त्यसैलाई आधार मानेर आइतबार बिहान खेतमै पूजा गर्ने परम्परा रहेको छ ।
हरेली पूजा धानबालीलाई मुसा, कीरा–फट्याङ्ग्रा तथा अन्य प्राकृतिक प्रकोपबाट जोगाउने विश्वाससँग जोडिएको स्थानीयको भनाइ छ । पुजाको अघिल्लो साँझ गहुँको पिठोबाट मुसा, बिरालो, सर्प, कीरा–फट्याङ्ग्रा तथा खेतीपाती र घरायसी जीवनमा प्रयोग हुने सामग्रीका आकृति बनाइन्छ ।
स्थानीय लिलाप्रसाद सुनारका अनुसार ती आकृतिहरू केवल परम्पराका लागि होइन, कृषि जीवनसँग जोडिएको विश्वासका प्रतीक हुन् । ‘बिरालोले मुसा खाओस्, कीरा–फट्याङ्ग्राले धानबाली नष्ट नगरून्, वर्षभरि खेती राम्रो होस् भन्ने कामनासहित यी सामग्री तयार गरेर पूजा गरिन्छ,’ उनले भने ।
स्थानीय युवा चन्द्रबहादुर रसाइलीका अनुसार हरेली पूजा कृषि संस्कृतिसँग मात्र सीमित छैन, यसले मानव जीवनको सुरक्षाको कामना पनि बोकेको छ ।