रूपन्देही । रुपन्देहीको देवदहमा कथिन चीवर दान कार्यक्रम आयोजना गरिएको छ । यशोधरा भिक्षुणी विहार देवदह र त्रिरत्न वन्दना पुचः बुटवलको संयुक्त आयोजनामा आइतबार तीनमहिने वर्षावास पूरा गरेका भिक्षु तथा भिक्षुणीलाई पहिलो पटक कथिन चीवर दान गरिएको हो ।
विहार व्यवस्थापन समितिका सचिव तिलविक्रम बुढाथोकीका अनुसार कार्यक्रममा २० जना भिक्षु तथा भिक्षुणी सहभागी थिए ।
विहारमा श्रीलङ्काका चन्दनन्द भन्ते र अमेरिकाका श्रामणेर सुमनाले वर्षावास गर्नुभएको थियो । कार्यक्रममा देवदह, बुटवल, काठमाडौँलगायत देशका विभिन्न स्थान तथा भूटानबाट आएका उपासक–उपासिकाको सहभागिता रहेको थियो ।
बौद्ध शिक्षाकाज्ञाता टङ्क सुनारले कथिन चीवर दान बौद्ध धर्मको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा भएको बताए। वर्षावास पूरा गरेका भिक्षु तथा भिक्षुणीलाई चीवर दान गर्नु सङ्घप्रतिको श्रद्धा, त्याग र पुण्य सञ्चयसँग जोडिएको परम्परा भएको उनले उल्लेख गरे ।
थेरवाद बौद्ध परम्परामा कथिन चीवर दानलाई अत्यन्त पवित्र र ऐतिहासिक महत्वको सङ्घदानका रूपमा लिइन्छ । वर्षायाममा तीन महिना वर्षावास बसेर साधना पूरा गरेका भिक्षु–भिक्षुणीलाई चीवर अर्थात् वस्त्र दान गर्ने परम्परालाई कथिन चीवर दान भनिन्छ । यो दान वर्षावास समाप्त भएपछि आश्विन पूर्णिमादेखि कार्तिक पूर्णिमासम्म गरिन्छ ।
बौद्ध परम्पराअनुसार कथिन चीवर दानको सुरुआत भगवान् बुद्धकै समयमा भएको मानिन्छ । पावाबाट आएका ३० जना भिक्षु वर्षावास पूरा गरी भगवान् बुद्धको दर्शन गर्न श्रावस्तीस्थित जेतवन विहारतर्फ जाँदै गर्दा वर्षाका कारण उनीहरूका चीवर भिजेर मैला भएका थिए । भिक्षुहरूको कठिनाइलाई ध्यानमा राख्दै भगवान् बुद्धले सङ्घको हितका लागि कथिन चीवर दानको परम्परालाई अनुमति दिनुभएको बौद्ध ग्रन्थमा उल्लेख छ ।
कथिन दान केवल वस्त्र प्रदान गर्ने कर्म मात्र नभई दान, त्याग, करुणा र सङ्घप्रतिको श्रद्धाको अभ्यासका रूपमा लिइन्छ । देवदहमा पहिलोपटक आयोजना गरिएको कार्यक्रमले यस क्षेत्रको बौद्ध सांस्कृतिक तथा आध्यात्मिक परम्पराको संरक्षण र बुद्ध शिक्षाको प्रचारप्रसारमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।