Butwal Today

 ‘निम्स दाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

१७ श्रावण २०८३, आइतबार
अ+
अ-

गण्डकी ।  ‘निम्स दाइ’ का नामले परिचित विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ । अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पुर्जाको पाकिस्तानको ‘ब्रोड पिक’ आरोहणका क्रममा हिम पहिरोमा परी निधन भएको थियो ।

गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले आज सार्वजनिक गरेको सूचनामा पुर्जाको निधनले गाउँपालिका परिवारसहित समग्र म्याग्दीवासीलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गरिएको छ । उनको निधनप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले सोमबार अत्यावश्यक सेवाबाहेक सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा शोक बिदा दिने निर्णय गरेको हो ।

नेपाली पर्वतारोहण क्षेत्रलाई विश्वमाझ नयाँ उचाइमा पुर्‍याउन, नेपाली पर्वतारोहीको पहिचान र गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न तथा साहस, नेतृत्व र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्न उनले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने गाउँपालिकाले जनाएको छ ।

पुर्जाको निधनले विश्व पर्वतारोहण समुदायलाई अपूरणीय क्षति पुगेको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?