Butwal Today

हिमपहिरोमा निर्मल पुर्जासहित ६ नेपाली आरोहीको निधन

१७ श्रावण २०८३, आइतबार
अ+
अ-

बुटवल । पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेका सबै आरोहीको निधन भएको छ ।

ब्रोड पिक आरोहणका क्रममा बिहीबार हिमपहिरोमा परेर ६ नेपालीसहित १० आरोही हराएका थिए। उनीहरू सबैको निधन भएको जनाइएको छ ।

हिमपहिरोमा हराएका १० जनामध्ये चार शव शुक्रबार भेटिएको थियो । उनीहरूमध्ये तीन जनाको शुक्रबार नै पहिचान खुलेको थियो ।

अन्य आरोहीको पनि निधन भएको जनाउँदै प्रधानमन्त्री वालेन्द्र शाहले श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना ।’

ब्रोड पिक आरोहणका क्रममा ज्यान गएका नेपाली आरोहीमा निर्मल पुर्जासहित पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा रहेका छन् ।

आरोहण दलका १० मध्ये चार जना विदेशी छन् । विदेशी आरोहीमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाकी म्यालोरी गाइस रहेका थिए । ओमानकी नाधिरा र अमेरिकी नागरिक म्यालोरी गाइसको शुक्रबार नै शव भेटिएको थियो ।

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाले पाकिस्तानको काराकोरम हिमश्रृंखलामा पर्ने ब्रड पिक आरोहण अघि आफ्ना आगामी योजनाहरू खुलाउँदै सामाजिक सञ्जाल एक्समा लामो स्टाटस् लेखेका थिए ।

आठ हजारभन्दा अग्ला १४ वटा हिमाल अक्सिजनबिना नै दोस्रो पटक आरोहण गर्ने पहिलो व्यक्ति बन्ने अवसर देखेपछि ब्रड पिक आरोहण गर्ने योजना बनेको उनले खुलाएका छन् । उनी पाकिस्तानको काराकोरम हिमश्रृंखला अन्तर्गतकै ग्यासब्रुम–२ (जसलाई जी–२ पनि भनेर चिनिन्छ) हिमाल चढ्न पाकिस्तान जाने योजनामा थिए । जी–२ पनि आठ हजारभन्दा अग्लो हिमाल हो ।

‘सुरुमा मेरो लक्ष्य केवल ग्यासरब्रुम–२ आरोहण गर्ने मात्र थियो। तर पाकिस्तानतर्फ प्रस्थान गर्नुअघि मैले आफूले आरोहण गरेका आठ हजार मिटरभन्दा अग्ला हिमालहरूको आरोहणको हिसाब गरेँ,’ पुर्जाले लेखेका छन्, ‘त्यतिबेला मलाई एउटा कुरा महसुस भयो– यदि यही अवसरमा ब्रड पिक पनि आरोहण गर्न सकेँ भने त्यसपछि केवल चोेयु मात्र बाँकी रहनेछ। अनि म अक्सिजनबिना विश्वका सबै १४ वटा आठ हजारमाथिका हिमाल दोस्रो पटक आरोहण गर्ने इतिहासकै पहिलो व्यक्ति बन्नेछु ।’

आफ्नो सम्पूर्ण ध्यान ‘ह्याट्रिक’ परियोजनामा रहेको तर, नयाँ कीर्तिमानको अवसर देखेर आफू लोभिएको उनले खुलाएका छन्। ‘तर अवसरहरू चिच्याएर आउँदैनन्, ती त चुपचाप निरन्तर मेहनत गरिरहेकाहरूलाई कानेखुशी गर्न आइपुग्छन्,’ पुर्जाले लेखेका छन् ।

यसअघि जहिले अरूसँग नभई आफूसँगै प्रतिस्पर्धा गरिरहेको भन्दै पुर्जाले हरेक दिन आफ्नै सीमालाई केही पर धकेल्ने प्रयास गरिरहेको बताएका थिए । ‘मैले कहिल्यै अरूसँग प्रतिस्पर्धा गरिनँ। मेरो एकमात्र प्रतिस्पर्धा हिजोको आफैसँग थियो । हरेक दिन आफ्नै सीमालाई अझ पर धकेल्ने प्रयास गरिरहेँ,’ उनले लेखेका छन् ।

अक्सिजनबिना आठ हजारभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्दा धेरैले आफ्नो आलोचना गरेको भन्दै उनले दुःख पनि व्यक्त गरेका छन् । ‘जब मैले प्रोजेक्ट पोसिबल अन्तर्गत अक्सिजनबिना सबै १४ वटा हिमाल आरोहण गरेँ, त्यतिबेला धेरैले मेरो आलोचना गरे,’ उनले लेखेका छन्, ‘यदि त्यसका लागि मैले कस्तो संघर्ष गरेँ भन्ने तपाईंले देख्नुभएको छैन भने नेटफ्लिक्समा रहेको १४ पिक्स हेर्नुहोस् ।’

पुर्जाले आरोहण गरेको १४ हिमालको संघर्ष समेटेर नेटफ्लिक्सले डकुमेन्ट्री बनाएको छ ।  ती हिमाल आरोहणको क्रममा अन्य टोलीले पछाडि छाडेका आरोहीको उद्धार गरेको, अभियानका लागि आवश्यक रकम आफै जुटाएको र अग्रपंक्तिमा रहेर टोलीको नेतृत्व गरेका कुरा उनले ट्वीटरमा लेखेका छन् ।

‘अहिले भने म अक्सिजनबिना सबै १४ वटा हिमाल दोस्रो पटक आरोहण गर्ने यात्रामा छु, जसले समग्रमा ती हिमालको तेस्रो आरोहण पूरा गर्नेछ,’ उनले लेखेका छन् ।  तर, आफूलाई आलोचना गर्नेहरूको आवाज कहिल्यै नरोकिएको बरु आफूले उनीहरूलाई सुन्नै छाडिदिएको पुर्जाले उल्लेख गरेका छन् ।

‘अझै पनि शंका गर्नेहरूका लागि एउटा तथ्य पर्याप्त छ– मैले पाकिस्तानका सबै पाँच वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल अक्सिजनबिना टोलीको नेतृत्व गर्दै केवल २६ दिनमै आरोहण गरिसकेको छु,’ उलने लेखेका छन्, ‘मैले आफ्नो कीर्तिमान अक्सिजन प्रयोग गरेर तोड्नेहरूको कीर्तिमानसमेत फेरि तोडेको छु । त्यसका सबै प्रमाण उपलब्ध छन् ।’

त्यसपछि उनले आरोहण गर्न लागेको हिमाल ब्रड पिकलाई सम्बोधन गर्दै सकुशल हिमाल आरोहण चाहेको उल्लेख गरेका थिए । आरोहणका लागि जानुअघि उनले लेखेका छन्, ‘ब्रड पिक, म तिमीसँग एउटै कुरा मात्र माग्छु– सुरक्षित रूपमा माथि पुग्न र सकुशल फर्किन पाऊँ ।’

हिमाल आरोहणको क्रममा कुनै पनि हिमाललाई कहिल्यै सामान्य नठानेको पुर्जाले उल्लेख गरेका छन् । आधारशिविरबाट आफ्नो पाइला अगाडि बढ्ने क्षणदेखि शतप्रतिशत हिमालमा समर्पित हुने गरेको उनले बताएका छन् । ‘सधैं त्यस्तै गरेको छु, र सधैं त्यस्तै गर्नेछु,’ उनले भनेका छन् ।

हिमाललाई नै जीवन बनाउँदै आएका पुर्जा यसपटक पाकिस्तानको ब्रड पिक आरोहणको क्रममा हिमपहिरोमा हराइरहेका छन् । उनीसँगै हराएका १० जनामध्ये चार जनाको शव भेटिएको छ ।

त्यसमध्ये दुई जनाको पहिचान खुलेको छ । पहिचान खुलेकामध्ये ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङको शव भेटिएको हो । अन्य आरोहीको खोजी कार्य जारी रहेको छ । कामना गरौँ– बाँकी आरोहीको सकुशल उद्धार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?