© 2026
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको बजार अनुगमनका क्रममा ४० किलोभन्दा बढी खान अयोग्य मासु बरामद गरिएको छ ।
नगरपालिकाले बुधबार नगरभित्रका विभिन्न मासु पसलमा गरेको अनुगमनका क्रममा उपभोगका लागि अनुपयुक्त अवस्थामा राखिएको मासु फेला परेपछि तत्काल बरामद गरी नष्ट गरेको हो ।
नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख मुक्तिराम खनालका अनुसार बरामद गरिएको मासु व्यवसायी तथा अनुगमन टोलीको रोहबरमा खाल्डो खनी वातावरणमैत्री ढङ्गले नष्ट गरिएको छ।
उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने अखाद्य तथा गुणस्तरहीन खाद्य वस्तुको बिक्री वितरण रोक्न नियमित रूपमा बजार अनुगमनलाई प्रभावकारी बनाइएको नगरपालिकाले जनाएको छ ।
अनुगमन टोलीको नेतृत्व तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वर देवी चौधरीले गरेको टोलीमा आर्थिक विकास शाखा प्रमुख मुक्तिराम खनाल, पशु शाखा प्रमुख राजु कुँवर मगर, पशु चिकित्सक डा. इन्द्रकला खत्री, अधिकृत गोमा ज्ञवाली, अधिकृत मिना अर्याल लगायतको सहभागिता रहेको थियो।
निजी क्षेत्रबाट तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानेन्द्र कार्की, चेम्बर अफ कमर्स तिलोत्तमाका अध्यक्ष नेत्रप्रसाद न्यौपाने, तिलोत्तमा उद्योग व्यापार सङ्गठनका अध्यक्ष प्रेम जीएम, उद्योग उपाध्यक्ष सूर्य न्यौपाने, पत्रकार तथा विभिन्न व्यावसायिक सङ्घ–संस्थाका प्रतिनिधिहरू पनि अनुगमनमा सहभागी भएका थिए।
टोलीले मणिग्राम, वडा नम्बर ४, शंकरनगर, ड्राइभरटोल लगायतका क्षेत्रमा रहेका मासु पसलको निरीक्षण गरेको थियो । अनुगमनका क्रममा मासुको गुणस्तर, सरसफाइ, भण्डारण अवस्था, बिक्री वितरण प्रक्रिया, व्यवसाय दर्ता, मूल्यसूची, पशुजन्य खाद्य वस्तुको स्वास्थ्य मापदण्ड तथा उपभोक्ता हितसम्बन्धी कानुनी व्यवस्थाको पालना भए–नभएको विषयमा विस्तृत रूपमा निरीक्षण गरिएको थियो ।
निरीक्षणका क्रममा शंकरनगर र ड्राइभरटोलस्थित केही वारसी मासु पसलमा लामो समयदेखि राखिएको तथा उपभोगका लागि अनुपयुक्त अवस्थामा रहेको मासु फेला परेपछि टोलीले तत्काल बरामद गरी नष्ट गरेको हो । नगरपालिकाले यस्ता अखाद्य मासु बिक्री गर्ने व्यवसायीमाथि आवश्यक कानुनी कारबाही समेत अघि बढाइने जनाएको छ ।
उपप्रमुख जागेश्वर देवी चौधरीले उपभोक्ताको स्वास्थ्यसँग जोडिएको विषयमा नगरपालिका कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पारिन् । उनले स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य वस्तु बिक्री गर्नु प्रत्येक व्यवसायीको दायित्व भएको उल्लेख गर्दै कानुन विपरीत कार्य गर्ने जो–कोहीलाई कारबाहीको दायरामा ल्याइने बताइन् ।
आर्थिक विकास शाखा प्रमुख मुक्तिराम खनालले मासुको उत्पादनदेखि बिक्रीसम्म स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न व्यवसायीलाई आग्रह गरे । उनले उपभोक्ताले पनि मासु खरिद गर्दा ताजापन, सरसफाइ र गुणस्तरबारे सचेत हुनुपर्नेमा जोड दिँदै नियमित अनुगमनले व्यवसायीलाई जिम्मेवार बनाउनुका साथै उपभोक्ताको विश्वास बढाउने विश्वास व्यक्त गरे ।
अनुगमनमा सहभागी उद्योग तथा व्यापारिक सङ्घ–संस्थाका प्रतिनिधिहरूले पनि स्वस्थ प्रतिस्पर्धा, उपभोक्ताको विश्वास र सुरक्षित व्यापारिक वातावरण कायम गर्न कानुनी मापदण्डको पूर्ण पालना आवश्यक रहेको धारणा राखेका थिए।
नियमित बजार अनुगमनले गुणस्तरीय व्यापार प्रवर्द्धन गर्नुका साथै उपभोक्ताको अधिकार संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो ।
तिलोत्तमा नगरपालिकाले आगामी दिनमा पनि अखाद्य, गुणस्तरहीन तथा मापदण्डविपरीतका खाद्य वस्तुको बिक्री वितरण रोक्न नियमित बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै उपभोक्ताको स्वास्थ्य संरक्षणलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ । नगरपालिकाको यो अभियानले व्यवसायीलाई जिम्मेवार बनाउने र उपभोक्तालाई सुरक्षित खाद्य वस्तु उपलब्ध गराउने अपेक्षा गरिएको छ ।