Butwal Today

गाउँमा बसाल्नै सकस

११ श्रावण २०८३, सोमबार
अ+
अ-

राजधानीमा बसोबास गरिरहेका केही सुकुम्वासीलाई उनीहरूकै स्थायी ठेगाना भएका पालिकामा पठाउने र उतै बसोबास गराउने भन्ने सूचना सरकारले प्रकाशन गरेपछि उनीहरूमध्ये धेरैले आफूहरू गाउँमा नफर्कने र सहरमै बसोबासको व्यवस्था गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

गाउँमा खेतबारी बाँझो राखेर सहर पसेकाहरूलाई गाउँमा नै फर्काउनुपर्छ भन्ने र गाउँमा अवसर नपाएर सहरमा पसेकोले उनीहरूलाई सहरमै बसोबासको व्यवस्था मिलाउनु पर्छ भन्ने दुबैथरिका आवाजहरू सुनिएका छन् ।

गाउँ छोडेर सहर र तराईमा बसाई सरेर जाने प्रवृत्तिले देशलाई असन्तुलित सामाजिक संरचना र असन्तुलित विकासको अंध्यारो बाटोमा धकेल्छ भन्ने आभास २००७ सालको परिवर्तन पछि नै भएको थियो ।

गाउँमा मानिस नबस्ने र गाउँको विकास नगर्ने हो भने देशको विकास हुन सक्दैन भन्ने आभाष भएकैले नेपाली कांग्रेसले वि.स. २०१५ सालको चुनावमा आफ्नो घोषणा पत्रमा ’गाउँँतिर जाउ, गाउँलाई हेर’ भन्ने नारा नै बनाएको थियो ।

पञ्चायतको शुरुवात भएपछी राजा महेन्द्रले ’ गाउँ फर्क राष्ट्रिय अभियान’ नै चलाएर राजनीति गर्न चाहनेले सुरुमा गाउँमै बसेर गाउँ बुझ्नुपर्ने, गाउँको विकासमा सहभागी हुनुपर्ने नीति ल्याएका थिए । नेपालको पहिलो कम्युनिस्ट सरकारले २०५१ सालमा आफ्नो गाउँ आफै बनाऊ’ भन्ने कार्यक्रम ल्याएर स्थानीय निकायमा सिधै बजेट पठाउने र गाउँको विकास गरेर मानिसलाई गाउँमै सेवा सुविधा प्रदान गर्ने अभियानलाइ निरन्तरता दिएका थिए । भुकम्प र कोरोनाकालमा बाँच्नकै लागि धेरै मानिसहरू गाउँमा फर्किएका थिए ।

तर उनीहरूको गाउँ बसाइ भने लामो हुन् सकेन । पछिल्ला ४ दशकमा गाउँमा आधारभूत शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, प्रसाशनिक सेवा पुगेको छ. तर गाउँमा जतिजति सेवा सुविधा पुगेको छ, जतिजति सरकारले गाउँमा टिकाउने कार्यक्रम ल्याइरहेका छन्, उति नै धेरै मानिसहरू गाउँ छोडेर सहर र पहाड छोडेर तराइ र उपत्यकामा बसाइ सरिरहेका छन् ।

बसाई सराईको लहर 
राष्ट्रिय जनगणना, २०७८ ले नेपालभित्र आफ्नो जन्मस्थान छोडी बसाइँ सर्नेको अनुपात २९.२ प्रतिशत देखाएको छ । सवैभन्दा बढी जन्मस्थान छोड्ने जनसड्ख्या पहाडमा देखिएको छ जहाँबाट ३२ प्रतिशत मानिसहरू सरेको देखिएको छ।

यसपछि तराईबाट २८.९ प्रतिशत र हिमाली क्षेत्रबाट १३.८ प्रतिशत सरेको देखिएको छ । तराईमा बसाइँ सर्ने सड्ख्या सवैभन्दा बढी अर्थात् वि.स.२०२८ मा ४,१०,०६४ वाट वि.सं.२०७८ मा २०,८४,५०५ जना सरेको देखिएको छ। पहाडी क्षेत्रमा वि.सं. २०२८ मा ६ प्रतिशतले बसाइसराइ गरेको देखिएकोमा २०७८ मा ३० प्रतिशत देखिएको छ ।

वि.सं. २०७८ मा कुल २१,४२,३६३ जनाले एक प्रदेशबाट अर्को प्रदेशमा बसाइसराइ गरेको देखिएको छ । कुल बसाइसराइ गर्ने व्यक्तिहरूको प्रथम छनौट बागमती प्रदेश नै देखिएको छ जहाँ ५७.३ प्रतिशत पुरूष र ५०.६ प्रतिशत महिला अन्यत्रवाट सरेर गएका छन् ।

बागमती प्रदेशमा बसाइँसराइ गरी आउने ११,५०,६२६ छ । एक प्रदेशबाट अर्को प्रदेशमा बसाइँ सर्नेमध्ये सबैभन्दा बढी गण्डकीमा देखिन्छन् जहाँबाट पुरूष २३.५ प्रतिशत र महिला २५.७ प्रतिशत गएका देखिन्छन् । बसाईसराईमा लुम्बिनी प्रदेशको हिस्सा उच्च देखिन्छ ।

गण्डकी प्रदेशमा बसाई सरेर जानेहरूमा ३१.७ प्रतिशत, कर्णाली प्रदेशमा जानेहरू ४८.६ प्रतिशत र सुदुर पश्चिम प्रदेशमा बसाइ सर्नेहरूको २५.५ प्रतिशत लुम्बिनी प्रदेशका रहेका छन् भने काठमाण्डौ उपत्यकामा बसाई सरेर गएकाहरू मध्ये ८.१ प्रतिशत लुम्बिनी प्रदेशकै रहेका छन् ।

अन्तरजिल्ला बसाइँसराइको तथ्याड्क विश्लेषण गर्दा २०७८ मा मूलथलोका २० प्रतिशतले स्थायी आन्तरिक बसाइँसराइ गरेको देखिएको छ । वि.सं. २०१८ मा यो संख्या ४.७ प्रतिशत मात्रै थियो । देशका ७७ ओटै जिल्लाको तुलनात्मक विश्लेषण गर्दा १८ ओटा जिल्लाहरूले आफूनो जिल्लामा जन्मिएका २० प्रतिशत जनसड्ख्या गुमाएको देखिन्छ ।

१२ ओटा जिल्लाहरू पर्सा, रौतहट, नवलपरासी (दुबै), भक्तपुर, ललितपुर, कञ्चनपुर, काठमाण्डौ, कैलाली, रूपन्देही, बाँके र कपिलस्तुवाट दश प्रतिशतभन्दा कम अन्यत्र जिल्लामा बसाइँसराइ गरी गएका भेटिन्छन् । वि.सं. २०७८ को जनगणनाअनुसार बसाइसराइ गरी आएकाहरू काठमाडौमा ५७.२ प्रतिशत, भक्तपुरमा ५०.२ प्रतिशत र ललितपुरमा ४६.२ प्रतिशत छन् छन् । यी तीन जिल्लाबाहेक अरू १६ जिल्लाहरूमा खुद बसाइँसराइदर धनात्मक देखिन्छ भने ५८ जिल्लाहरूको खुद आन्तरिक बसाइसराइदर ऋणात्मक देखिन्छ ।

गाउँ छोड्नेको लर्को 
नेपालमा ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रतर्फको बसाइँसराइ उल्लेख्य छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा कूल बसाइसराइकर्ताहरू मध्ये ५१.३ प्रतिशत गाउँदेखि सहरमा बसाइ सरेको पाइन्छ । पहाड र तराईमा ग्रामीणबाट सहरी क्षेत्रतर्फको बसाइँसराइ उल्लेख्य (कमशः ४८.६% र ५५.५%) छन् । गाउँदेखि गाउँमा र शहरदेखि गाउँमा बसाइ सर्नेहरू क्रमसः १२ प्रतिशत र ३.९ प्रतिशत मात्र रहेका छन् ।

गाउँबाट सहर पस्नेहरू पहाडी क्षेत्रका भन्दा तराइ क्षेत्रका धेरै रहेको जनगणनाले देखाएको छ । तराईका बसाइसराइ कर्ताहरू ५५.५ प्रतिशतले गाउँदेखि सहरमा र पहाडका ४८.६ प्रतिशतले गाउँदेखि सहरमा बसाइ सरेका रहेछन् ।

लुम्बिनी प्रदेशमा गाउँदेखि सहर, गाउँदेखि गाउँ र सहर देखि सहरमा बसाइ सर्नेहरू क्रमशः ५१.५ प्रतिशत, २०.७ प्रतिशत र २२.३ प्रतिशत छ. गाउँदेखि गाउँमै बसाइ सर्नेहरूको अनुपात लुम्बिनी प्रदेशमा नेपालमै धेरै छ. वि.सं.२०७८को जनगणना अनुसार पहाडी जिल्लाका आधाभन्दा धेरै परिवारका कम्तिमा एक जना सदस्यहरू घर बाहिर रहेको पाइन्छ ।

गुल्मीका ४१.१ प्रतिशत, अर्घाखाँचीको ४२ प्रतिशत र पाल्पाका ३५ प्रतिशत परिवारका कम्तिमा एक जना सदस्य देश बाहिर रहेका पाइन्छ । लुम्बिनी प्रदेशको पहाडी जिल्लाहरूबाट बसाइ सरेर जानेहरूको संख्या निकै उच्च रहेको छ । राष्ट्रिय पञ्जीकरण विभागले सार्वजनिक गरेको आ.ब.२०८०÷८१ को पञ्जीकरण अभिलेख अनुसार यस प्रदेशमा पाल्पाको रामपुर नगरपालिका बाहेक अन्य सबै पालिकाहरूमा खुद बसाइसराइ दर ऋणात्मक रहेको छ ।

सो वर्ष पालिकाबाट बसाइसराइ लिएर अन्यत्र जानेहरूमा अर्घाखाँचीको शितागंगा नगरपालिका अगाडी छ, जहाँबाट त्यो वर्षमा मात्र २२३ परिवारका ७५८ जना बसाइ सरेर गएका थिए । यसैगरी गुल्मीको मुसिकोट नगरपालिकाबाट ६६५ जना, पाल्पाको तानसेन नगरपालिकाबाट ५७४ जना, गुल्मीको चन्द्रकोटबाट ५१८ जना र अर्घाखाँचीको पाणिनीबाट ५१० जनाले बसाइसराई लिएर अन्यत्र गएका थिए ।

संख्यात्मक रूपमा ति पालिकाहरूबाट धेरै मानिसहरू बसाई सरेर गएको भएपनि ति पालिकाहरूको कूल जनसंख्यासंग तुलना गर्दा खुद बसाइसराइ दर ऋणात्मक हुने पालिकामा कालिगण्डकी (–२७.६५), चन्द्रकोट (–२२.५६), रुरुक्षेत्र (–२२.३५), सत्यवती (–२१.७२), पाणिनी (–२१.१३), रिब्दिकोट (–२०.६२) र मुसिकोट (–२०.४५) अगाडी छन् । खुद बसाइसराइ –१० देखि –२० सम्म भएका पालिकाहरू २१ वटा रहेका छन्, यसमा भुमिकास्थान र शितगंगा बाहेक अन्य सबै गाउँपालिकाहरू हुन् ।

यसैगरी खुद बसाइसराई –१० भन्दा कम भएका पालिकाहरू पनि २१ वटा नै छन् । दोहोरो बसाईसराईले तराईका गाउँहरू रित्तिन पाएका छैनन्, तर पहाडका वस्तीहरूमा घरहरू पातलिदै गएका मात्र छैनन् कतिपय वस्तीहरू त मानव विहिन मृतगाउँँ समेत बनिरहेका छन् । विगतमा पहाडमा हुने कूलपुजा, चुनावको प्रचारप्रसार, शोकसभा र शुभकामना आदानप्रदान कार्यक्रमहरू समेत तराई र सहरमा हुन् थालेका छन् । अचेलका वर्षहरूमा पहाडी वस्तीहरूमा केटाकेटी र युवाहरूको चहलपहल हुनको लागि दशैँ तिहार नै आउनुपर्ने भएको छ ।

युवाहरू पढ्न र रोजगारीको लागि देशका विभिन्न ठाउँ तथा विदेशमा र युवा महिलाहरू छोराछोरी पढाउनको लागि सहरमा बस्न थालेपछि गाउँँघरहरू विस्तारै वृद्धवस्तीमा परिणत हुदै गएको देख्न सकिन्छ । युवाहरूको कमीले गर्दा पहाडमा खेतीपाती, पशुपालन, विकास निर्माणका कामहरू गर्न, सामाजिक र साँस्कृतिक कार्यहरू गर्ने मानिसको अभाव त खड्किदै गएको छ नै पहिले जस्तो जन्ती र मलामी सहर र मधेसबाटै जानु परिरहेको छ ।

परिवारमा एकजना विदेश गएपछि अरू सदस्यहरू आफ्नो थातथलो छोडेर तराई वा सहर झर्ने प्रवृति पछिल्लो समयमा निकै फस्टाएको छ । परिवारको खर्च, स्थानीय व्यवसाय पुरै रेमिट्यान्समा आश्रित भएको छ । घरमा रेमिट्यान्स आउने भएपछि परिवारका सदस्यमा काम गर्ने बानी घटेको मात्र छैन, अनुत्पादक रूपमा र विलासी रूपमा समय विताउने प्रवृति ग्रामिण क्षेत्रमा बढिरहेको छ ।

अन्न फल्ने खेतबारीहरू विस्तारै बनमाराले ढाकिदै गएका छन् । वन्यजन्तुको गर्दा अलिअलि खेतीपाती गरेकाहरूलाई पनि बाली जोगाउँन मुस्किल भैरहेको छ । गाउँमा केटाकेटीहरू बस्न छोडेपछि धेरै ठाउँमा विद्यार्थी अभावको कारणले विद्यालय नै गाभ्नुपर्ने वा बन्द गर्नुपर्ने अवस्था आएको छ । गाउँँगाउँँमा सडक, विद्युत, स्वास्थ्यचौकी त बनेका छन् तर निर्माण भएका पुर्वाधारहरू अनुत्पादक हुदै गएको प्रष्ट देखिन्छ ।

त्यसैपनि प्रजननदरमा भैरहेको गिरावटले गर्दा परिवार वस्तीमा जनसंख्या घटिरहेको छ. यसमाथि उच्च बसाईसराईले गर्दा वस्ती नै रित्तिने र शहरदेखि टाढा रहेका गाउँहरू जंगलमा परिणत हुने अवस्था आएको छ । सहरमा बस्न आएकाहरूलाई त्यत्तिकै गाउँमा जाउ भन्दैमा कोहि फर्कनेवाला छैनन् । खासगरी पहाडी ग्रामिण क्षेत्रमा रोजगारको सुनिश्चितता र पायकमा उच्च शिक्षा र स्वास्थ्य सुविधाको ग्यारेन्टी गर्न सकेमा मात्र मानिसलाई गाउँमै रोक्न सकिन्छ ।

वन उद्यम र कृषिको व्यवसायीकरणमा स्थानियहरूलाई जोड्ने, तराई र पहाडका गाउँका प्रत्येक सम्पदालाई पर्यटनसंग जोडेर पर्यटन प्रवद्र्धनको काम गर्ने, छरिएका वस्तीलाई सुविधा सम्पन्न एकीकृत वस्ती बनाउन राष्ट्रिय कार्यक्रम ल्याउने सक्ने हो भने केहि मात्रामा सहर पसेकालाई गाउँमा फर्काउन र अबको पुस्तालाई गाउँमा रोक्न सकिनेछ । राज्यले नागरिक तर्साएर गाउँमा पठाउनु र थाल ठटाएर बाँदर तर्साएर मकैबारी जोगाउँछु भन्नु उस्तै उस्तै नै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?