© 2026
वृक्षारोपण पारिस्थितिक प्रणालीको पुनर्स्थापना गर्ने र वन सम्बन्धी आवश्यकताहरूको परिपूर्ति गर्ने काम हो ।
बिग्रँदै गएको पारिस्थितिक प्रणालीको पुनर्भरणको लागि रुख नासिएको वन क्षेत्र, रुख बिरुवा नभएको अन्य क्षेत्रमा बिरुवा हुर्काएर हराभरा बनाउने, पारिस्थितिक प्रणालिको संरक्षण गर्ने, पानीका श्रोत तथा जमिनको संरक्षण गर्ने उद्देश्यले राज्यले वृक्षारोपणलाई आफ्नो कार्यक्रममा पार्ने गरेको छ । प्राकृतिक प्रकोप रोक्न बोटबिरुवाले मुख्य भूमिका खेल्छन् ।
बाढी पहिरो नियन्त्रण गर्न, वन डढेलोलाई नियन्त्रण गर्न, रुख रोप्ने पुरानै चलन हो । रुख बिरुवा नभए प्रकोप बढ्छ भन्ने चेत हाम्रा पुर्खामा भएकोले खानेपानीका श्रोतको नजिक, नदी किनार, वस्ती छेउछाउ विभिन्न किसिमका रुखहरू रोप्ने गरिन्थ्यो । देशमा घना वन हुँदासम्म वनमा वृक्षारोपणको अभ्यास भएकै थिएन । वन हराउदै जाँदा मानिसका वन पैदावार सम्बन्धी आवस्यकताहरू पुरा गर्न कठिन भएपछी मानिसहरूले आवस्यकता अनुसार खाली जग्गामा वृक्षारोपण गरि रुख हुर्काउने कार्य शुरु गरेका छन् ।
पछिल्लो समयमा सडक सौन्दर्यिकरणका लागि वृक्षारोपण गर्ने चलन पनि बढ्दो छ । मानव सभ्यताको शुरुवात संगै बिरुवा रोप्ने र हुर्काउने काम हुँदै आएको पाइन्छ । धार्मिक कारण र प्रकृति सन्तुलन चेतको कारण मानिसहरूले परापुर्व कालदेखि विभिन्न किसिमका विरुवाहरू रोप्ने गरेका थिए । राज्यले पनि बिरुवा रोप्ने र जोगाउने कामलाई प्राथमिकतामा राखेको थियो भन्ने कुरा ४ सय वर्ष पहिलेको रामशाहको थिति अध्ययन गर्दा थाहा हुन्छ ।
बेलायत घुमेर आएपछि जंगबहादुर राणाले काठमाण्डौ शहरका विभिन्न स्थानमा बिरुवा रोप्ने मात्र काम नगरी त्यसलाई हुर्काउने दिगो आर्थिक श्रोतको व्यवस्था पनि गरिदिएका थिए । राणाकालमा नेपालका विभिन्न धार्मिक क्षेत्रको वरिपरी वृक्षारोपण गर्ने, वन र बगैचा गराउने काम भएको देखिन्छ । नेपालमा वि.स. २००२ देखि सरकारी स्तरबाट वृक्षारोपण गर्न थालिएको थियो ।
पंचायती व्यवस्थाको उत्तरार्धतिर वृक्षारोपण गर्ने अभियानले व्यापकता पाएको थियो । २०४६ पछी सामुदायिक वन समुहहरूले वृक्षारोपणलाई तीव्रता दिएपनि सरकारीस्तरबाट हुने वृक्षारोपणमा कमि आएको थियो । सरकारले औपचारिकता दिनको लागि हरेक वर्ष वृक्षारोपण कार्यलाई निरन्तरता दिदै आएको भएपनि वि.स.२०७१ देखि शुरु भएको वन दशक कार्यक्रमले वृक्षारोपणलाई ब्यापक बनाएको थियो ।
वि.स. २०७५ देखि असार १४ लाई राष्ट्रिय वृक्षारोपण दिवस मनाउने निर्णय गरेर यो दिनमा देशव्यापी रूपमा वृक्षारोपण गर्ने गरिएको छ । गत वर्षदेखि सगरमाथा वृक्षरोपण महाअभियान नाम दिएर वृक्षारोपणको २० वर्षे अभियान समेत शुरु गरिएको छ ।
तिनवटै सरकारका नीति कार्यक्रममा वृक्षारोपणले स्थान पाएकोले असार महिनामा हरेक दिन देशका कुनै न कुनै स्थानमा विशाल वृक्षारोपण कार्यक्रमको आयोजना गरिएकै हुन्छ । पछिल्लो समयमा सामाजिक सस्थाका कार्यक्रममा वृक्षारोपण नछुट्ने कार्यक्रम बनेको छ ।
कुनै दिवस, उत्सव पारेर कुनै ठाउँमा गएर बिरुवा रोप्ने, फोटो खिचाउने, समाचार बनाउन लगाउने र रोपेका विरुवाको संरक्षणको बारेमा चासो नदिने प्रवृति बढ्दो छ । यहि कारणले गर्दा एउटै क्षेत्रमा हरेक वर्ष विभिन्न सस्थाहरूले वृक्षारोपण गर्न पाएको लज्जास्पद दृश्य हेर्ने अवसर मिलिरहेको छ । अपवाद बाहेक सामाजिक सेवाको नाममा गरिने यस्ता वृक्षारोपणले प्रकृतिको पुनस्र्थापनामा योगदान दिएको देखिदैन ।
नेपालमा जेठको अन्तिम सातादेखि फाल्गुनसम्म कतै न कतै वृक्षारोपण चलिरहेकै हुन्छ । दोश्रो पंचवर्षीय योजनादेखि नेपालका हरेक आवधिक योजना, वार्षिक योजना र वन मन्त्रालयका कार्य योजनाहरूमा वृक्षारोपणले स्थान पाएको देखिन्छ ।
सरकारी तथ्यांकलाई हेर्दा आ.ब. २०६६/६७ देखि २०७/७६ सालको अवधिमा सरकारी निकायबाटमात्र १४ करोड ४५ लाख १९ हजार बिरुवा उत्पादन भएको देखिन्छ । आ.ब. २०७६/ ७७ पछिका ५ आर्थिक वर्षमा संघीय र प्रदेश मन्त्रालय अन्तर्गतका निकायले वृक्षारोपण प्रयोजनका लागि ९ करोड २० लाख भन्दा बढी बिरुवा उत्पादन खरिद र वितरण गरेको पाइन्छ ।
सामुदायिक वन र निजि नर्सरीहरूले त्यसको आधा परिमाणमा बिरुवा उत्पादन गरेको मान्ने हो भने नेपालमा वार्षिक ३ करोड भन्दा बढी विरुवाहरू वृक्षारोपण प्रयोजनका लागि उत्पादन हुने गरेको अनुमान गर्न सकिन्छ । यी विरुवाले वार्षिक १५ हजार हेक्टर भन्दा बढी जमिनमा वृक्षारोपण भएको हुनुपर्छ. तर नेपालमा वार्षिक कति क्षेत्रमा वृक्षारोपण भयो? कति बिरुवा हुर्किए?
रोपेका विरुवाहरूको अवस्था के छ भन्ने बारेमा कुनै निकायसंग पनि वास्तविक तथ्यांकहरू छैनन् । स्थानीय, प्रदेश र संघीय सत्तामा बसेका व्यक्तिले लावालस्कर सहित यस्ता कार्यक्रम आयोजना गर्ने र वन कर्मचारीले पनि उनीहरूलाई खुशी बनाएर बजेट सक्ने कुरामा ध्यान दिने हुदा यस्ता भब्य कार्यक्रमले वृक्षारोपण कार्यक्रमको धज्जी उडाएका छन् ।
नेपालमा हरेक वर्ष सरकारी निकाय र संघसस्थाहरूले करोडौ खर्चेर लाखौ बिरुवा रोपिरहेका छन् । पछिल्ला ३ दशकमा मात्र वनक्षेत्र, सार्वजनिक जमिन, निजि जमिन र सडक किनारमा गरिएका यस्ता वृक्षारोपणमा रोपिएका रुखहरू जोगिएको भए अहिलेसम्म नेपालको घना वनक्षेत्र बाहिर त्यो भन्दा ठुलो वन तयार भैसक्नुपथ्र्यो । तर अहिलेपनि वन क्षेत्रमा रुख विरुवाको संख्या घट्दै गएको, वस्तीहरूमा हरियाली घटिरहेको अनि नेपालका रैथाने वनस्पतिहरू हराउदै गएको जस्ता दृष्यहरू बढिरहेका छन् ।
वन व्यवस्थापन गर्दा पुनरुत्थानको प्रक्रियाबाट राम्रै संख्यामा रुख विरुवाहरू हुर्किएको र जंगल बढेको देखिन्छ । मानिसहरूले बसाई सरेकोले पनि पहाडी क्षेत्रमा वनको फैलावट र रुखको घनत्व बढेको देखिन्छ । तर, वृक्षारोपण गरेरै वनलाई घना बनाएको र प्राकृतिक रूपमा हरियाली फर्किएको भने विरलै देख्न पाइन्छ । वृक्षारोपणबाट वन पुनर्स्थापना र हरियाली वृद्धि हुन नसक्नुमा धेरै कारणहरू छन् ।
मुख्य कारण भनेको बिरुवा रोप्ने तर त्यसको रेखदेख नगर्ने प्रवृति हो । अधिकांश स्थानमा बिरुवा रोपेर संरक्षणको व्यवस्था नगर्ने, तारबार गरिहालेपनि त्यसको मर्मत सम्भार नगर्ने, गोडमेलका कामहरू नहुने जस्ता कारणले धेरै विरुवाहरू रोपेको केहि महिना भित्रमै हराएको देखिन्छ । अर्को मुख्य कारण भनेको वनस्पतिको छनौट र स्थान चयनमा समस्या हो ।
वृक्षारोपणमा स्थानीय वनस्पतिलाइ महत्व नदिइने, स्थानीय समुदायको आवस्यकता पुरा गर्न सक्ने वनस्पतिको साटो आयातित वनस्पतिहरू रोप्ने कामले वृक्षारोपणले स्थानीय अपनत्व पाउन सकेको देखिदैन ।
वृक्षारोपण गर्दा माटोको बनावट, धरातलीय स्वरूप, पानीको उपलब्धता, मौसमको अवस्था जस्ता कुराहरू ख्याल नगर्दा संरक्षणका सबै उपायहरू अपनाउदा पनि बिरुवा हुर्कन नसक्ने, मर्ने जस्ता समस्याहरू देखिने गरेका छन् । आयोजनाहरूको वनको जग्गा प्रयोग गरे वापत सोधभर्ना स्वरूप प्राप्त जग्गामा वृक्षारोपण गर्नुपर्ने नीतिगत व्यवस्था छ । तर यो काम प्रभावकारी हुन नसकेको महालेखाका प्रतिवेदनहरूले औल्याईरहेका छन् ।
वन अतिक्रमण हटाएपछि त्यो स्थानमा वृक्षारोपण गर्नुपर्ने कानूनी व्यवस्था अनुसार खालि गरिएको वन क्षेत्रमा डिभिजन वन कार्यालयहरूले वृक्षारोपण गर्ने गरेका छन् । तर त्यस्ता क्षेत्रमा वन अतिक्रमणमा संलग्नहरूले नै बिरुवा नष्ट गर्ने, तारबार नष्ट गर्ने कामहरू गरेर वृक्षारोपणलाइ असफल गराइरहेका हुन्छन् ।
सरकारी खालि जग्गामा वृक्षारोपण गर्दा पहिले त्यो स्थानलाई चरिचरण, खेल मैदान वा अन्य काममा प्रयोग गरिरहेका मानिसहरूले नै बिरुवा हटाईदिने गरेको पाइन्छ । शहरी क्षेत्रमा गरिएको वृक्षारोपण धुवाँ, धुलो, प्रदुषण, फोहरमैला र छाडा चौपायाको कारण असफल हुने गरेको छ । नेपाल सरकारले २०८२–२१०२ (तदनुसार सन् २०२५–२०४५) सम्म “सागरमाथा वृक्षरोपण महाअभियान“ संचालन गर्ने घोषणा गरेको छ ।
यस अभियान अन्तर्गत हरेक वर्ष आषाढ १४ देखि श्रावण १५ सम्म नेपाल भित्रका वृक्षरोपण गर्न उपयुक्त खाली-पर्ती जग्गा, नदी-खोला-नहर किनारा, लोकमार्ग दायाँवाँया, सडक किनारा, कार्यालय परिसर, शैक्षिक संस्थाको प्रांड्गण, सार्वजनिक तथा निजी जमिन लगायतका क्षेत्रमा उपयुक्त प्रजातिका वनजन्य, फलफूलजन्य तथा सौन्दर्यपरक रुख बिरुवा, जडिवुटी तथा उच्च मुल्यका वनस्पतिको वृक्षरोपण गर्ने र सो को संरक्षण गर्ने काम समेत गर्ने घोषणा गरिएको छ ।
नेपालको संविधान बमोजिमको स्वच्छ वातावरणको मौलिक हक र वातावरणीय सन्तुलन सम्बन्धी राज्यको नीति एवं नेपाल सरकारको वन तथा वातावरण सम्बन्धी नीति र सन् २०४५ सम्म कार्बन उत्सर्जन शुन्य गर्ने प्रतिवद्धता अनुरूप प्रकृति र वातावरण संरक्षण गर्ने उद्देश्यले शुरु गरिएको यो अभियान अन्तर्गत वार्षिक ३ करोड बिरुवा रोप्ने र त्यसको संरक्षणको व्यवस्था समेत मिलाइनेछ ।
यी कामहरू इमान्दारीका साथ् गर्ने हो भने वनको पुनर्स्थापना र वस्ती क्षेत्रमा हरियाली प्रवद्र्धन अवस्य पनि हुने नै छ । तर, सरकारको कार्यक्रमलाई सफल पार्ने नाममा के का लागि ? कहाँ? कस्तो किसिमको वृक्षारोपण गर्ने? त्यसबाट कसले कसरि लाभ प्राप्त गर्ने भन्ने स्पष्ट खाका तयार नगरी महाअभियानमा काम देखाउनको लागि मात्र सरकारी निकायहरूले वृक्षारोपण गर्ने र अभियन्ताहरूले क्यामेरामुखी वृक्षारोपणमा रमाईरहने हो भने यसले समय र पैसाको दुरूपयोग मात्र हुदैन, पारिस्थितिक प्रणाली र सामाजिक जीवनमा समेत नकारात्मक असर परिरहनेछ ।