Butwal Today

प्रविधि, प्रयोग र प्रतीक्षा !

७ असार २०८३, आइतबार
अ+
अ-

‘अर्जेन्टिनी राष्ट्रपति जाभियर मिलेइले गैह्र–मानवीय कम्पनी वा निगमहरूलाई कानुनी अस्तित्वको परिचय सिर्जना गर्ने घोषणा गरेछन् ।

यसले एआई मोडेलहरूलाई कानुनी व्यक्तिको दर्जा दिन सक्ने सम्भावना बढाएछ, जसले सम्पत्तिको मालिक बनाउन, कामदार राख्न, मुद्दा हाल्न र चन्दा दिन सक्षम बनाउँछ । एआईलाई कानुनी मान्यता दिँदा वित्तीय, आर्थिक र राजनीतिक प्रणालीमा पहुँच पुग्ने तथा मानवरहित कम्पनीहरूले मान्छेमाथि शासन चलाउने ‘एआई राज्य’ सिर्जना हुने जोखिम छ ।

एआईलाई कानुनी व्यक्तिको हैसियत दिन लागेका मुलुकहरू इतिहासमा अहिलेसम्म देखिएभन्दा पनि डरलाग्दा जोखिम निम्त्याउने बाटोमा छन् । इआईलाई कानुनी व्यक्तिको हैसियत दिँदा त्यसले केवल कम्पनी राज्य चलाउँदैन ।

अझ एआई राज्य सिर्जना गर्छ, जहाँ मान्छेको सट्टा मानवरहित कम्पनीहरूले मान्छेमाथि शासन चलाउन सक्छन् ।’ संसार कहाँ पुग्यो र हामी कहाँ छौँ ? बुझ्नका लागि सजिलो होला भनेर टिपेर पस्किएको हो उल्लेखित सामग्री । अझैपनि पूर्वराजा, पार्टी, नेता, भगवानले उद्दार, उपचार र उपकार गर्छन् भनेर, तिनैको आदेश मानेर उफ्रेदै छौँ हामी । देशभन्दा दल ठुलो, दलभन्दा आफूलाई मन पर्ने वा मद्दत गर्ने नेता ठुलो मानेर चल्नु हाम्रो बाध्यता होला । तर, त्यसले समय, प्रविधि र प्रयोगका बारेमा बुझेर चल्दा भन्दा बढी पीडा नदेला र ?

सोच्न पर्ने समय हो यो– मान्छेका लागि सिद्धान्त कि सिद्धान्तका लागि मान्छे ? मान्छेका लागि धर्म कि धर्मका लागि मान्छे ? मान्छेका लागि प्रविधि कि प्रविधिका लागि मान्छे ? मान्छेका लागि राजनीति कि राजनीतिका लागि मान्छे ? प्रविधिका लागि पत्रकार कि पत्रकारका लागि प्रविधि ?

देशका लागि जनता कि जनताका लागि देश ? आदि विवादका विषय बनेका छन् अहिले । प्रविधिले, राजनीतिले, धर्मले, सिद्धान्तले, देशभक्तिले, संविधानले, कानुनले र ले .. ले भ्रम सिर्जना गरेका हुन सक्छन् । सोच्नुपर्ने विषयचाहिँ के हो भने मान्छेको उत्पत्ति भएपछि मान्छेकै जीवनलाई सहज र सम्पन्न बनाउन निर्मित हुन् सवै ।

तर मानव अधिकारको रक्षाका लागि भनेर मान्छेकै हत्या गरिनुलाई पनि जायज ठान्न पुग्छन् कसैले । धर्मको रक्षाका लागि भनेर नरसंहार मच्चाउन पुग्छन् कतिपयले । कदापि जायज होइन यो । बुझ्न पर्ने यत्ति हो ।

एआई अर्थात् कृत्रिम वुद्धिमत्ता विश्वभरि चर्चामा छ अहिले । राजनीतिमा, अर्थनीतिमा, शिक्षामा, स्वास्थ्यमा, पर्यटनमा, पत्रकारितामा, न्यायमा, सुरक्षामा, सूचनामा, ज्ञानमा, विज्ञानमा … ! त्यसले के भ्रम पारेको देखिँदै छ भने कतै मान्छेको ज्ञानमाथि एआईले धावा बोल्ने त हैन ? यन्त्रमानव अर्थात् रोबोर्टले कतै साँच्चैका मान्छेलाई विस्थापित त गर्दैन ? गर्दैन । निर्धक्कसँग भन्न सकिन्छ यति ।

किनकि त्यसमा आफै सोचेर व्यक्ति, परिवार, गाउँ, सहर, समाज, देश र विश्व परिवेशका यावत समस्या समाधान गर्न सक्ने क्षमता हुँदैन । त्यसलाई परिचालन गर्नका लागि पनि मान्छे नै चाहिन्छ । मान्छेकै जीवनलाई सहज पार्न उत्पादन गरिएको हुनाले ।

एआईले मान्छेलाई चलाउँदैन, मान्छेले चलाउने हो एआई । तर कमजोर मान्छे, पत्रकार, राजनीतिज्ञ, वुद्धिजीजीवी आदि एआईको दास बन्दा आफ्नो मन र मस्तिस्कको अस्तित्व गुमाउन सक्छन् । जसरी मदिरा मान्छेले पिउँछ पहिले, लत बस्दै गएपछि मदिराले मान्छेलाई सिध्याउँछ ।

एआई पनि त्यस्तै होला । एआईको औजार बन्ने कि आफुले प्रयोग गर्ने भनेर सम्बन्धित मान्छेले आफै बुझेर गर्ने हो । सवै उसैलाई सुम्पे आफै सिद्धिने हो । दुनिया सिध्याउने हो । के गर्ने हो ? राजनीति र अर्थनीतिमा मात्रै हैन नेपाली पत्रकारितामा पनि एआईको प्रयोग हुन थालेको छ अचेल । सहयोगीका रूपमा लिनु नाजायज हैन, मानिदैन । तर त्यसैको भर पर्नु र दुरूपयोग गर्नुचाहिँ हुँदैन कदापि ।

किनकि एआईले दिएका र दिने सूचनाहरू शतप्रतिशत सत्य र भरपर्दा हुँदैनन् । त्यसलाई सही र गलत छुट्याएर प्रयोग गर्ने क्षमता सम्बन्धित अर्थशास्त्री, नेता र पत्रकारमा हुनैपर्छ । त्यस्तो क्षमता सम्बन्धित व्यक्तिमा भएन भने, एआईले उसैलाई सिध्याइदिन्छ । मदिरा मान्छेले पिउने कि मान्छेलाई मदिराले सिध्याउने भनेझै हो ।

आधुनिक प्रविधिले मान्छेको व्यक्तिगत रुचि र आवश्यकतादेखि लिएर सिङ्गै समाज र बहुसँख्यक जनसमूहको मनोविज्ञान बुझेर सोही अनुसारका सामग्र्रीको आविस्कार तथा उत्पादन गरेर व्यवसायीकरण गरेको छ । त्यसैले अचेलका मान्छेले एआई (च्याटजीपिटी) मार्फत् धेरै कुरा सोधेर काम गर्छन् । राम्रो हैन त्यो । मान्छेको निजी वौद्धिक क्षमता ह्रास भएर एआईको दास बन्ने सम्भावना बढनाले ।

आधुनिक प्रविधिले नयाँ पुस्तालाई अधैर्य बनाएको छ । छिटो, छोटो र मिठो सूचना र सामग्री खोज्छ । सोही अनुसार कसरी दिने/लिने टिक्ने र बिक्ने विषयको व्यवसायीकरण भएको छ । त्यसले हाम्रो मन मस्तिस्क सहित सिङ्गै समाज, सभ्यता, संस्कृति, व्यवस्थामा खलल पु¥याएको छ । यो कुरा बुझेन पुरानो पुस्ताले । नयाँ पुस्ता प्रविधिकै नसामा छ । समयानुसार समन्वय र व्यवस्थापनको खाँचो खट्केको छ ।

पुरानो दलीय राजनीतिले पुरानै विचार, सिद्धान्त, आचार, आदर्श र प्रणालीकै रटान ग¥यो र गर्दै छ अझै । राजनीतिक संगठन सहित चुनाव प्रचारमा पनि नयाँ प्रविधिको प्रयोग ग¥यो र पुरानालाई पछा¥यो रास्वपाले । बालेन नेतृत्वको सरकारले प्रविधिको प्रयोग गरेरै धेरैतिरका तथ्यांक संकलन, संयोजन, समन्वय, व्यवस्थापन र परिचालन गरेको छ होला ।

यस्ता विषयमा अनभिज्ञ रहेछन् पुराना दल, कर्मचारी, न्यायालय, सुरक्षा निकाय, शिक्षक, पत्रकार आदि इत्यादि । पुराना दलको पकड कहाँ कति छ, तिनीहरूले के गर्न सक्छन् र सक्दैनन् भन्ने बारेमा कोठामै बसेर सवैको तुजुक तौलेर सोही अनुसार शक्ति र व्यक्ति परिचालन गर्ने भएपछि प्रधानमन्त्री किन जाने फोहोरी दोहोरी खेल्न र तनाव झेल्न सदनमा ? नगएका होलान् त्यसैले ।

यस्ता विषय प्रविधिमा पहुँच पुगेका सीमित रास्वपाका नेतालाई मात्र थाहा होला, अरूलाई नहोला र बुझ्दैनन् सवैले । काठमाण्डौ महानगरको मेयरको चुनावमा प्रयोग गरेको प्रविधि आम निर्वाचनमा पनि गरेर बाजी मारेका हुनसक्छन् बालेनले । प्राविधिक (इन्जिनीयर) बालेनले प्रयोग गर्ने प्रविधि बुझेनन् अरूले । अहिले पनि बालेनको टिम मौन देखिन्छ । बोले पनि अत्यन्तै कम बोलेको सुनिन्छ ।

सवैको शक्ति नाप–जोख गरेर, आवश्यक परे मात्रै बोल्ने, नत्र नबोल्ने, नतिजाले बोल्ने हुनाले । राम्रो हो यो । तर प्रविधि नबुझेकालाई बुझ्न समय लाग्ने भो । पुरानो पुस्तालाई गाह्रो हुने हो । तपाई–हामीजस्ता सर्वसाधारणले त हेर्ने हो, कुर्ने हो । जस्तो पर्छ उस्तै व्यहोर्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?