© 2026
गर्मी जति बढ्दै छ, त्यति नै झ्याप झ्याप विद्युत् कटौती हुँदा तराइबासी व्याकुल हुनुपरेको छ ।
छिनमै जाने र घण्टौँपछि आउने बिजुलीले जनतालाई आक्रान्त बनाएको छ । विद्युत् प्राधिकरण उपभोक्ताप्रति जबाफदेही हुन सकेको छैन् । यस्तो लाग्छ– विद्युतका कमर्चारी र व्यवसायीबिच मिलेमतोकै कारण यो समस्या बढिरहेको छ ।
गर्मीमा लाईन जाने समस्याका कारण उपभोक्ताहरू एसी, कुलर, पंखा लगायतका उपकरण महंगो मूल्यमा किन्न बाध्य हुन्छन् । विगत एक महिनादेखि बढेको गर्मीले जनजीवन नराम्रोसंग प्रभावित भैरहेको बेला विद्युत् प्राधिकरणकै कारण जनजीवन थप आक्रान्त बनेको छ । छिनैभरमा आउने र जाने (विद्युत् ट्रिपिङ) समस्याले स्थानीयले ठूलो सास्ती भोग्नुपरेको छ ।
एकातिर असारको चर्को र उखरमाउलो गर्मी र अर्कोतिर विद्युतको अनियमितताले पंखा समेत नचल्दा जनजीवनमा ठूलो असर परेको छ । लो भोल्टेजका कारण अहिले पंखा नचल्नेमात्र होइन फ्रिजसमेत चलाउन समस्या परेको छ ।
पानी तान्ने मोटर लो भोल्टेजकै कारण विग्रिएको बुटवलका स्थानीयको गुनासो छ । बिजुली आउने जाने समस्याले उपभोक्तालाई हैरान त बनाएको छ नै विद्युतीय उपकरण बिग्रने जोखिम पनि बढाएको छ । विद्युत् प्राधिकरणले भने समस्या समाधानमा ध्यान दिएको छैन् । बरु अरू कारण देखाएर समस्यालाई झनै चर्काउने गरिरहेको छ । बिडम्बना के छ भने बर्षा लागेपछि विद्युत् उत्पादन बढेको भन्दै नेपाल विद्युत् प्राधिकरणले भारततर्फ बिजुली निर्यात गर्न थालेको छ । यसैपनि बर्षामा उत्पादन हुने बढी बिजुली जोगएर राख्न त सकिँदैन ।
खपतभन्दा बढी बिजुली नबेच्ने हो भने खेर जान्छ । त्यो अवस्थामा भारत बिजुली निर्यात स्वाभाविक देखिन्छ तर पिक आवरमा नेपालीलाई बिजुली काटेर भारत बेच्नु नेपालीमाथि सरासर अन्याय हो । नेपाल विद्युत् प्राधिकरणकै लापरवाहीका कारण विद्युत् आपूर्ति अनियमित भएको यथार्थ हो । विद्युत् आपूर्तिमा देखिएको अनियमितताको प्रकृति हेर्दा वितरणमा प्रयोग भएका कमसल उपकरण यसको कारक हुन ।
किनभने विद्युत् प्राधिकरणले हरेक बर्ष ट्रान्सफरमर परिवर्तन गरेको छ तर समस्या ज्यूँकात्यूँ देखिन्छ । विद्युत् काटने नै हो भने पूर्व जानकारी दिएर अर्थात विद्युत् कटौतीको कार्यतालिका नै निकाल्नुपथ्र्यो । तर, अहिले विना जानकारी उपभोक्तामाथि विद्युत् कटौती थोपर्नु न्यायसंगत होइन । यदि उपकरणमा सुधार र सुदृढीकरण गर्नुपर्ने भए तत्काल गर्नुपर्दछ ।
अरू कारणले आपूर्तिमा गडबडी भएको भए त्यसको जानकारी दिन सक्नुपर्दछ । तर, विद्युत् प्राधिकरण पारदर्शी बन्न सकेको छैन् । जुन जोगी आएपनि कानै चिरेको भनेजस्तै भएको छ । विगतमा कांग्रेस र एमालेले गरेनन भनियो तर नयाँको अवस्था पनि त्यही देखियो ।
मुलुकमा पात्र फेरिए तर प्रवृत्ति फेरिएन । अहिले लो भोल्टेजका कारण विद्युतीय उपकरण विग्रने समस्या बढेको छ भने बालबालिका विरामी पर्ने समस्याका साथै साँझमा बिजुली बत्ती चहकिलो नबल्दा बालबालिकालाई पढ्न समेत समस्या परेको छ ।
त्यसै त बैज्ञानिकहरूले एल निनोका कारण यो बर्ष खडेरी पर्ने र गर्मी धेरै हुने भविष्यबाणी गरेका छन् । त्यसमाथि विद्युत् प्राधिकरणले समेत यही बेला चिन्ता बढाउने काम गरेको छ । तराईमा यो बर्ष अधिक गर्मीको महसुस गरिएको छ । जनमानसमा विद्युत् प्राधिकरणमाथि गंभीर आरोप पनि लाग्दै आएको छ । नेपालमा सरकारी विद्युत् प्राधिकरणको एकलौटी छ ।
जनताले विकल्पमा अरू क्षेत्रबाट विद्युत् उपयोग गर्न नसक्ने अवस्था छ । जसका कारण आम उपभोक्ता प्राधिकरणको विद्युतमै भर पर्नुपर्ने बाध्यता छ । देश युवाको नेतृत्वमा चलिरहेको भनिएको छ तर, तराईका जनतालाई गर्मीमा विद्युतको सास्ती कहिलेसम्म ? बालेन सरकारले जनतालाई जवाफ देऊ ।