Butwal Today

आरोग्य पर्यटनमा चासो र लुम्बिनी प्रदेशको तयारी

३ असार २०८३, बुधबार
अ+
अ-

आधुनिक विश्वमा व्यस्त जीवनशैली, मानसिक तनाव र वातावरणीय प्रदूषणका कारण मानिसहरू शारीरिक तथा मानसिक रूपमा थकित भइरहेका छन् । मानिसहरू अहिले मानसिक शान्ति, खुसी, आनन्द र स्वस्थताको लागि भौँतारिने क्रम बढिरहेको छ ।

घुमफिरबाट रमाइलो मात्र प्राप्त गर्नु भन्दा पनि शरीर, मन र आत्माको पुनर्जीवन तथा आरोग्यता प्राप्तिका लागि यात्रा गर्ने मानिसहरूको संख्या बढिरहेको छ । यात्रा वा घुमफिरबाट मनोरंजन मात्र प्राप्त गर्नुभन्दा पनि शारीरिक तथा मानसिक आरोग्यता प्राप्त गर्नको लागि गरिने पर्यटनलाई ‘आरोग्य पर्यटन’ -Wellness Tourism_ भनिन्छ ।

नेपालको पहाडी र हिमाली भूभागको अनुपम बनावट, ती क्षेत्रमा पाइने हावापानी र वनस्पतिका साथै योग, ध्यान र ज्ञान दिने विभिन्न धार्मिक स्थलहरू रहेकोले नेपाल सदियौंदेखि योग, ध्यान र शान्तिको खोजी गर्नेहरूको रोजेको थलो बन्दै आएको छ ।

प्राचिनकालमा ऋषिमुनिहरूको ध्यान र तपस्या गर्न हिमालय र पहाडको कुना कन्दरामा पुग्ने गरेको पाइन्छ भने आधुनिककालमा शान्तिको खोजीमा मानिसहरू लुम्बिनी, मुक्तिनाथ, देवघाट, स्वर्गद्वारी जस्ता स्थानमा पुगिरहेका छन् । तातोपानी कुण्डमा नुहाएर स्वस्थता महसुस गर्न चाहनेहरू मात्र हैन शहरी क्षेत्रमा स्पाहरूमा पुगेर आनन्द लिने जमात पनि अहिले देखिएको छ ।

यी सबै कुराहरू आरोग्य पर्यटन भित्र पर्ने गतिविधिहरू हुन् । नेपाल प्राकृतिक र साँस्कृतिक रूपमा नेपालमा आरोग्य पर्यटनका प्रचुर सम्भावनाहरू रहेका छन् । नेपालमा तराईको न्यानो मौसमदेखि हिमालयको शीतल र स्वच्छ वातावरण उपलब्ध छ । विभिन्न उचाइमा पाइने ऋतुकालीन हावापानी र पारिस्थितिक प्रणाली आरोग्य, उपचार र साधनाका लागि अनुकूल छन् ।

छोटो दुरीमा यात्रा गर्दा समेत फरक फरक प्राकृतिक वातावरणको अनुभव गर्न सकिने भएकोले लामो यात्रा र धेरैदिनको बसाइ गर्नेहरूको लागि मात्र नभएर छोटो यात्रा गर्नेहरूको लागि पनि यहाँको भौगोलिक र प्राकृतिक वातावरणले शारीरिक स्फूर्ति र मानसिक शान्ति दिलाउन सक्छन् । हिमालय क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी तथा सुगन्धित तेलहरू पञ्चकर्म, शिरोधारा र विभिन्न आयुर्वेदिक उपचारका लागि कच्चापदार्थका रूपमा देशभित्रै उपलब्ध छन् ।

नेपाल आयुर्वेद, प्राकृतिक चिकित्सा, सोवा रिग्पा (हिमाली चिकित्सा), योग र ध्यानको ऐतिहासिक केन्द्र हो । नेपालका सनातन तथा बौद्ध परम्पराहरू आरोग्यका आधार हुन् । नेपालको सबै मौसम र सबै स्थानहरू आरोग्य र मानसिक शान्ति चाहनेहरूको लागि उपयुक्त छन् । त्यसैले आरोग्य पर्यटनले नेपालको पर्यटन क्षेत्रलाई मौसमी -Seasonal_ बाट बाह्रैमासे -Perennial_ बनाउन मद्दत गर्दछ ।

यसले उच्च खर्च गर्ने र लामो समयसम्म बस्ने गुणस्तरीय पर्यटकहरूलाई आकर्षित गर्छ, जसबाट देशले ठुलो मात्रामा विदेशी मुद्रा आर्जन गर्न सक्छ । यसका साथै स्थानीय स्तरमा रोजगारी सिर्जना, परम्परागत ज्ञानको संरक्षण, र ग्रामीण अर्थतन्त्रको सुदृढीकरणमा आरोग्य पर्यटनले ठूलो योगदान पु¥याउन सक्छ ।

नेपाल सरकारले “आरोग्य पर्यटन गन्तव्य नेपाल, आर्थिक समृद्धिको आधार“ भन्ने मूल सोचका साथ १० वर्षे (२०२६–२०३५) राष्ट्रिय आरोग्य पर्यटन रणनीति कार्यान्वयनमा ल्याएको छ । यो रणनीतिले नेपाललाई विश्वकै एक प्रमुख आरोग्य गन्तव्यका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य लिएको छ भने सन् २०३० सम्ममा नेपाल आउने कुल अन्तर्राष्ट्रिय पर्यटकहरूमध्ये ११ प्रतिशत पर्यटक आरोग्य पर्यटनका लागि भित्राउने लक्ष्य राखिएको छ ।

पर्यटन बोर्ड र सरोकारवाला निकायहरूको समन्वयमा ‘आरोग्य दशक’ को घोषणा गरिएको छ भने सन् २०२७ लाई आरोग्य पर्यटन वर्षका रूपमा मनाउने नीतिगत घोषणा गरिएको छ । नेपाललाई विश्वस्तरीय आरोग्य गन्तव्य बनाउन देशका कम्तीमा ५ वटा प्रमुख क्षेत्रहरू (जस्तैः लुम्बिनी, पोखरा, काठमाडौँ उपत्यका आदि) मा एकीकृत आरोग्य केन्द्रहरूको सञ्जाल निर्माण गर्ने ,नेपालको रैथाने ज्ञान, हिमालयन हिलिङ, आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, ध्यान र जडीबुटीजन्य उपचारलाई पर्यटन सेवासँग एकीकृत गर्ने नीति कार्ययोजनाले अघि सारेको छ ।

नेपालको जैविक विविधता र प्राकृतिक वातावरणलाई मानसिक र शारीरिक स्वास्थ्य अनुकूल पर्यटकीय उत्पादनका रूपमा विकास गर्ने, आयुर्वेदिक र प्राकृतिक दर्शन अनुरूप, प्राकृतिक वातावरण र ऋतु अनुसारका विशेष स्वास्थ्य तथा ध्यान प्याकेजहरू पर्यटकलाई उपलब्ध गराउने साथै योगा, स्पा, प्राकृतिक चिकित्सा र आयुर्वेद क्षेत्रमा सेवाको गुणस्तर सुनिश्चित गर्न निश्चित मापदण्ड, निर्देशिका र प्रमाणीकरणको व्यवस्था गर्ने र यस क्षेत्रका लागि २,००० नयाँ स्वास्थ्य तथा आरोग्य व्यवसायी÷जनशक्तिलाई राष्ट्रिय स्तरको तालिम र प्रमाणीकरण प्रदान गर्ने गरी कार्यक्रमहरू तय गरिएका छन् ।

नेपालमा आधुनिक पर्यटनको करिब ६ दशक पूरा हुँदासम्म गुणस्तरीय पर्यटकलाई आकर्षित गर्न नसकिएकोले नेपालको विशेषतामा आधारित पर्यटनको राम्रो सम्भावना देखेर विगत एक दशक यता सरकारी र निजि क्षेत्रबाट आरोग्य पर्यटन प्रवद्र्धन गर्न शुरु गरेको देखिन्छ ।

नेपालको सोह्रौँ योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) ले आरोग्य पर्यटनलाई पर्यटन क्षेत्रको एक महत्वपूर्ण नयाँ सम्भावनाका रूपमा पहिचान गरेको छ । योजनामा पर्वतारोहण र ट्रेकिङमा मात्र निर्भर नरही धार्मिक, सांस्कृतिक, आध्यात्मिक तथा आरोग्य पर्यटनलाई पर्यटन क्षेत्रका नयाँ आयामका रूपमा विस्तार गर्ने तथा नेपालका प्राकृतिक, सांस्कृतिक तथा आध्यात्मिक स्रोतहरूलाई उपयोग गरी अन्तर्राष्ट्रिय स्तरको आरोग्य पर्यटन गन्तव्य बनाउने लक्ष्य राखिएको छ र यसको लागि वेलनेस रिसोर्ट, योग केन्द्र, आयुर्वेद अस्पताल, प्राकृतिक उपचार केन्द्र तथा ध्यान केन्द्रहरूको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, जडीबुटी, आयुर्वेदिक उपचार, हिमाली प्राकृतिक वातावरण तथा बौद्ध–हिन्दू आध्यात्मिक सम्पदालाई आरोग्य पर्यटनसँग जोड्ने नीति निर्धारण गरिएको छ ।

यसैगरी पर्यटन नीति, २०८२ ले पर्यटन उत्पादनको विविधीकरण अन्तर्गत परम्परागत तथा प्राकृतिक चिकित्सा, ध्यान, योग तथा आरोग्य (वेलनेस) पर्यटनको प्रवद्र्धनलाई प्राथमिकता दिएको छ । यसले नेपालको प्राकृतिक, सांस्कृतिक तथा आध्यात्मिक सम्पदालाई स्वास्थ्य, शान्ति र आत्मिक कल्याणसँग जोड्दै उच्च मूल्ययुक्त तथा दिगो पर्यटन विकासको आधार तयार गरेको छ ।

यसैगरी आगामी वर्षको बजेटमा समेत प्रकृति र संस्कृतीमा आधारित योग, ध्यान, साधना, बौद्ध– बैदिक दर्शनमा आधारित पर्यटनलाई जोड दिने कुराहरू उल्लेख गरिएका छन् । यी सबै नीतिगत ब्यवास्था र राज्यका प्राथमिकताहरू हेर्दा नेपालको आगामी पर्यटनमा आरोग्य पर्यटनले महत्वपूर्ण स्थान बनाउन सक्ने देखिन्छ ।

लुम्बिनी प्रदेशको तयारी
नेपालको आरोग्य पर्यटनको सन्दर्भमा लुम्बिनी प्रदेश सबैभन्दा महत्वपूर्ण र केन्द्रविन्दुको रूपमा रहेको छ । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आफैमा विश्वकै सबैभन्दा ठूलो आध्यात्मिक आरोग्य केन्द्र हो । राष्ट्रिय आरोग्य पर्यटन रणनीतिले सन् २०२७ को अन्त्यसम्ममा लुम्बिनीमा एक आरोग्य गाउँ -Wellness Village_ स्थापना गर्ने विशिष्ट योजना अघि सारेको छ ।

यसैगरी लुम्बिनी प्रदेश सरकारको आ.ब २०८३/८४ को नीति कार्यक्रममा लुम्बिनी क्षेत्रलाई आरोग्य पर्यटनको हबको रूपमा विकास र प्रवद्र्धन गर्ने नीति लिइएको छ । लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा रहेका रेसुंगा, स्वर्गद्वारी, पाणिनी जस्ता धार्मिक क्षेत्रहरू शदियौ देखि योग, ध्यान र साधनका केन्द्रहरूको रूपमा रहेका छन् ।

यस्ता धार्मिक/ आध्यात्मिक स्थलको प्रवद्र्धनमा लुम्बिनी प्रदेश सरकारले हरेक वर्ष बजेट विनियोजन गरिरहेको छ, तर अपर्याप्त बजेट, निगरानीको तथा जवाफदेहिताको कमी र समन्वयको अभावले गर्दा ति क्षेत्रहरूमा अझैपनि आरोग्यको लागि पर्यटक पुग्न सकिरहेका छैनन् । प्रदेश स्थापना भएदेखि नै सरकारहरूले हिल स्टेशनको लागि ठूलो खर्च गरिरहेका छन् ।

विभिन्न जिल्लामा रहेका यस्ता हिल स्टेशनहरू लुम्बिनीको आरोग्य पर्यटनका मुख्य गन्तब्य बन्न सक्ने भएपनि कार्यक्रम र बजेटको निरन्तरताको कमीले गर्दा सम्भावित हिल स्टेशनमा पनि पर्यटक पुग्न सकिरहेका छैनन् ।

लुम्बिनी प्रदेशको दोश्रो आवधिक योजनामा समेत पहाडी तथा हिमाली जिल्लाहरूमा भएका तातोपानीका मुहानहरूलाई संरक्षण र संवर्धन गर्दै स्वास्थ्य पर्यटनको रूपमा विकास गरिने रणनीति अघि सारिएको छ । प्रदेशले ‘ब्याक टु कल्चर, व्यक टु नेचर’ जस्ता नारा समेत निर्धारण गरेर प्रकृति र संस्कृतिमा आधारित जीवनशैली र पर्यटनलाई प्रवद्र्धन गरिरहेको छ ।

प्रदेशले संघीय आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागसँगको समन्वयमा परम्परागत उपचार पद्धति (जस्तै पंचकर्म र शिरोधारा) लाई पर्यटन उद्योगसँग जोड्ने नीतिगत आधार तयार गरेको छ । लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरू (जस्तै अर्घाखाँची, पाल्पा, प्युठान) मा पाइने जडीबुटीहरूको व्यावसायिक खेती र प्रशोधनलाई बढावा दिई आरोग्य केन्द्रहरूमा स्थानीय उत्पादनको आपूर्ति सुनिश्चित गर्ने कार्यक्रमहरू अघि बढाइएका छन् ।

निजि क्षेत्रबाट पनि शहरी क्षेत्रमा स्पा र हिलिंग सेन्टरको संचालन, ग्रामिण क्षेत्रमा ग्रामिण परिवेशका रिसोर्ट संचालन गर्ने काम भैरहेको छ । योग गुरुहरूको अगुवाइमा योग तथा ध्यान केन्द्रको स्थापना, योग तथा ध्यान शिविरहरूको संचालन, जडिबुटी खेति प्रवद्र्धन, प्राकृतिक चिकित्सालयहरूको संचालन गर्ने जस्ता कामहरू भैरहेका छन् । यस्ता प्रयासहरूले दिगोपन पाएमा पक्कैपनि लुम्बिनी प्रदेश आरोग्य पर्यटनको उत्कृष्ट स्थल बन्न सक्नेछ ।

समस्या धेरै छन्ः 
नीतिगत व्यवस्थाहरू उत्कृष्ट भए तापनि लुम्बिनी प्रदेश र समग्र नेपालमा आरोग्य पर्यटनको विकासका लागि धेरै चुनौतीहरू छन् ।

अन्तर्राष्ट्रिय स्तरका रिसोर्ट तथा रिट्रिट केन्द्रहरूको अभाव, दक्ष र प्रमाणित जनशक्तिको कमी, गुणस्तर मापनमा समस्या तथा फितलो अनुगमन मुख्य चुनौती हुन् । प्रदेश सरकारले हिल स्टेशन, आध्यात्मिक पर्यटन, योग/ ध्यान केन्द्रहरूको संचालन जडिबुटी प्रवद्र्धन, वैकल्पिक चिकित्साको विस्तार जस्ता कुराहरू गरिरहेको भएपनि बारम्बार सरकार परिवर्तन भैरहने भएकोले त्यस्ता कार्यक्रमको दिगोपनामा समस्या देखिएको छ ।

नयाँनयाँ नीति र कार्यक्रम ल्याउने तर त्यसलाई पुरा नगर्ने रोग लुम्बिनी प्रदेश सरकारमा धेरै देखिन्छ । आरोग्य पर्यटनको गन्तब्य बन्न सक्ने हिल स्टेशनमा पूर्वाधार निर्माण अलपत्र छ । रेसुंगा, पाणिनी हिले, स्वर्गद्वारी जस्ता तपोभूमिहरूमा निर्माण कार्यमा भएको सुस्तताले त्यहाँ पुग्ने भक्तजन र पर्यताखारू निरास भएर फर्कने गरेका छन् ।

प्रदेशको उच्च हिमाली क्षेत्रमा आरोग्य पर्यटनको प्रचुर सम्भावना भएपनि पर्यटन बजारमा त्यसको प्रवद्र्धन गर्ने र पूर्वाधार विकास गरेर त्यहाँसम्म पर्यटक डोर्याउने काम हन सकेको छैन । विश्वका लाखौं बौद्ध साधक र शान्तिको खोजीमा हिडेका पर्यटकलाई ल्याउनुपर्ने लुम्बिनी अहिलेसम्म घुमफिर र रमाइलो गर्ने थलो बनिरहेको छ ।

लुम्बिनीमा आध्यात्मिक वातावरण नहुँदा त्यहाँ ध्यान र साधना गर्न चाहने मानिसहरू निरास भएर फर्कनु परिरहेको छ । देवदह नगरपालिकाले देवदहलाई योग र ध्यानको केन्द्र बनाउन खोजिरहेको भएपनि प्रदेश र संघीय सरकारको साथ पाएको छैन । पर्यटन व्यवसायीहरूले पनि आरोग्य पर्यटनका प्याकेजहरू बनाएर बेच्न सकिरहेका छैनन् । यी अवस्थाले लुम्बिनी प्रदेशले आरोग्य पर्यटनबाट लाभ लिन निकै मेहनत गर्नुपर्ने प्रष्टै देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?