© 2026
बुटवल । पछिल्ला वर्षहरूमा बुटवल पश्चिम नेपालको प्रमुख स्वास्थ्य केन्द्रका रूपमा विकसित हुँदै गएको छ । लुम्बिनी प्रदेशका विभिन्न जिल्ला मात्र होइन, छिमेकी प्रदेशका बिरामीहरू पनि उपचारका लागि बुटवल आउने क्रम बढ्दो छ ।
सरकारी अस्पतालहरूमा बिरामीको अत्यधिक चाप, सीमित शैया र लामो प्रतीक्षाका कारण निजी स्वास्थ्य संस्थाहरूले पनि सेवा विस्तारलाई तीव्र बनाएका छन् । यही प्रतिस्पर्धाबिच बुटवल–६ अस्पताल लाइनमा सञ्चालनमा रहेको तिलोत्तमा हस्पिटल प्रालिले स्थानीय स्तरमै सहज, छिटो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित आफ्नो सेवा विस्तार गरिरहेको छ ।
वि. सं. २०६७ सालमा स्थापना भएको तिलोत्तमा हस्पिटल सुरुआतमा १५ शैयाबाट सञ्चालनमा आएको थियो । कम्पनी रजिस्ट्रारको कार्यालय तथा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट अनुमति लिएर सञ्चालन सुरु गरिएको अस्पतालले पछि जिल्ला जनस्वास्थ्य कार्यालयबाट अनुमति प्राप्त गरी सेवा विस्तार गरेको हो । अहिले भने लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएर २५ शैयाको अस्पताल सञ्चालन भइरहेको छ ।
स्वास्थ्य क्षेत्रसँग आबद्ध चिकित्सक तथा समाजसेवीहरूको सक्रियतामा १३ जनाको सहभागितामा अस्पताल स्थापना गरिएको अस्पताल प्रशासनले जनाएको छ । सामान्य उपचार सेवा मात्रै नभई विशेषज्ञ सेवा, आकस्मिक उपचार र आधुनिक उपकरण सहितको स्वास्थ्य सेवा विस्तार गर्दै अस्पतालले बुटवल क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने प्रयास गरिरहेको देखिन्छ ।
आकस्मिकदेखि विशेषज्ञ सेवासम्म
तिलोत्तमा हस्पिटलले अहिले सामान्य स्वास्थ्य परीक्षणदेखि आकस्मिक सेवा, विशेषज्ञ चिकित्सक परामर्श, ल्याब परीक्षण, शल्यक्रिया तथा निगरानी सेवासम्म उपलब्ध गराउँदै आएको छ । अस्पतालले २४सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्दै आएको जनाएको छ ।
आकस्मिक अवस्थामा आउने बिरामीलाई तत्काल उपचार उपलब्ध गराउन चिकित्सक तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने अस्पताल प्रशासनको भनाइ छ ।
अस्पतालभित्रै फार्मेसी सेवा सञ्चालनमा रहेकाले बिरामी र कुरुवालाई सहज भएको अस्पतालले जनाएको छ । अस्पतालमा एक्स–रे, भिडियो एक्स–रे, इसीजी, ल्याब परीक्षण लगायतका सेवा उपलब्ध छन् । पछिल्लो समय प्रसूति सेवा, बालरोग, जनरल मेडिसिन, हाडजोर्नी, नाक–कान–घाँटी तथा अङ्कोलोजी सेवामा बिरामीको चाप बढ्दै गएको अस्पताल स्रोत बताउँछ ।
अस्पतालमा भिडियो एक्स–रेसहित शल्यक्रिया सेवा, आईसीयू, एचडीयू, भेन्टिलेटर तथा सुविधा सम्पन्न क्याबिनको व्यवस्था गरिएको छ । निजी स्वास्थ्य संस्थाहरूबीच बढ्दो प्रतिस्पर्धासँगै आधुनिक उपकरण र विशेषज्ञ सेवा विस्तारलाई अस्पतालले प्राथमिकतामा राखेको देखिन्छ ।
विशेषज्ञ चिकित्सकको टोली
तिलोत्तमा हस्पिटलमा विभिन्न क्षेत्रका अनुभवी विशेषज्ञ चिकित्सकहरूले सेवा दिइरहेका छन् । अस्पतालमा फिजिसियन डा. रिकेश सापकोटा, डा. केशव शर्मा र डा. हरिप्रसाद पन्थी कार्यरत छन् भने अङ्कोलोजी सर्जन डा. आशिष खरेल, युरोलोजी सर्जन डा. वीरेन्द्र यादव तथा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. कृष्ण खरेल र डा. कमल खनालले सेवा दिइरहेका छन् ।
त्यसैगरी नाक–कान–घाँटी रोग विशेषज्ञ डा. विष्णुप्रसाद शर्मा, वरिष्ठ बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेल, स्त्रीरोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बस्याल र डा. रमा खरेल, एनेस्थेसिया विशेषज्ञ डा. अस्मिता खरेल र डा. केशव अधिकारी तथा मानसिक तथा नसारोग विशेषज्ञ डा. अमम रेग्मी लगायतका चिकित्सक अस्पतालसँग आबद्ध छन् ।
विशेषज्ञ चिकित्सकको उपलब्धता अहिले निजी अस्पतालहरूको मुख्य प्रतिस्पर्धात्मक पक्ष बनेको अस्पतालका व्यवस्थापक गुणानिधि खनाल बताउँछन् । “बिरामीले स्थानीयस्तरमै विशेषज्ञ सेवा पाउन थालेपछि बाहिर जानुपर्ने बाध्यता कम हुँदै गएको छ,” उनले भने । “बाहिर जानुपर्ने बाध्यता कम गर्न खोजेका छौँ” अस्पतालका सञ्चालक तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलले स्थानीयस्तरमै सहज र गुणस्तरीय उपचार उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालन गरिएको बताए ।
“पहिले सामान्य उपचारका लागि पनि बिरामीलाई काठमाडौँ वा भारत जानुपर्ने अवस्था थियो,” उनले भने, “त्यो बाध्यता कम होस् भन्ने उद्देश्यले विशेषज्ञ सेवा विस्तार गरिरहेका छौँ ।”
उनका अनुसार पछिल्लो समय स्वास्थ्यप्रति नागरिकको चेतना बढ्दै जाँदा गुणस्तरीय उपचारप्रतिको अपेक्षा पनि बढेको छ । बिरामीको विश्वास कायम राख्न सेवा गुणस्तर, चिकित्सकीय जिम्मेवारी र व्यवहारलाई अस्पतालले प्राथमिकतामा राखेको उनको भनाइ छ ।
बुटवलको अस्पताल लाइन अहिले निजी स्वास्थ्य संस्थाहरूको केन्द्रजस्तै बनेको छ । पछिल्लो समय विभिन्न निजी अस्पतालहरूले आधुनिक उपकरण, विशेषज्ञ सेवा र सुविधा सम्पन्न भवन निर्माणमा लगानी बढाएका छन् । यसले बिरामीलाई उपचारका लागि विकल्प दिएको छ भने स्वास्थ्य क्षेत्रमा प्रतिस्पर्धा पनि बढाएको छ ।
तर निजी अस्पताल सञ्चालन आफैँमा चुनौतीपूर्ण रहेको अस्पताल प्रशासन बताउँछ । महँगा उपकरण व्यवस्थापन, दक्ष जनशक्ति टिकाइराख्ने समस्या तथा स्वास्थ्य सेवा क्षेत्रको संवेदनशीलताले निजी अस्पतालहरूलाई निरन्तर दबाबमा राख्ने गरेको छ । “गुणस्तरीय सेवा कायम राख्नु सबैभन्दा ठुलो चुनौती हो,” व्यवस्थापक खनालले भने, “विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र दक्ष स्वास्थ्यकर्मीलाई निरन्तर व्यवस्थापन गर्न ठुलो लगानी आवश्यक पर्छ ।”
अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य परीक्षण तथा आर्थिक रूपमा कमजोर बिरामीलाई सहुलियत उपचार सेवा पनि उपलब्ध गराउँदै आएको जनाएको छ । नेपाल सरकारले प्रमाणित गरेका गाउँपालिका वा स्थानीय तहबाट सिफारिस लिएर आएका १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको अस्पताल प्रशासनको भनाइ छ ।
स्वास्थ्य सेवा केवल व्यवसाय मात्रै नभई सामाजिक उत्तरदायित्वसँग जोडिएको क्षेत्र भएकाले विपन्न नागरिकलाई पनि सेवा दिनुपर्ने अस्पतालको धारणा छ ।
अब ५० शैयाको नयाँ भवन
तिलोत्तमा हस्पिटलले आगामी दिनमा सेवा अझ विस्तार गर्ने योजना अघि बढाएको छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष रामप्रसाद खनालका अनुसार ५० शैयाको सुविधा सम्पन्न नयाँ भवन निर्माणको तयारी भइरहेको छ । भवन निर्माणका लागि नक्सापास देखि डीपीआर सम्मका काम सम्पन्न भइसकेका छन् ।
“हामीले दीर्घकालीन रूपमा अझ ठुलो र व्यवस्थित अस्पताल बनाउने योजना बनाएका छौँ,” उनले भने, “पश्चिम नेपालका बिरामीलाई स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउने लक्ष्य हो ।”
बुटवल स्वास्थ्य सेवाको क्षेत्रीय केन्द्रका रूपमा विकसित हुँदै जाँदा निजी अस्पतालहरूले पनि आफ्नो क्षमता विस्तार गरिरहेका छन् । यही विस्तारको प्रतिस्पर्धाबिच तिलोत्तमा हस्पिटलले स्थानीयस्तरमै भरपर्दो, छिटो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिएको छ ।
पश्चिम नेपालका बिरामीलाई उपचारका लागि काठमाडौँ वा भारत धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्य सहित अस्पतालले स्वास्थ्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान निर्माण गर्ने प्रयास गरिरहेको छ ।