Butwal Today

उद्देश्यपरक भ्रमणको महत्त्वपूर्ण उपलब्धि

२९ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

पृष्ठभूमि 
विक्रम सम्वत २००९ सालमा तदर्थ समिति गठन भई २०१० साल फागुन १० गते सरकारी निकायमा दर्ता भएको तत्कालीन बुटवल व्यापार मण्डल समय क्रमसँगै बुटवल व्यापार सङ्घ हुँदै २०३५ सालमा उद्योग वाणिज्य सङ्घ, बुटवल र २०६५ सालबाट बुटवल उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको रूपमा रुपन्देहीको सबै भन्दा जेठो जीवन्त व्यावसायिक संस्थाको रूपमा क्रियाशील छ ।

स्थापना कालमा गणेश जनता स्कुलको निजी श्रोतबाट राखिएका शिक्षकलाई पारिश्रमिक व्यवस्थापन गर्न युवा व्यवसायीको सक्रियतामा सहयोग समिति गठन भएको र त्यही समिति नै पछि बुटवल व्यापार मण्डलमा रूपान्तरित भएको दृष्टान्त पढ्न र सुन्न पाइन्छ । बुटवल उद्योग वाणिज्य सङ्घ, रुपन्देही नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थापक मध्येको १३ वटा उद्योग वाणिज्य सङ्घ मध्येको एक सक्रिय संस्था थियो भन्ने तथ्य महासङ्घ गठनको एउटा सत्रको अध्यक्षता बुटवल उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सूर्यलालले गरेको तथ्यले प्रमाणित गर्दछ ।

यस्तो गौरवशाली संस्थाको उत्तराधिकारी भएको नाताले देशभरका जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरूको वर्तमान अवस्था बुझी भावी कार्यदिशा निर्माणमा महत्त्वपूर्ण सिकाइ हुने विश्वासका साथ महासङ्घका संस्थापक उद्योग वाणिज्य सङ्घहरू र अन्य केही जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरूको अध्ययन अवलोकन भ्रमण गर्ने मूल उद्देश्यका साथ बुटवल उद्योग वाणिज्य संघको वार्षिक कार्य योजना र वोर्डको निर्णय अनुसार २०८३ जेठ १२ गतेदेखि १७ गते सम्मको ६ दिवसीय भ्रमण तय गरियो ।

भ्रमणमा सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालको नेतृत्वमा कार्यसमितिका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षद्वय, महासचिव, कोषाध्यक्ष, कार्यसमिति सदस्य, कर्मचारी र संचार समन्वयकर्ता समेत २० सदस्यीय टोली २०८३ जेठ १२ गते बिहान ६।३० बजे रिजर्भ बस मार्फत सङ्घ सचिवालयबाट प्रस्थान गरियो ।

पहिलो दिन
अध्ययन अवलोकनको पहिलो गन्तव्य नेउवा महासङ्घको संस्थापक मध्येको एउटा संस्था चितवन उद्योग वाणिज्य सङ्घ थियो । आफ्नै सङ्घ सचिवालयमै स्याउ, चना, अण्डा र चिया सहित खाजा खाएर पूर्वतिर लागियो ।

बिहान ८.३० बजेको आसपासमा पहिलो स्टप कावासोती बजारमा गरि त्यहाँरहेको सार्वजनिक शौचालयको उपयोग गरि चितवनका निवर्तमान अध्यक्ष तथा नेउवा महासंघमा संस्थापकको तर्फबाट कार्यकारिणी सदस्यमा निर्वाचित सुमन श्रेष्ठज्युसंग टेलिफोन संवाद गर्दै करिव ९.३० बजे सम्म चितवन पुग्ने प्रतिवद्धता सहित अगाडी बढ्यौ । निर्धारित समयमै चितवन उद्योग वाणिज्य सङ्घ सचिवालय पुगियो ।

सचिवालय बाहिरै चितवन उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष राजु श्रेष्ठ दाइसंग भेट भयो । उहाँसंग शिष्टाचारयुक्त अभिवादन गरि भित्र पस पछि अध्यक्ष चिरञ्जीवी सुवेदी, निवर्तमान अध्यक्ष तथा महासङ्घ कार्यकारिणी सदस्य सुमन कुमार श्रेष्ठ, पदाधिकारी, कार्यसमिति सदस्य र सचिवालयका कर्मचारी समेतको स्वागत संगसगै पुरी खाजा ग्रहण गर्दै अन्तरक्रिया गरियो ।

चितवन उद्योग वाणिज्य संघको तर्फबाट संस्थापक सदस्यको कोटामा कार्यकारिणी सदस्यमा निर्वाचित सुमन कुमार श्रेष्ठज्युलाई बुटवल उद्योग वाणिज्य संघको तर्फबाट बधाई दिदै भ्रमणको उद्देश्य बारेमा जानकारी गराइयो । भ्रमण टोलीलाई स्वागत गर्दै चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी सुबेदीले चितवन उद्योग वाणिज्य सङ्घका गतिविधिको जानकारी गराउदै संस्थापक सदस्यमा निर्वाचित हुन सहयोग गरेको बुटवल उद्योग वाणिज्य संघप्रति धन्यवाद तथा आभार ब्यक्त गर्दै बुटवलबाट नेउवा महासङ्घको कार्यकारिणी सदस्यमा निर्वाचित अध्यक्ष हरिप्रसाद अर्याल र निवर्तमान अध्यक्ष उज्ज्वल कसजुलाई बधाइ सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।

दुबै सस्थाको तर्फबाट सदस्य ब्यवसायी लक्षित कृयाकलापको एक आपसमा जानकारी गराउदै आगामी दिनहरूमा नेउवा महासंघमा जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरूको भूमिकालाई प्रभावकारी बनाउने साझा प्रतिवद्धता ब्यक्त गरियो ।

बुटवल भन्दा फरक चितवन उद्योग वाणिज्य संघको बोर्डमा महासचिव, कोषाध्यक्ष र सचिव नहुने संरचनागत ब्यवस्था, उद्योग वाणिज्य सङ्घका सदस्य मात्र सेयर सदस्य हुन पाउने सहकारी संचालन र चितवन उद्योग वाणिज्य संघले आन्तरिक राजस्व कार्यलय परिसरमा संचालन गरेको निशुल्क करदाता सहायता कक्ष बुटवल उद्योग वाणिज्य सङ्घका तर्फबाट भ्रमण दलमा रहेका सबैका लागि चासोका विषय बनेका थिए ।

सुखद र उद्देश्यमूलक यात्राको सफलताको शुभकामना ग्रहण गर्दै हामी मकवानपुर उद्योग वाणिज्य सङ्घ तर्फ लाग्यौ ।  नारायणगढबाट मकवानपुर जाँदै गर्दा माथि उल्लेख भएको आन्तरिक राजश्व कार्यालय परिसरमा रहेको निशुल्क करदाता सहायता केन्द्रको नवनिर्मित कार्यालयको समेत अवलोकन गरियो । बाहिर जति गर्मी भएपनि गाडी भित्रको वातानुकुलित परिवेश र एक अर्का प्रतिका ठट्यौली ब्यङ्गले बिचबिचमा हाँसोको फोहोरा नै छुट्थ्यो । कहिले के नामले कहिले के नामले ब्यङ्ग पनि राम्रै चलिरह्यो ।

तथापी यात्राको शुरुदेखि अन्तिमसम्म सिटबाट कोही उठ्यो भने खडानन्द नामको विम्व खुब चल्यो । गफिदै हाँस्दै हेटौडा पुगेको धेरैलाई मेसो नै भएन । केही महिना पहिले हेटौडाको मुख्य बजार क्षेत्र सडक विस्तारको क्रममा सडक किनाराका धेरै व्यावसायिक भवन संगै मकवानपुर उद्योग वाणिज्य संघको सचिवालय भवन समेत भत्किएको अवस्था हेर्दै करिव १२ बजेको सेरोफेरोमा हामी संघकै स्वामित्वमा रहेको पल्पसा क्याफेमा पुग्यौं ।

सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाट उपचारको क्रममा काठमाण्डौमा रहनु भएको र पूर्व अध्यक्ष एवम नेउवा महासङ्घका कार्यकारिणी सदस्य कृष्ण कटुवाल पनि हेटौडा बाहिर रहेको रहनु भएकोले भेटघाट तथा अन्तरक्रिया कस्तो होला भन्ने जिज्ञासा मनमा कहिँ न कहिँ थियो तर वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष दिपक उप्रेतीजीले जसरी आगन्तुक टोलीलाई स्वागत गर्दै दुबै संस्थाका पदाधिकारी तथा सदस्य बिचमा अन्तरकृया भए त्यसले हामीमा उत्साह बढाएको थियो ।

महिला उद्यमीको सशक्त परिचान र सचिवालय संचालनमा श्रोत व्यवस्थापन र परिचालन सशक्त पक्ष लाग्यो मकवानपुर उद्योग वाणिज्य संघको । पल्पसामा खाना खाएर कुलमानको सदासयताले कुरूप भएको मुख्य बजार क्षेत्र हेर्दै नेपाल आयल निगमको अमलेखगंज डिपो गाडी भित्रबाटै अवलोकन गर्दै पथलैया भएर सिमरामा सप्तरीबाट मधेस प्रदेशस्तरीय कराँते प्रतियोगितामा सहभागी हुन आएका प्रतियोगी खेलाडीहरूसंगै चिया पिएर विरगंजतिर लागियो ।

विरगंजको मुख्य बजार क्षेत्रमा अतिक्रमित सडक क्षेत्रमा निर्माण भएका घर टहरा हटाउँदा भत्काइएका भग्नावशेषहरू हेर्दै साँझ करिव ६।३० बजे विरगंज उद्योग वाणिज्य संघको आतिथ्यता ग्रहण गर्दै स्वागत तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भइयो । विरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष आदरणीय हरि गौतम काम विशेषले काठमाण्डौ जानु भएकोले वरिष्ठ उपाध्यक्ष एवम कार्यवाहक अध्यक्ष माधव राजपालको अध्यक्षतामा भएकोमा भन्सार, कर, राजस्व, स्थानीय तहसंगको अन्तर सम्बन्धका बारेमा व्यापक अन्तरक्रिया गरियो ।

अन्तरदेशीय व्यापार र आन्तरिक व्यापार प्रवद्र्धनमा सिमावर्ती क्षेत्रका उद्योग वाणिज्य सङ्घहरू संगठित भइ नेउवा महासंघमार्फत सरकारलाई दबाब दिन उपयुक्त हुने निष्कर्ष सहित बिरगंज उद्योग वाणिज्य संघको पदाधिकारी तथा सदस्यहरूलाई भ्रमणको निमन्त्रणा दिइ हाम्रो आवासका लागि पूर्व निर्धारित होटल मकालुतर्फ लाग्यौं ।

विरगंजको होटल तथा खानाको संयोजनको भूमिका भ्रमण टोलीका सदस्य तथा उद्योग उपाध्यक्ष सुरज भट्टराइजीले गर्नुभएको थियो । होटलमा लगेज राखेर नजिकै रहेको स्टार भोजनालयमा स्न्याक्स सहितको भोजन ग्रहण गरि विश्रामका लागि करिव १०।३० बजे मकालु फर्किइ १३ गते बिहान ७ बजे जनकपु तर्फ प्रस्थान गरिने जानकारी गराउदै आ– आफ्ना कोठा तिर लागियो ।

दोश्रो दिन
अघिल्लो दिनको पूर्व निर्धारितं कार्यक्रम अनुसार ७ बजेको सेरोफेरोमा सबै साथीहरू होटलको लवीमा आइसक्नु भएको थियो तर सुरजजी र दिपक चापागाई १५ मिनेट ढिलो गरि आएपछि हामी सबै हाम्रो गाडीतिर लाग्यौ ।

अघिल्लो दिन हामीसंगै खाना खाएका विरगंजका चिरपरिचित पुस्तक तथा स्टेशनरी ब्यवसायी मुकेश सिंहले कलैया हुँदै गढिमाइको दर्शन गरेर जान सकिने वैकल्पिक रुट बताएका कारण कुन सडक भएर जाने सन्दर्भमा अलमल भएकोले कुन बाटो जानू उपयुक्त होला भनी सोधपुछ गर्न म र महासचिव सहितका केही साथीहरू नजिकै रहेका जनपथ र ट्राफिक प्रहरीतिर लाग्यौँ र उहाँहरूको संवादको आधारमा पथलैया भएर पूर्व पश्चिम राजमार्ग भएर जानु उपयुक्त हुने सल्लाह बमोजिमको निष्कर्ष सहित पथलैयातिर लागियो ।

बिरगंजपछिको पहिलो स्टप चपुर भनिने चन्द्रनिगाहपुर भयो । संयोगबस इन्दिरा दिदीको खाजा घरमा खाजा खान पाइने तर शौचालय प्रयोग गर्न नपाइने रहेछ । हामीले धेरै अनुरोध गरे पछि महिला दिदी बहिनीहरूलाई उपलब्ध गराउनु भयो । हामी पुरुष साथीहरू सडक पारिको सार्वजनिक शौचालय तिर लाग्यौँ । चिनी भएका र नभएका दुध भएका र नभएका चारथरी इच्छा अनुसारको चिया पिएर हामी पूर्वतिर लाग्यौ । हरिवन पुग्नै लाग्दा नरिश्वरजीको आग्रहमा उहाँहरूको कम्पनी डिलरसंग चिया पिउने समय मिलाउन आग्रह गरे बमोजिम हामी हरिवनमा रोकियौँ । हरिवनका नाम चलेका ब्यवसायी रामप्रवेश साहजी जो यशोधा फुड्सको डिलर हुनुँदो रहेछ ।

उहाँले खादा लिएर हामीलाई पर्खेर बसिरहनु भएको रहेछ । संयोगले हामीलाई स्वागत गरेको क्याफे हरिवन उद्योग वाणिज्य सङ्घका अध्यक्षको रहेछ । कफीका पारखी साथीहरू सिंगल सर्ट लाग्नु भयो । चियाका पारखीहरू बकेर्ना भैसीको बाक्लो दुधको चिया पिएर म र मुक्तिजी नजिकै रहेका हरिवन उवासंघका अध्यक्षलाई भेट्न उहाँकै पसल गयौँ । उहाँ पसलबाट निस्केर बाहिर आउनु भयो । शिष्टाचारपूर्वक सन्चो बिसन्चो र यात्राको बारेमा संक्षिप्त कुरा गरेर संझनाको लागि एउटा फोटो खिची सबै साथी भएकै ठाउँमा आई जनकपुरतिर लाग्यौं ।

बर्दिबास, ढल्केवार हुँदै हामी करिब १ बजे जनकपुरधाम पुग्यौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थापक मध्येको एक जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष आदरणीय सुरेन्द्र भण्डारीज्युले रामजानकी मन्दिरमा हामीलाइ प्रतीक्षा गरिरहनु भएको रहेछ तर हामी पहिले राम मन्दिरको दर्शन गरेर मात्र रामजानकी मन्दिरको दर्शन गर्ने परम्परा रहेको कुरा हाम्रा सदस्य बालकृष्ण पौडेल सुनाएपछि हामी राममन्दिर तिर लाग्यौँ । जनकपुरधाम उवासंघका सुरेन्द्र भण्डारीजी रामकै अवतार लिएर आएझै टुप्लुक्क त्यही आइपुग्नु भयो ।

अब हाम्रो टोली सुरेन्द्रजीको निर्देशानुसार रामजानकी मन्दिर फाष्ट ट्रयाकबाट दर्शन गरि गराई, दोश्रो वरियताको महन्तज्युको समेत दर्शन गर्ने अवसर जुटाइदिनु भयो । क्रमशः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?