© 2026
बुटवल । पछिल्लो समय नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाप्रति आकर्षण बढ्दै गएको छ ।
सामान्य शैक्षिक योग्यताभन्दा सीप र दक्षतामा आधारित जनशक्ति उत्पादनको आवश्यकता बढिरहेका बेला रुपन्देहीको बुटवलमा रहेको मेडिटेक टेक्निकल कलेज स्वास्थ्य क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने महत्त्वपूर्ण शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको छ ।
बुटवल उपमहानगरपालिका–१०, राजमार्ग चौराहामा अवस्थित यो कलेजले स्वास्थ्यसम्बन्धी प्राविधिक शिक्षा प्रदान गर्दै देशभित्र र बाहिर आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा योगदान पु¥याउँदै आएको छ ।
२०६४ सालदेखि शैक्षिक सेवा सुरु गरेको संस्थाले छोटो अवधिमै स्वास्थ्य प्राविधिक शिक्षाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।
स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको कलेजले हाल प्रमाणपत्र तह अन्तर्गत मेडिकल ल्याब टेक्नोलोजी (सीएमएलटी) र जनरल मेडिसिन (एचए) कार्यक्रम सञ्चालन गरिरहेको छ । कलेजले २०७० सालदेखि मेडिकल ल्याब टेक्नोलोजी र २०७२ सालदेखि एचए कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
स्वास्थ्य सेवा प्रभावकारी बनाउन दक्ष जनशक्तिको भूमिका महत्त्वपूर्ण हुने भएकाले संस्थाले सैद्धान्तिक शिक्षासँगै व्यवहारिक ज्ञानलाई विशेष प्राथमिकता दिएको छ । कक्षाकोठामा सिकाइने विषयलाई प्रयोगशालामा अभ्यास गराउने व्यवस्था गरिएकाले विद्यार्थीले अध्ययनकै क्रममा व्यावसायिक अनुभव प्राप्त गर्ने अवसर पाउँछन् ।
कलेजमा आधुनिक प्रयोगशाला, ई–लाइब्रेरी, श्रव्य–दृश्य सामग्रीसहितको सेमिनार तथा तालिम कक्षको व्यवस्था गरिएको छ । विद्यार्थीको सहज सिकाइ वातावरणलाई ध्यानमा राख्दै यातायात सुविधा उपलब्ध गराइएको छ भने विशेष गरी छात्राहरूका लागि सुरक्षित र पारिवारिक वातावरणयुक्त छात्रावासको व्यवस्था समेत गरिएको छ ।
मेडिटेकको अर्को विशेषता भनेको आफ्नै अस्पताल सञ्चालन गर्नु हो । ५१ शैय्याको मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरसँगको प्रत्यक्ष सम्बन्धले विद्यार्थीलाई अध्ययनसँगै व्यवहारिक अभ्यास गर्ने अवसर प्रदान गरेको छ । स्वास्थ्य क्षेत्रका विद्यार्थीका लागि अस्पतालमा आधारित सिकाइ प्रणाली निकै प्रभावकारी मानिन्छ ।
संस्थाका अध्यक्ष शोभाकर पोखरेलका अनुसार गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्नु नै कलेजको मुख्य उद्देश्य हो । “हाम्रो लक्ष्य केवल प्रमाणपत्र वितरण गर्नु होइन, दक्ष र व्यावसायिक जनशक्ति उत्पादन गर्नु हो,” उनी भन्छन्, “शिक्षा त्यतिबेला मात्र अर्थपूर्ण हुन्छ जब त्यसले विद्यार्थीलाई रोजगारी, आत्मनिर्भरता र व्यावसायिक सफलतासँग जोड्न सक्छ ।”
नेपालमा पछिल्लो समय बढ्दो बेरोजगारी र प्रतिभा पलायन (ब्रेन ड्रेन) गम्भीर चुनौतीका रूपमा देखिएको छ । दक्ष जनशक्ति अध्ययनपछि विदेशिने क्रम बढिरहेका बेला स्वदेशमै गुणस्तरीय प्राविधिक शिक्षा उपलब्ध गराएर सक्षम जनशक्ति उत्पादन गर्नु आफ्नो प्राथमिकता रहेको कलेज प्रशासनको भनाइ छ ।
प्रबन्ध निर्देशक गणेशप्रसाद ज्ञवालीका अनुसार स्वास्थ्य क्षेत्रमा मात्रै सीमित नरही आगामी दिनमा फार्मेसी, एनिमल साइन्स र प्लान्ट साइन्सका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । यसले प्राविधिक शिक्षाका थप अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
“समयसँगै श्रम बजारको आवश्यकता परिवर्तन भइरहेको छ,” ज्ञवाली भन्छन्, “त्यसलाई ध्यानमा राख्दै नयाँ विषय र कार्यक्रम विस्तार गर्ने योजना बनाएका छौँ । दक्ष जनशक्ति उत्पादनमार्फत देशको विकासमा योगदान पु¥याउनु हाम्रो दीर्घकालीन लक्ष्य हो ।”
उनका अनुसार संस्थाले भविष्यमा अन्तर्राष्ट्रिय स्तरको १०० शैय्याको अस्पताल सञ्चालन गर्ने लक्ष्य समेत राखेको छ । यसले शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानलाई एकै ठाउँमा जोड्ने वातावरण निर्माण गर्ने विश्वास गरिएको छ ।
कलेजले पाठ्यक्रममा आधारित अध्ययनसँगै नैतिकता, अनुशासन, जिम्मेवारी र सेवाभावलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । स्वास्थ्य क्षेत्रका जनशक्तिले केवल प्राविधिक ज्ञान मात्र नभई मानवीय संवेदनशीलता र व्यावसायिक आचरण पनि आत्मसात् गर्नुपर्ने भएकाले त्यस्ता विषयमा विशेष जोड दिइएको छ ।
शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम नभई जीवन निर्माणको आधार भएको उल्लेख गर्दै कलेज व्यवस्थापनले विद्यार्थी, अभिभावक र संस्थाबीचको सहकार्यलाई सफलता प्राप्तिको मुख्य आधार मानेको छ । “आज रोपिएको ज्ञान र सीपले नै भोलिको भविष्य निर्माण गर्छ,” ज्ञवाली भन्छन्, “त्यसैले सही शैक्षिक संस्थाको छनोट विद्यार्थीको जीवनको महत्त्वपूर्ण निर्णय हो ।”
स्वास्थ्य क्षेत्रमा बढ्दो जनशक्ति आवश्यकतालाई सम्बोधन गर्दै गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गरिरहेको मेडिटेक टेक्निकल कलेज अहिले बुटवल मात्र होइन, लुम्बिनी प्रदेशकै स्वास्थ्य शिक्षा क्षेत्रमा महत्त्वपूर्ण शैक्षिक केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।
दक्ष, सीपयुक्त र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित अघि बढिरहेको संस्थाले भविष्यमा शिक्षा र स्वास्थ्य क्षेत्रको समन्वित विकासमा अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।