Butwal Today

‘देशको शिर निहुरिएको दिन’

१९ जेष्ठ २०८३, मंगलवार
अ+
अ-

प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्तिको देशभर भर्त्सना र विरोध भएको छ ।

‘राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा सीमा सम्बन्धी विषय अत्यन्त संवेदनशील र राष्ट्रिय महत्वका विषयमा प्रधानमन्त्रीको हचुवा अभिव्यक्तिले देशको शिर निहुरिएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले आश्चर्यचकित बनाएको भन्दै सीमाविद्हरूले खेद व्यक्त गरेका छन् ।

उनीहरूले प्रधानमन्त्रीले कुन आधारमा यस्तो धारणा व्यक्त गरेका हुन् स्पष्ट पार्न भनेका छन् । नेपालले पनि भारतको सीमा मिचेको भन्दै प्रतिनिधिसभाको आइतबारको संसद् बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शिर निहुरिएको छ ।

प्रधानमन्त्रीबाट आएको यस्तो अभिव्यक्ति कुनै पनि मानेमा क्षम्य हुन सक्दैन । प्रधानमन्त्रीले सीमा विवादको विषयमा दुई देश बिचको समस्यालाई तेस्रो देशको उपस्थितिमा समाधान गर्ने जुन धारणा सार्वजनिक गरेका छन्, त्यो झनै गम्भीर र चिन्ताजनक कुरा हो ।

नेपालका कुनै पनि प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएको अहिलेसम्म रेकर्ड छैन । सरकार प्रमुखबाटै आएको यस्तो अभिव्यक्तिले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न सरकार चाहँदैन वा सक्दैन भन्ने कुराको यो उदाहरण हो ।

प्रधानमन्त्री बालेन माथि नै नेपाली जनताले आशङ्का गर्ने अवस्था उत्पन्न भएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली भूमि जसरी र जुन स्तरमा अतिक्रमण भइरहेको छ, त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाएको छ ।

यस्तो अभिव्यक्ति पहिलो पटक देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट आउनु नेपालको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता, अविभाज्यता माथिको ठुलो सङ्कट हो । नेपाल–भारतबिचको जारी सीमा विवाद समाधान गर्ने दुई देशको संयुक्त सीमा आयोगले करिब ९८ प्रतिशत काम सम्पन्न गरिसकेको अवस्थामा प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले भारतलाई बल पुगेको छ ।

यस्तो अवस्थामा नेपालको सार्वभौम संसद्मा भारतको पक्षमा बोल्ने प्रधानमन्त्री भारतका गोटी वा पुच्छर भए भन्दा अन्यथा हुँदैन । नेपाल र भारतबिच महाकाली नदीको मुहान तथा सुस्ता क्षेत्रसँग सम्बन्धित सीमा विवादका विषयहरू अझै समाधान हुन बाँकी रहेको अवस्थामा प्रधानमन्त्रीको भनाइले नेपालको अडानलाई कमजोर सावित गर्ने प्रयास भएको छ ।

नेपालले आफ्नो अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सासमेत जारी गरिसकेको अवस्थामा हठात यो कुरा सार्वजनिक हुनु नेपालका लागि भोलिको दिनमा कुनै असुभ संकेत त होइन ? प्रश्न उत्पन्न भएको छ । यस्ता अभिव्यक्तिले तथ्यमा आधारित स्पष्टता प्रदान गर्नुको सट्टा भ्रम सिर्जना गर्ने भएको भन्दै सिमाविदहरूले खेद व्यक्त गरेका छन् । अव प्रधानमन्त्रीले यसबारे सार्वजनिक रूपमा स्पष्टीकरण दिनुका साथै क्षमायाचना समेत गर्नुपर्छ । यसअघि धेरैपटक नेपाली जनताले भारतलाई विस्तारबादीको संज्ञा दिदै आएका छन् । यो कुरामा कुनै विवाद छैन ।

सीमा विवादलाई लिएर नेपालमा भारतविरोधी आन्दोलन धेरैपटक भएका छन् । ती सवै आन्दोलनमा भारतले नेपालमाथि हस्तक्षेप गरेको कुरा उठेको छ तर नेपालले भारतको जमिन मिचेको छ भन्ने कतैबाट उठेको छैन । भारतले समेत नउठाएको विषय प्रधानमन्त्री बालेनले उठाएर नेपालको शिर झुकाएका छन् ।

पछिल्लोपटक भारत र चीनले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराको बाटो प्रयोग गरी ब्यापार विस्तार गरेका छन् । भारत र चीनको एकतर्फी बाटो विस्तारले नेपालको सार्वभौमिकतामाथि आँच पुगेको छ । कांग्रेस र एमालेले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अविभाज्य भूभाग रहेको दोहो¥याउँदै नेपालको सहमतिबिना दुई छिमेकीले गर्ने कुनै पनि सम्झौता मान्य नहुने चेतावनी दिएको छ ।

लिपुलेकमा सडक खन्ने, व्यापारिक मार्ग खोल्ने र तीर्थयात्री लैजाने जस्ता कार्यहरू नेपालको सार्वभौमिकतामाथिको प्रहार हो । हामी छिमेकीको सम्मान गर्छौँ, तर आफ्नो माटोमाथि विदेशी बुट बज्रिएको टुलुटुलु हेरेर बस्न सकिदैन । नेपाल सरकारले यो बिषयमा गम्भीर भएर बार्ताको लागि भारतलाई दवाव देओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?