Butwal Today

३३ वर्षदेखि अधुरो बुटवल खानेपानी आयोजना 

१८ जेष्ठ २०८३, सोमबार
अ+
अ-

तेह्र किलोमिटर दुरीको खानेपानी आयोजना सम्पन्न गर्न कति वर्ष लाग्ला ? बढीमा दुई वर्ष । विडम्बना, ३३ वर्ष देखि निर्माणाधीन एक आयोजना छ, बुटवलमा । यो हो बुटवल खानेपानी आयोजना ।

यो आयोजनका लागी अर्बौँ रुपैयाँ लगानी भइसक्यो तर आयोजना सम्पन्न नहुँदा बर्सातका बेला बुटवल बासीले तिनाउ नदीको धमिलो पानी पिउन बाध्य छौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताका रूपमा सुदूरपश्चिम क्षेत्रमा चुनावी सभामा अनेक उपाय अवलम्बन गरी समयमै विकास आयोजना सम्पन्न गरिने बताएका बालेन्द्र (बालेन) शाहको प्रधानमन्त्रीत्वमा सरकार बनेपछि ३३ वर्षदेखि अधुरो बुटवल खानेपानी आयोजना अब सम्पन्न होला की भन्ने आशा जागेको छ ।

२०५० सालदेखि प्रारम्भ भई बिचमा रोकिने र बन्ने क्रम चलिरहेको यो आयोजना सम्पन्न नहुँदा बुटवलका बासिन्दा नेपाल खानेपानी संस्थानले वितरण गरेको धाराबाट आउने धमिलो पानी पिउन बाध्य छन् भन्नु २१ औँ शताब्दीमा लज्जाको विषय हो ।

बुटवलमा खानेपानी वितरण व्यवस्थाको इतिहासबारे छोटो चर्चा गरौँ । बुटवलमा व्यवस्थित ढङ्गले खानेपानीको वितरण प्रणाली २०३८ सालमा नेपाल खानेपानी संस्थानले शाखा कार्यालय स्थापना गरेपछि भएको हो । त्यसअघि खानेपानीको श्रोत तिनाउ नदी थियो, सबैका लागी ।

बोरिङ्ग प्रविधिबाट खानेपानीको उत्पादन र वितरण प्रणाली धेरै पछि सञ्चालनमा आएको हो । खानेपानी संस्थानले पनि तिनाउ नदीको पानी पम्पले तानेर सामान्य ट्रिटमेन्ट गरी वितरण गर्दै आएको छ, स्थापनाकालदेखि । बुटवलमा पहिले खानेपानी आपूर्तीको ठूलो समस्या थियो ।

उपभोक्तालाई पानीको व्यवस्था मिलाउन सहज थिएन । खानेपानी संस्थानले शाखा कार्यालय खोल्नु अघि बुटवल नगरपालिकाले पानी उत्पादन र धारा वितरण सम्बन्धी सामान्य व्यवस्था मिलाएको थियो । पहिले बुटवलमा तिनाउ नदी र कुलोमा बगेर आउने पानी नै खानेपानीको मुख्य श्रोत थियो ।

सचेत मानिसहरू यही तिनाउ नदीको पानी बोकेर घरमा ल्याई फिटकिरी घोलेर उपचार गरी पिउने गर्दर्थे भने अधिकांश मानिस ट्रिटमेन्ट नगरी सिधै तिनाउको पानी प्रयोग गर्थे । बुटवलमा वर्षायाममा पिउने पानीको समस्या कति डरलाग्दो हुन्थ्यो होला ! बुटवल नगरको यो समस्या समाधान गर्दै स्वच्छ र सफा पिउने पानीको व्यवस्था मिलाउने उद्देश्यले २०५० सालबाट व्यापक बहस, छलफल र योजना निर्माणको काम अघि बढाइयो ।

यसै क्रममा बुटवलको शिर पाल्पा जिल्लाको तिनाउ गाउँपालिका अन्तर्गतको सिस्ने खोलाबाट स्वच्छ र सफा पानी बुटवलमा ल्याई उपभोक्तालाई वितरण गर्ने योजना अघि बढाइयो । २०४९ देखि ०५४ सालसम्म सूर्यप्रसाद प्रधान नेतृत्वको बुटवल नगरपालिका बोर्डले सिस्ने खानेपानी आयोजनाको शुरुवात गरायो ।

२०५० सालदेखि नै बुटवल नगरपालिकाले वार्षिक ५० लाख रूपैयाँको दरले बजेट पनि छुट्टयायो ।सो रकमले पाइप खरिद गरी मुहानस्थलदेखि पाइप विछ्याउने काम समेत भयो । नेपाल खानेपानी संस्थान बुटवल शाखाका निवृत्त कर्मचारी लोक बहादुर केसीको स्मरणमा झुम्सा पुलसम्म पाइप पनि विछ्याई सकिएको थियो ।

२०५४ सालमा निर्वाचित बुटवल नगरपालिका बोर्डले यो आयोजनालाई निरन्तरता दिन असमर्थ भएपछि सिस्ने खानेपानी आयोजना विचमै तुहियो । मुहान क्षेत्रमा विवाद उत्पन्न भएकाले पनि यो योजना कार्यान्वयनमा समस्या उत्पन्न भएको थियो । करोडौँ  रुपैयाँ मूल्यका पाइप नष्ट भए । कतिपय पाइप बाढी र पहिरोले बगाएर नष्ट भए ।

यसरी सिस्ने खानेपानी आयोजना कार्यान्वयनका क्रममा करोडौँ रुपैयाँ बालुवामा पानी खन्याए बराबर खेर गयो । यदी यो आयोजना सफल भएको भए बुटवल बासीलाई खानेपानी पर्याप्त मात्रामा पुग्थ्यो । यो आयोजना रोकिएपछि तिनाउको पानी वितरण प्रणालीमा सुधारको काम गरियो । सिस्ने खानेपानी आयोजना रोकिएको धेरै वर्षपछि आर्थिक वर्ष २०७६–७७ देखि पाल्पा जिल्लाकै तिनाउ गाउँपालिका अन्र्तगतकै झुम्सा खोलादेखि फेरी अर्को आयोजना शुरु गरियो, बुटवल खानेपानी आयोजनाको नाममा ।

नेपाल सरकारले यसका लागी ६ अर्ब रुपैयाँ बजेटको सुनिश्चितता गरी अलग्गै कार्यालय समेत स्थापना गरी यसको काम भई रहेको छ । नेपाल खानेपानी संस्थान बुटवल शाखाका पूर्व प्रमुख मोहनदत्त भट्टकोस्मरणमा यो आयोजनाको शिलान्यास समारोहमा रूपन्देही क्षेत्र नं. २ का तत्कालीन सांसद एवं पुर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यो आयोजनाका कर्मचारीलाई विना ढिलासुस्ती समयमै काम सम्पन्न गराउने शपथग्रहण समेत गराएका थिए । तर दुई वर्ष समयावधी तोकिएको यो आयोजना सञ्चालनको पाँच वर्ष वितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन ।

आयोजना प्रमुख मन्दिप श्रेष्ठका भनाईमा यो आयोजना सम्पन्न गर्न २ वर्षको समय सिमा तोकिएको थियो । यो आयोजनालाई सरकारले ६ अर्ब रुपैयाँ ऋण स्वरूप प्रदान गर्ने गरी व्यवस्था मिलाएको हो । यो आयोजनाले दैनिक ३ करोड २० लाख लिटर पानी उत्पादन गरी आपुर्ति गर्ने क्षमता राख्छ । अहिले बुटवलमा दैनिक ५ करोड लिटर पानीको माग छ । नपुग पानी तिनाउ नदीबाट आपूर्ती गर्ने व्यवस्था मिलाउने योजना छ ।

झुम्सादेखि बुटवल सम्म १३ किलोमिटर दुरीको खानेपानी आयोजना सम्पन्न गर्न दुई वर्ष समय सिमा तोकिएकोमा पाँच वर्ष नाघी सक्दा पनि सम्पन्न हुन नसक्नु विडम्बनाको विषय हो । यसअघि सञ्चालन गरिएको सिस्ने खानेपानी आयोजनाको दुरी १० किलोमिटर मात्र थियो । समयमै आयोजना सम्पन्न गर्ने शपथ लिएका कर्मचारीहरू किन समयमा योजना सम्पन्न गर्दैनन् ? यो छलफल र बहसको विषय बन्नु पर्छ ।

विगत ३३ वर्ष देखि सिमावर्ती तिनाउ गाउँपालिकादेखि बुटवल सम्म बढीमा १३ किलोमिटरको खानेपानी आयोजना सम्पन्न गर्न प्रयत्न भै रहेकामा यो काम किन फत्ते हुँदैन ?यसको रहस्य बारे खोजीनीति हुनु पर्दछ ।

बुटवल उपमहानगर निकट भविष्यमा महानगरको रूपमा स्तरोन्नती हुँदै छ । महानगर भएपछि यहाँ जनसङ्ख्याको चाप र दवाव थप बढ्ने निश्चित छ । यस क्षेत्रमा पूर्वाधार विकासका काम तिब्रं गतिमा भई रहेकाले मानिसहरू बसाइ सरी आउने क्रम पनि बढ्दो छ । तर खानेपानीको दिगो श्रोत के ? यो विषय अत्यन्त गम्भिर र पेचिलो छ । झुम्सा खानेपानी आयोजनाले बुटवलमा हालको अवस्थालाई सम्बोधन गर्न असमर्थ छ ।

५ करोड लिटर दैनिक खानेपानीको माग भएकोमा ३ करोड २० लाख लिटर दैनिक आपूर्ती गर्न सक्छ । बुटवलमा खानेपानी आपूर्तीकालागी दिगो उपाय खोज्न आजैदेखि बहस र छलफल गरिनु आवश्यक भएको छ । बुटवल र आसपास क्षेत्रका स्थानिय निकायका प्रमुख र यस क्षेत्रका सांसद, पूर्व जनप्रतिनीधि, मन्त्रीहरू समेतले यस विषयमा गम्भिर चासो दिनु आवश्यक भएको छ । सिमावर्ती पाल्पाका खोलानालाबाट बुटवलमा पानी ल्याउँदा स्वच्छ र सफापानी आपूर्ती हुन्छ, यो निर्विवाद कुरा छ ।

तर यो दिगो समाधानकोलागी उपयुक्त छ या छैन भन्ने विषयमा पनि अब छलफल गरिनुपर्छ । कालिगण्डकी डाइभर्सन परियोजना कार्यान्वयन भएको अवस्थामा त बुटवलमा सिंचाई र खानेपानीको श्रोतको कुनै कमी हुँदैन । तर यो परियोजना सफल होला या नहोला सन्देहको विषय छ ।

अहिले बुटवलमा 
तिनाउ नदीका अतिरिक्त घनाबस्तीका टोलहरूमा निजी क्षेत्रबाट सामुदायिक पहल र लगानीमा खानेपानीका बोरिङ्ग  सञ्चालन गरी टोल टोलमा पानीको आपुर्ति व्यवस्था समेत मिलाइएको छ । अब एउटै आयोजनाबाट सम्पूर्ण बुटवलको खानेपानी व्यवस्था मिलाउने गरी नीति तथा कार्यक्रम तर्जुमा गरिनुपर्छ ।

यसका लागी दुईटा उपाय हुनसक्छन्, एउटा पाल्पाको सिस्ने खोला वा अन्य खोलानालाबाट पानी ल्याउने र अर्को कालीगण्डकी डाइभर्सन परियोजनाको सफल कार्यन्वयन गराउने । जुनसुकै उपाय गरेर भएपनि बुटवलको खानेपानीको समस्या दिगो समाधानको लागि बुटवलवासी अब जुर्मुराएर एकताबद्ध ढङ्गले अघि बढ्नु आजको आवश्यकता भएको छ ।

यसका लागि बुटवल उपमहागरपालिका कार्यालयले प्रभावकारी पहल गर्नुपर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?