© 2026
नेपालमा बङ्गालको खाडीबाट आएको बादल र बतासको कारण जेठको अन्तिम दिनहरूमा वर्षा सुरु हुने गर्छ । यो वर्षाको अवधि मै मनसुनको अवस्था हो । सामान्य बोलीचालीमा वर्षा याम भनिने यो अवधि ४ महिना– जुन, जुलाई, अगस्ट र सेप्टेम्बरसम्म रहन्छ ।
मौसमविद्का अनुसार प्रि–मनसुन, मनसुन, पोस्ट–मनसुन र विन्टर गरी नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ । अनि मार्च १ देखि प्रि–मनसुन लाग्छ । प्रि–मनसुन ३ महिना–मार्च, अप्रिल र मेसम्म रहन्छ । अहिले देशमा प्रि–मनसुन छ ।
मनसुन भित्रिएपछि यो सिजन अन्त्य हुन्छ । नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने गर्दछ । दक्षिण हिन्द महासागर, भारतको केरला, र बङ्गालको खाडी हुँदै यो नेपालको पूर्वी भाग (ताप्लेजुङ–इलाम) बाट प्रवेश गर्ने गर्दछ । यसै गरी अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिन्छ ।
मनसुन सकिएपछि पोस्ट–मनसुन सुरु हुन्छ । यो सिजन २ महिना– अक्टोबर र नोभेम्बरसम्म रहन्छ । मनसुन अवधिमा नेपालमा वर्ष भरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ । गत वर्ष (२०८२) भने नेपालमा मनसुन औसत मितिभन्दा १५ दिनअगाडि नै मे २९ तारिखमा प्रवेश गरेर औसत मितिभन्दा ८ दिन ढिला अक्टोबर १० तारिखमा बाहिरिएको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार २०८२ सालको मनसुन अवधिमा १३७५.४ मिलिमिटर वर्षा भएको, जुन सरदर १४१४.५ मिलिमिटर वर्षाको तुलनामा ९७.२३ प्रतिशत थियो । यो वर्ष पनि करिब ५ दिन अघि नेपालमा मौसम भित्रिने अनुमान गरिएको छ । यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विभागको प्रक्षेपण छ ।
मनसुनजन्य विपद्
नेपालमा बाढी पहिरो, चट्याङ जस्ता प्राकृतिक प्रकोपका घटनाहरू मध्ये करिब ८० प्रतिशत घटना मनसुन सक्रिय भएको अवधिमा नै हुने गरेका छन् । वि.स. २०८२ सालमा १४५४ वटा मनसुनजन्य घटनाहरू रेकर्ड हुँदा १४० जनाको ज्यान गएको थियो, जुन त्यसको अघिल्लो वर्षको भन्दा दुई तिहाइ भन्दा कम हो ।
२०८१ सालमा मनसुनको अवधिमा २१३९ मनसुनजन्य घटनाहरू रेकर्ड हुँदा ४९५ जनाको मृत्यु भएको गृह मन्त्रालयको विपद् प्रतिवेदनले देखाएको छ । पछिल्ला ५ वर्षमा मनसुनजन्य विपद्मा भएको मानवीय क्षति हेर्दा सबैभन्दा बढी क्षति २०८१ सालमा भएको थियो ।
यो सालको मनसुन अवधिमा पहिरोमा परेर ३४४ जनाले र बाढीमा परेर ९१ जनाले ज्यान गुमाएका थिए भने २०८२ सालमा उक्त घटनाहरूमा क्रमशः ६७ जना र ३७ जनाले ज्यान गुमाएका थिए । मनसुन बढी सक्रिय हुने असार – साउनमा भन्दा मनसुन सकिने समयमा बढी विपद् क्षति भएको पछिल्ला वर्षका घटनाहरूले देखाउँछन् ।
२०८१ सालको असोज १० देखि १३ गतेसम्म भएको भारी वर्षाले उत्पन्न विपद्मा २५० जनाले ज्यान गुमाएका थिए । उक्त ३ दिनका घटनामा मात्र ४६ अर्ब ६८ करोड ४३ लाख रूपैया बराबरको क्षति भएको गृह मन्त्रालयले प्रारम्भिक प्रतिवेदन निकालेको थियो ।
उक्त अवधिका विपद्मा बागमती प्रदेशले बढी क्षति बेहोरेको थियो । यसै गरी २०८२ सालको मनसुनको अन्त्यतिर असोज १७–२० गतेसम्म अति भारी वर्षा हुँदा ५३ जनाको मृत्यु भएको थियो । असोज १७–२० गतेभित्र इलाममा मात्रै ३९ जनाको मृत्यु भएको थियो ।
क्षतिलाई मध्यनजर गरेर असोज नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले इलामलाई तीन महिनाका लागि ’विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो ।
मनसुनजन्य विपद्मा ठूलो हिस्सा पहिरोको हुने गरेको छ । पहाडी क्षेत्रको भुबोट कमजोर भएकोले धेरै पहिरो जाने सम्भावना भएपनि धेरै पहिरो जानुमा मानवीय क्रियाकलापहरू मुख्य जिम्मेवार छन । ५० को दशकदेखि पहाडका हरेक वस्तीहरूमा सडक पु¥याउने होडबाजी चलेको छ ।
विस्तृुत वातावरणिय प्रभाव मुल्यांकन नगरी डोजरको प्रयोग गरेर अन्धाधुन्द ढंगले बाटो खन्दा पहाडी क्षेत्रका कुलो, खोल्सा र पानीका मुलहरू पुरिदै गएका छन् । सानो बजेटमा बनाइएका सडकहरूमा पानी निकासको नालाहरू नबनाइने भएकोले वर्षातको पानी कच्ची सडकबाट बगेर पहाडको कमजोर जमिनलाई बगाउने गरेको देखिन्छ ।
झुम्सा चरंगे सडकको मुढाबास चौकिभञ्ज्याङ सडकको पहिरोलाई यसको उदाहरणको रूपमा हेर्न सकिन्छ । सडक जस्तै घर लगायतका अन्य भौतिक संरचना निर्माण गर्दा जमिनको अवस्था, भिरालोपन, जंगलको अवस्था र पानीको निकासको व्यवस्था जस्ता पक्षहरूलाई बेवास्ता गर्ने परम्परा बनिसकेकोले पहाडी क्षेत्रमा पहिरोका घटनाहरू बढिरहेका छन् ।
२०७२ को महाभूकम्पले पहाडी क्षेत्रमा चिराचिरा पारेकोले भुकम्पको खसर बढि भएको ठाउँँमा वर्षातको पानी पस्नाले पनि पहिरोको समस्या बढी हुने गरेको छ ।

चुरेमा बढिरहेको मरुभूमिकरणको कारणले खोलाको सतह माथि उठ्नु र भारतले सिमा क्षेत्रमा बाँध बनाएको कारणले मात्र तराई डुवानमा परेको हैन, तराईका वस्तीहरूमा जलनिकासमा अवरोध उत्पन्न गरिएकोले धेरै गाँउवस्तीहरू डुबानमा पर्ने गरेका छन् ।
तराईका जिल्लाहरूमा जस्तै उपत्यकामा पनि मानव बसोबासयोग्य सबै ठाउँका पानीका पुराना निकास पुरिएका छन् , खोलाहरू साँघुरिएका छन् । खासगरी शहर र नगरोन्मुख क्षेत्रमा प्लटिंग गर्दा कतिपय कुलाहरूको नामोनिशान नै मेटाइएको छ । घना वस्ती हुदै गएका गाँउतिर गएका कुलाहरू फोहरमैलाले गर्दा पुरिएका छन् र साघुरिएका छन् । यी कारणले गर्दा वर्षातको समयमा अलिकति बढी पानी पर्ने वित्तिकै ति क्षेत्रहरू डुबानमा पर्ने गरेका छन् ।
पछिल्लो दशकमा चट्याङ प्रमुख मनसुनजन्य विपदको तेश्रो नम्बरमा परिरहेको छ । २०७३– २०८२ को अवधिमा चट्यांगको कारण ३७८ जनाको मृत्यु भएको र करिब एक हजार जना घाइते भएको सरकारी रेकर्ड छ । बस्ती, वन बुट्यान र भौगोलिक परिवेशले चट्याङका घटना र विपद् जोखिम निर्धारण गर्दछन् ।
चट्याङका कारण विशेषगरी खुल्ला क्षेत्रमा काम गर्ने मजदुर, किसान र पशुपालकको ज्यान जाने गरेको छ । चट्यांगको कारण हिमाली क्षेत्रका पशुपालकले वर्षेनी ठुलो क्षति बेहोर्ने गरेका दुखद समाचारहरू आइरहेका हुन्छन् ।
बसोबास क्षेत्र, व्यवसायिक क्षेत्र र औद्योगिक क्षेत्रमा चट्याङका कारण उपकरणमा क्षति पुग्ने, आगलागी हुने जस्ता समस्याहरू बढिरहेका छन् । मनसुन उत्पन्न विपद्मा चौथो स्थान भारी वर्षाको रहने गरेको छ । छोटो समयमा अत्यधिक वर्षा हुँदा घर र अन्य भौतिक संरचनामा क्षति पुग्ने, डुवान हुने, यातायात अवरुद्ध हुने, बाढी पहिरोका घटनामा वृद्धि हुने जता समस्याहरू धेरै हुने गरेका छन् ।
यो वर्ष सरदर भन्दा कम पानी पर्ने मौसम विभागले पूर्वानुमान गरेको छ । मौसम विभागका अनुसार कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग, मधेश प्रदेशका पूर्वी भू–भाग र कोशी प्रदेशका दक्षिणी भू–भागमा सरदर भन्दा कम वर्षा हुने संभावना ५५% देखि ६५% रहेको छ भने सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भाग, मधेश प्रदेशका पश्चिमी भू–भाग र कोशी प्रदेशका मध्य भू–भागमा सरदर भन्दा कम वर्षा हुने संभावना ४५% देखि ५५% रहेको छ। त्यसैगरी कर्णाली प्रदेशका उत्तरी भू–भाग तथा कोशी प्रदेशका उत्तरी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५% देखि ४५% रहेको छ भने देशका बाँकी भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५% देखि ४५% रहेको छ .सरदर भन्दा कम वर्षा भएपनि गत वर्ष जस्तै मनसुन अवधिमा कुनैपनि समयमा धेरै पानी पर्ने र क्षति हुने खतरा जिवितै छ ।
मानवजन्य, भौगर्भिक र जलवायु परिवर्तनजन्य कारणले गर्दा गत वर्ष जस्तै पानी परेमा पनि यो वर्ष त्यो भन्दा बढी क्षति हुने देखिन्छ । नेपालमा मनसुनजन्य विपत्ति आउदा रोइकराई गर्ने र हिउँद लाग्दा समस्या बिर्सदै जाने पुरानै रोग हो ।
अघिल्ला वर्षहरूको समस्याबाट पाठ नसिक्ने र समुदायले विपद् जोखिम न्यूनीकरण राज्यको काम हो भनेर पन्छिने तथा सरकारका निकायहरू पूर्व तयारीका कामहरूमा भन्दा विपद्मा क्षति भैसकेपछि उद्दार र राहतमा बढी ध्यान दिने भएकोले विगतमा भन्दा विकराल समस्या आगामी दिनमा नहोला भन्न सकिदैन ।
प्राकृतिक बिपत्ति नदोहोरियोस र विपत्ति आउदा पनि कम क्षति होस् भन्नको लागि अहिले देखि नै साबधानी अपनाउनु पर्छ । खोला नदीका जलाधार र वहाव क्षेत्रमा भैरहेको दोहन र अतिक्रमणलाई तुरुन्तै रोकेर नदीको पुरानो बहाव मार्ग कायम गरिनुपर्छ ।
डुबान रोक्नको लागि पुराना सबै कुलो, खोल्साहरूको नक्शांकन गरि त्यहाँ भैरहेका भौतिक निर्माणलाई तुरुन्तै हटाउनेर नयाँ निर्माण गर्न रोक लगाउने नीति बनाएर कडाइकासाथ लागु गर्नु पर्दछ । पहाडी क्षेत्रमा जसरि भएपनि सडक पु¥याउने भन्ने अन्धविकासबादी सोचमा परिवर्तन गरेर हरित सडक निर्माणलाई जोड दिनुपर्दछ ।
जति नै सुगम र अवसरयुक्त ठाउँ भएपनि बाढी र पहिरो आउन सक्ने तथा जोखिमपूर्ण भनि पहिचान गरिएका ठाँउमा बसोबास गर्नु हुदैन भन्ने कुरालाई सबैले मूल मन्त्र मान्नु पर्दछ । प्रकृति बहुलाउन्न, बहुलाउन बाध्य पार्ने मानिस नै हो भन्ने कुरा सबैले बुझेमा जीवन र सम्पत्तिलाई प्राकृतिक विपत्तिबाट अवस्य पनि सुरक्षित राख्न सकिनेछ ।