© 2026
बुटवल । गुणस्तरीय शिक्षा, अनुशासित सिकाइ वातावरण र विद्यार्थीको सर्वाङ्गीण विकास यी तीन आधारभित्र आफ्नो पहिचान निर्माण गर्दै आएको बुटवलको अन्नपूर्ण माध्यमिक विद्यालय आज एक स्थापित शैक्षिक संस्थाका रूपमा परिचित बनेको छ ।
शैक्षिक उत्कृष्टता मात्र नभई व्यवहारिक ज्ञान, अतिरिक्त क्रियाकलाप र जीवनोपयोगी सीप विकासमा समेत अग्रसर रहँदै आएको यो विद्यालयले अभिभावक तथा विद्यार्थीको विश्वास जित्न सफल भएको छ ।
बुटवलको मुटु चाँदबारी, वडा नम्बर ६ मा अवस्थित अन्नपूर्ण मोडेल कलेजको स्थापना २०६४ सालमा भएको थियो । विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित नराखी विद्यार्थीहरूको समग्र विकास गर्ने उद्देश्यसहित स्थापना भएको यस कलेजले प्रारम्भदेखि नै शैक्षिक उत्कृष्टतालाई प्राथमिकता दियो ।
गुणस्तरीय शिक्षामा सफलता हासिल गर्दै जाँदा संस्थाले ‘एम टु एम’ अर्थात् मन्टेस्वरीदेखि स्नातकोत्तर तहसम्म एउटै शैक्षिक छानामुनि अध्ययनको अवधारणा अघि बढायो ।
यसै अवधारणालाई मूर्त रूप दिन २०६७ माघ २९ गते सरस्वती पूजाको अवसर पारेर विद्यालय तहको औपचारिक सुरुवात गरिएको थियो । मन्टेश्वरीदेखि उच्च तहसम्म अध्ययनको अवसर दिने सोचसहित सुरु गरिएको यो संस्था अहिले अन्नपूर्ण माध्यमिक विद्यालयका रूपमा सञ्चालनमा छ ।
प्रारम्भमा अन्नपूर्ण मोडेल कलेजका रूपमा स्थापित संस्था हाल कालिका मानव ज्ञान माध्यमिक विद्यालयलाई हस्तान्तरण भइसकेको छ । अहिले विद्यालयले मन्टेश्वरीदेखि कक्षा १२ सम्म अध्ययन गराउँदै आइरहेको छ ।
सहरको मध्य भागमै भए पनि शान्त र अध्ययनमैत्री वातावरणमा रहेको विद्यालय आफ्नै सात कट्ठा क्षेत्रफलमा फैलिएको छ । भौतिक पूर्वाधार, शैक्षिक सुविधा र विद्यार्थीमैत्री वातावरणका कारण विद्यालयले अलग पहिचान बनाएको छ । हाल यहाँ करिब ५८० विद्यार्थी अध्ययनरत छन् ।
अहिले विद्यालयले कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन सङ्काय सञ्चालन गर्दै आएको छ । विशेष गरी विज्ञान शिक्षाका लागि बुटवलका उत्कृष्ट विद्यालयमध्ये अन्नपूर्ण माध्यमिक विद्यालयको नाम अग्र पङ्क्तिमा लिइन्छ ।
विज्ञान अध्ययनका लागि आवश्यक प्रयोगशाला, सुविधा सम्पन्न पुस्तकालय, एसीयुक्त कक्षाकोठा तथा आधुनिक सिकाइ सामग्रीले विद्यालयलाई थप व्यवस्थित बनाएको छ ।
विद्यालयका प्रधानाध्यापक मित्रहरी आचार्यका अनुसार अन्नपूर्णले शैक्षिक गुणस्तरमा कहिल्यै सम्झौता गरेको छैन । उनका अनुसार विद्यार्थीलाई परीक्षामुखी शिक्षा नभई व्यवहारिक र जीवनोपयोगी शिक्षा दिन विद्यालय प्रतिबद्ध रहेको जनाएको छ । स्मार्ट बोर्डमार्फत अध्यापन, प्रोजेक्टमा आधारित सिकाइ र प्रविधिमैत्री कक्षाकोठाले विद्यार्थीलाई आधुनिक शिक्षासँग जोडेको छ ।
“विद्यार्थीलाई घोकन्ते विद्या मात्र होइन, बुझेर सिक्ने र व्यवहारमा प्रयोग गर्न सक्ने बनाउनु हाम्रो उद्देश्य हो,” प्रधानाध्यापक आचार्यले भने । उनका अनुसार विद्यार्थीको सृजनशीलता, नेतृत्व क्षमता र आत्मविश्वास विकासमा विद्यालयले विशेष जोड दिँदै आएको छ ।
शैक्षिक उपलब्धिका हिसाबले पनि विद्यालयको यात्रा उल्लेखनीय छ । एमबिबिएस प्रवेश परीक्षामा यहाँ अध्ययन गरेका धेरै विद्यार्थीले छात्रवृत्तिसहित नाम निकाल्न सफल भएका छन् । विद्यालयका पूर्व विद्यार्थी देशका विभिन्न प्रतिष्ठित क्षेत्रमा स्थापित हुनुका साथै विदेशमा समेत आफ्नो दक्षता प्रदर्शन गरिरहेको विद्यालयको दाबी छ ।
विद्यालय संयोजक विष्णुप्रसाद पौडेलका अनुसार २०८०/८१ को एसइई परीक्षामा विद्यालयले शतप्रतिशत नतिजा निकालेर आफ्नो शैक्षिक उत्कृष्टता लाई निरन्तरता दिएको बतायो । “हामी विद्यार्थीलाई शान्त वातावरणमा पढाउँछौँ, व्यवहारिक सिकाइलाई प्राथमिकता दिन्छौँ, त्यसैले यस्तो नतिजा सम्भव भएको हो,” पौडेल भन्छन् । तर अन्नपूर्णको पहिचान शैक्षिक उपलब्धिमा मात्र सीमित छैन ।
अतिरिक्त क्रियाकलापमा समेत विद्यालयका विद्यार्थीहरू उत्तिकै अब्बल देखिएका छन् । खेलकुद, सांस्कृतिक गतिविधि, वक्तृत्व, हाजिरीजवाफदेखि विभिन्न नगर, जिल्ला र राष्ट्रियस्तरका प्रतियोगितामा विद्यालयले उल्लेखनीय उपस्थिति जनाउँदै आएको छ ।
विशेष गरी खेलकुदतर्फ विद्यालयका दुई विद्यार्थी अनुष्का तामाङ र रोशनी तामाङ राष्ट्रिय स्तरका तेक्वान्डो खेलाडीका रूपमा परिचित छन् । राष्ट्रिय टोलीसम्म पुग्न सफल यी विद्यार्थी विद्यालयको खेलकुदप्रतिको प्रतिबद्धताको उदाहरण हुन् ।
विद्यालयले विद्यार्थीको बौद्धिक विकाससँगै नैतिक शिक्षा, अनुशासन, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वबारे पनि समान रूपमा जोड दिँदै आएको छ ।
आज प्रतिस्पर्धात्मक शिक्षा प्रणालीमा धेरै विद्यालयबिच आफ्नो छुट्टै पहिचान बनाउनु सहज छैन । तर गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिमैत्री अध्यापन, अनुभवी शिक्षक, शान्त वातावरण र सर्वाङ्गीण विकासको दृष्टिकोणले अन्नपूर्ण माध्यमिक विद्यालयले आफूलाई फरक साबित गरेको छ ।
बुटवलको शैक्षिक नक्सामा अन्नपूर्ण माध्यमिक विद्यालय आज एउटा भरोसायोग्य नाम बनेको छ । किताबी ज्ञानलाई जीवनोपयोगी सीपसँग जोड्ने र विद्यार्थीलाई सक्षम, प्रतिस्पर्धी तथा जिम्मेवार नागरिक बनाउने लक्ष्यमा विद्यालय निरन्तर अघि बढिरहेको छ ।