© 2026
बुटवल । बुटवल–११, देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस आज व्यवस्थापन शिक्षामा उत्कृष्टताको प्रतीक बनेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस सामुदायिक क्याम्पसले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र निरन्तर सुधारको प्रतिबद्धतामार्फत आफ्नो छुट्टै पहिचान बनाएको छ ।
क्याम्पसको सबैभन्दा उल्लेखनीय उपलब्धिमध्ये एक भनेको विश्वविद्यालय अनुदान आयोग, नेपालबाट तेस्रो पटक ‘गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए)’ प्राप्त गर्नु हो ।
यस उपलब्धिसँगै लुम्बिनी वाणिज्य क्याम्पस नेपालकै पहिलो यस्तो शैक्षिक संस्था बनेको छ जसले तीन पटक क्यूएए मान्यता हासिल गरेको छ । यसले क्याम्पसको शैक्षिक गुणस्तर, व्यवस्थापन क्षमता र निरन्तर सुधारप्रतिको प्रतिबद्धतालाई स्पष्ट रूपमा देखाउँछ ।
यसै गरी, नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट दोस्रो पटक ‘सर्वोत्कृष्ट सामुदायिक क्याम्पस’ को रूपमा पुरस्कृत हुनु क्याम्पसको अर्को महत्त्वपूर्ण उपलब्धि हो । लुम्बिनी प्रदेश प्रज्ञा पदक (द्वितीय)–२०७६ बाट विभूषित हुनु यस संस्थाको शैक्षिक योगदानको उच्च मूल्याङ्कन हो ।
स्थापनादेखि नै व्यवस्थापन विषयमा केन्द्रित हुँदै आएको क्याम्पस आज नेपालकै अग्रणी व्यवस्थापन शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित छ । यहाँ अध्ययनरत विद्यार्थीहरूले केवल सैद्धान्तिक ज्ञान मात्र होइन, व्यवहारिक सीप, नेतृत्व क्षमता र व्यावसायिक दक्षता समेत हासिल गर्ने अवसर पाउँछन् ।
हाल क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रम सञ्चालनमा छन् । स्नातकोत्तर तहअन्तर्गत बैङ्किङ तथा वित्तमा एमबिए, वित्त विषयमा एमबीएस तथा सामान्य एमबीएस कार्यक्रमहरू सञ्चालनमा छन् ।
त्यस्तै, स्नातक तहमा वित्त तथा लेखा विषयमा बीबीए, प्रयोगात्मक व्यवस्थापनमा बीबीएम, व्यवस्थापन अध्ययनमा बीएमएस तथा बीबीएस कार्यक्रमहरू उपलब्ध छन् । यी कार्यक्रमहरूले विद्यार्थीलाई बजारको मागअनुसार दक्ष जनशक्ति बन्न सहयोग पु¥याउँदै आएका छन् ।
क्याम्पसले आधुनिक शिक्षण विधि अपनाउँदै कक्षाकोठाभित्रको सिकाइलाई व्यवहारिक अभ्याससँग जोड्न विशेष ध्यान दिएको छ । अनुभवी तथा दक्ष प्राध्यापकहरूको मार्गदर्शनमा विद्यार्थीहरूले अनुसन्धान, प्रस्तुति, समूह कार्य र परियोजनामूलक अध्ययनमार्फत आफ्नो क्षमता अभिवृद्धि गर्ने अवसर पाउँछन् ।
पूर्वाधारका दृष्टिले पनि क्याम्पस सुदृढ छ । व्यवस्थित कक्षा कोठा, पुस्तकालय, सूचना प्रविधिमा आधारित सिकाइ वातावरण तथा शैक्षिक गतिविधिलाई सहयोग गर्ने अन्य सुविधा यहाँ उपलब्ध छन् ।
साथै, विद्यार्थीको समग्र विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलाप, सेमिनार, तालिम र कार्यशाला नियमित रूपमा सञ्चालन गरिन्छ ।
लुम्बिनी वाणिज्य क्याम्पसले केवल शैक्षिक उपलब्धिमा मात्र सीमित नरही समाजप्रति उत्तरदायी संस्था बन्ने प्रयास पनि गरिरहेको छ । स्थानीय स्तरमा जनशक्ति उत्पादन, नेतृत्व विकास र उद्यमशीलता प्रवर्द्धनमा यसको महत्त्वपूर्ण योगदान रहेको छ ।
भविष्यमा पनि गुणस्तरयुक्त शिक्षा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ क्याम्पस अघि बढिरहेको छ । निरन्तर सुधार, नवप्रवर्तन र उत्कृष्टताप्रतिको प्रतिबद्धताले लुम्बिनी वाणिज्य क्याम्पसलाई अझ उचाइमा पु¥याउने विश्वास गर्न सकिन्छ ।
क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायका अनुसार क्याम्पसमा अहिले चार हजार भन्दा धेरै विद्यार्थीहरूले विभिन्न तहमा अध्ययन गरिरहेका छन् । “व्यवस्थापनमा हामीले उत्कृष्ट शिक्षण पद्धति अपनाएका छौँ, त्यस कारण पनि यो क्याम्पसमा व्यवस्थापन पढ्न चाहने विद्यार्थीहरू आकर्षित हुने गरेका छन्”–उनी भन्छन् ।
तत्कालीन बुटवल नगर पञ्चायत र उद्योगी व्यवसायीहरूको अग्रसरतामा २०३७ सालमा लुम्बिनी व्यवस्थापन अध्ययन संस्थानको नामबाट अनौपचारिक कक्षा सञ्चालन गरेको क्याम्पसले २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर आइकम सुरु गरेको थियो ।
२०४२ सालमा बीकम, २०५७ मा एमबीएस कक्षा सञ्चालन गरेको क्याम्पस २०६३ सालमा ’ए स्किम’मा पर्न सफल भएको थियो । २०७० सालदेखि सेमेष्टर प्रणालीको बीबीएम पढाउन थालेको क्याम्पसमा हाल बजारमा माग र खपत हुने एमबिए बीएफ, बीबीएफए, एमबीएस फाइनान्स, बीबीएम अप्लाइड र बीएमएसको पढाइ हुन्छ ।
साढे ७ रोपनीमा फैलिएको क्याम्पसमा सुविधासम्पन्न कक्षाकोठासहित विद्यार्थीका लागि डिजिटल लाइब्रेरी र ह्युमन रिसोर्स डेभलपमेन्ट ल्याब खोलिएको छ ।
वीवीएस दोस्रो वर्षमा नेपाल प्रथम बनेकी विद्यार्थी आयुश्मा रेश्मी मगरले क्याम्पस विद्यार्थीमैत्री र शिक्षक प्रविधिमैत्री रहेको बताइन् । साथीजस्तै बनेर शिक्षकहरूले सिकाउँदा विद्यार्थीको सिक्ने प्रक्रिया उच्च बनेको उनको भनाइ छ ।
लुम्बिनी वाणिज्य क्याम्पसले शैक्षिक गुणस्तर र विद्यार्थीको रोजगारी वृद्धिका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न विश्वविद्यालय, शैक्षिक एवं व्यावसायिक प्रतिष्ठान, र सरकारी गैरसरकारी संघसंस्थाहरूसँग एमओयू गरेको छ ।
४४ प्राध्यापक र २४ कर्मचारी रहेको क्याम्पसले हरेक वर्ष २ जना प्राध्यापकलाई एमफिल तथा पीएचडी अध्ययनका लागि ३ वर्षे तलबी अध्ययन बिदासमेत उपलब्ध गराउँदै आएको छ । यही कारण आफ्नो जनशक्ति मानित विश्वविद्यालयका लागि तयार भएको क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायले बताए ।