Butwal Today

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऔँ

५ बैशाख २०८३, शनिबार
अ+
अ-

“नयाँ वर्ष २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण देशवासीहरूमा शुभ स्वास्थ्य, दीर्घायु एवं उच्च प्रगतिको कामना सहित हार्दिक मङ्गलमय शुभकामना ।”

राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा यही मिति २०८३ साल वैशाख ६ र ७ गते देशभर एकैसाथ सञ्चालन हुने भएको हुँदा आफ्ना बालबालिकाहरूलाई तोकिए अनुसार भिटामिन ए र जुकाको औषधि खुवाउन नजिकको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग सम्पर्क गरी अनिवार्य रूपमा सेवन गराऔँ ।

सरकारले भिटामिन ए क्याप्सुल सन् १९९३ देखि र भिटामिन एसँगै जुकाको औषधि सन् २००१ देखि सुरु गरेको यस कार्यक्रममा आफ्ना बालबालिकाहरूलाई अभियानमा नछुटाऔँ ।

हरेक वर्ष वैशाख र कार्तिक महिनामा सञ्चालन हुँदै आइरहेको यो महाअभियान यही वैशाख ६ र ७ गते मन्त्रालयको निर्णय र परिपत्र अनुसार देशभर एकैसाथ खुवाउन परिपत्र गरिएको हुनाले सबैले आ–आफ्नो स्थानबाट अभियान सफल बनाउन लागिपर्नु आवश्यक छ ।

आफ्ना भविष्यका कर्णधार ६ महिनादेखि ५ वर्षसम्मको उमेर समूहका सम्पूर्ण बालबालिकाहरूलाई भिटामिन ए को क्याप्सुल र जुकाको औषधि खुवाउन नभुलौँ । यो अभियानले बच्चालाई कमजोरी हुनबाट बचाउँछ ।

लुलो–लङ्गडो तथा असक्त हुनबाट बचाउनुका साथै अन्य रोगसँग लड्ने क्षमता पनि बढाउँछ र रतन्धो जस्तो घातक रोगबाट समेत जोगाउँछ । त्यसैले आफ्ना बालबालिकाहरूलाई निःशुल्क रूपमा उपलब्ध भएको यो औषधि सेवन गराउने कार्यमा अनिवार्य रूपमा सहभागी बनौँ ।

भिटामिन ए को कमीको रोकथाम तथा नियन्त्रण कार्यक्रमअन्तर्गत हरेक सूचीकृत स्वास्थ्य संस्थाहरूले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरू मार्फत वर्षको दुई पटक वैशाख र कार्तिक महिनामा ६ महिनादेखि ५ वर्षसम्मका सम्पूर्ण बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल खुवाइन्छ ।

जसमा ६ देखि १२ महिनाका लागि १,००,००० आई.यु. (आधा क्याप्सुल) र १२ महिना पूरा भइसकेपछि ५ वर्षसम्मका लागि २,००,००० आई.यु. (१ क्याप्सुल) खुवाउनुपर्छ ।

साथै दादुरा, कडा कुपोषण, दीर्घ झाडापखाला र भिटामिन ए को कमीबाट हुने आँखा सम्बन्धी रोगहरूको लागि पनि स्वास्थ्य संस्थाहरूबाट भिटामिन ए क्याप्सुलद्वारा उपचार गरिन्छ ।

त्यसै गरी शिशुलाई स्तनपान मार्फत भिटामिन ए को आपूर्ति गर्ने उद्देश्यले सुत्केरी महिलाहरूलाई शिशु जन्मेको ६ हप्ताभित्र स्वास्थ्य संस्था तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूबाट एक क्याप्सुल २,००,००० आई.यु. भिटामिन ए खुवाइन्छ ।

साथसाथै परजीवी नियन्त्रण कार्यक्रमअन्तर्गत जन्मेदेखि १ वर्ष उमेरसम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाइँदैन । भने १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकाहरूलाई सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकामार्फत अर्धवार्षिक रूपमा कार्तिक र वैशाख महिनामा जुकाको औषधि एल्बेन्डाजोल ४०० मिलिग्राम एक मात्रा खुवाइन्छ ।

जसमा १ वर्षदेखि २ वर्षसम्मका बालबालिकाका लागि २०० मिलिग्राम (आधा चक्की) र २ वर्ष पूरा भइसकेपछि ५ वर्षसम्मका बालबालिकाका लागि ४०० मिलिग्राम (एक चक्की) खुवाइन्छ ।

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत विद्यालय जाने बालबालिकाहरूलाई अर्धवार्षिक रूपमा जेठ र मंसिर महिनाको पहिलो हप्तामा जुकाको औषधि एल्बेन्डाजोल ४०० मिलिग्राम एक मात्रा खुवाइने चलन छ र सोही अनुसार सहभागी गराई खुवाउनुपर्छ ।

६ महिनादेखि २ वर्ष मुनिका बालबालिकाहरूलाई बहुसूक्ष्म पोषक तत्व (बालभिटा) वितरण गरिँदैछ भने ५ वर्ष मुनिका बालबालिकाहरूको पाखुराको नाप लिइँदैछ । त्यसैले यो कार्यक्रम एक महत्त्वपूर्ण कार्यक्रम भएको हुनाले यसलाई अभियानकै रूपमा सञ्चालनमा ल्याइएको पाइन्छ ।

के हो त भिटामिन ए ?
व्यक्तिको शारीरिक क्रियाकलापलाई नियन्त्रण गरी राम्रोसँग कार्य गर्न थोरै मात्रामा चाहिने तर शरीरलाई नभई नहुने सूक्ष्म पोषक तत्त्वको रूपमा मानिने रासायनिक पदार्थलाई भिटामिन भनिन्छ। भिटामिन ए ले शरीरलाई विभिन्न किसिमका सङ्क्रमणबाट बचाउँछ, आँखा स्वस्थ राख्छ र बालबालिकाको वृद्धि विकासमा महत्त्वपूर्ण सहयोग गर्दछ ।

यो आमाको बिगौती दूध, सिङ्गो माछा, जनावरको दूध, हरिया सागपात, कर्कलो, जनावरको कलेजो र किड्नी, अण्डा, पहेँला फलफूल तथा तरकारी, फर्सी, मेवा आदि स्रोतहरूमा पाइन्छ ।

साथै तयारी क्याप्सुलको रूपमा विभिन्न मात्रामा सुरक्षित रूपमा उपलब्ध गराइएको हुन्छ । त्यसैले यसलाई अत्यन्तै महत्त्वपूर्ण र स्वास्थ्यवर्धक पोषक तत्त्वको रूपमा मानिएको छ ।

यसरी नेपाल सरकारबाट निःशुल्क रूपमा वितरण गरिएका यी महत्त्वपूर्ण स्वास्थ्य सम्बन्धी अभियानका कार्यक्रमहरूमा आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा गई आफ्ना बालबालिकाहरूलाई औषधि सेवन गराउनु प्रत्येक अभिभावकको कर्तव्य हो ।

साथै यही मिति २०८३ वैशाख ६ र ७ गते सञ्चालन हुने भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रममा सबै सहभागी भई भव्यताका साथ सफल पारौँ ।

प्रत्येक बालबालिकाका अभिभावक, स्वास्थ्यका सम्पूर्ण सरोकारवालाहरू, शिक्षक–शिक्षिकाहरू, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, राज्यका तीनै तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, प्रशासन लगायत सबैको आ–आफ्नो तहबाट सहयोग र सहकार्य रहेमा मात्र राज्यको यो महत्त्वपूर्ण कार्य सफल हुन्छ ।

त्यसैले सबै मिलेर यो अभियान सफल पारौँ र आफ्ना बालबालिकालाई घातक रोगबाट बचाऔँ । “भिटामिन ए र जुकाको औषधि निःशुल्क पाइन्छन्, यी दुवै सुरक्षित छन्, यी दुवै औषधिले जीवन रक्षा गर्छन् ।”

भन्नमा कुनै दुई मत पाइँदैन त्यसैले सबैले मिलेर यो अभियान सफल पारौँ र आ आफ्ना बालबालिकालाई घातक रोगबाट बचाऔँ । “भिटामिन ए र जुकाको औषधि निःशुल्क पाइन्छन्, यी दुवै सुरक्षित छन् । यी दुवै औषधिले जीवन रक्षा गर्दछन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?