© 2026
काठमाडौँ ।
नेपाली काँग्रेसले पार्टीका पूर्व उपसभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा बुधवार बसेको काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा रहेको भन्दै पार्टीको लेटरहेड दुरुपयोग गरि अनधिकृत वक्तव्य जारी गरेको भन्दै खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
यसअघि लेटरहेड दुरुपयोग गर्ने काम गरेकोप्रति एक पटकका लागि सचेत गराउने निर्णय भएकोमा त्यसपछि पनि निरन्तर रूपमा पार्टीको लेटरहेड दुरुपयोग गरेकाले पार्टीको विधान अनुसार स्पष्टीकरण सोध्ने निर्णय भएको काँग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए । सात दिन भित्र स्पष्टीकरण नआए पार्टीको विधान अनुसार अन्य प्रक्रिया अघि बढ्ने उनले बताए ।
त्यस्तै बैठकले प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा पार्टीका सदस्यहरूले अनुशासन उल्लङ्घन गरेका भए २०८२ चैत्र मसान्तसम्म उजुरी पठाउन निर्देशन गरिएकोमा सोको समयाअवधी २०८३ वैशाख मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । तत्पश्चात् प्राप्त हुन आएका उजुरी उपर कुनै कारबाही नहुने केन्द्रीय अनुशासन समितिका संयोजक गुरुङले बताए ।