Butwal Today

पाल्पा केलादीदेखि झ्यालबास जोड्ने सडक निर्माणमा ढिलाई

२९ चैत्र २०८२, आइतबार
अ+
अ-

पाल्पा । पाल्पाको केलादीदेखि निस्दीको सहलकोट हुँदै पूर्वी नवलपरासीको झ्यालबास जोड्ने सडक निर्माणको काममा ढिलाई भएको छ।

२०७९ साल फागुन १४ गते सो सडक खण्डको सात किलोमिटर सडक कालोपत्रे गर्नका लागि २४ करोड ४४ लाख रुपैयाँमा २०८२ भदौ १५ गते सम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।

तर अहिलेसम्म सडकको भौतिक प्रगति ४५ प्रतिशत र ३५ प्रतिशत वित्तीय प्रगति भएको डिभिजन सडक कार्यालय पाल्पाका इन्जिनियर पवित्रमणि आचार्य बताउँछन्। ४० करोड लागत अनुमान गरिएको यो सडकको निर्माणको जिम्मा काठमाडौंको कासिम निर्माण कम्पनीले लिएको थियो।

सडकको ट्रयाक खोलेको एक दशक भन्दा बढी भइसकेपनि सडक पक्की गर्न ढिलाई भइरहेको स्थानीय कमल बहादुर राना बताउँछन्।

डिभिजन सडक कार्यालय पनि निर्माण ढिलो भएको भन्दै असन्तुष्टि व्यक्त गर्छ। योजनाको वित्तीय र भौतिक प्रगति लक्ष्य अनुसार नभएकोले कम्पनीलाई हर्जाना तिराएर म्याद थप गरेको डिभिजन प्रमुख रामपुकार जयसवाल बताउँछन्।

सडक निर्माणको जिम्मा लिएको कम्पनीले हालसम्म १५ करोड रुपैयाँ मात्रै भुक्तानी लिएको छ। निर्माण सामग्रीको अभावको कारण देखाउँदै काममा ढिलाई गरेको र पटक पटक ताकेता गरेको कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी महेश्वर लम्साल बताउँछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?